काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आइतबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रनको योगफल तयार गरेको हो ।
कर्णालीका लागि हुसैन तलतले सर्वाधिक ५१ रन बनाए । ओपनर अरिफुल इस्लामले ३५, गुल्सन झाले १८ र पवन सर्राफले १५ रनको योगदान दिए । त्यस्तै दीपक डुम्रे ७, मार्क वाट ६, डेविड मिलर ५, सोमपाल कामी ४ रन बनाए ।
बलिङतर्फ चितवनका लागि कमल ऐरी, सलाहुद्दिन खान र उसामा मिरले समान २–२ विकेट लिए । रिजन ढकाल र सिकन्दर राजाले समान एक–एक विकेट लिए ।
चितवन प्लेअफमा पुगिसकेको छ भने कर्णाली प्लेअफबाट बाहिरिसकेको छ । लिग चरणअन्तर्गत आज साँझ काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच अन्तिम खेल हुनेछ । यी दुई टोलीमध्ये काठमाडौं पनि प्लेअफ पुगिसकेको छ भने पोखरा प्रतियोगितामा बाहिरिइसकेको छ ।






















