images
images
  • ग्लोबल आईएमई बैंकले श्रम शोषण गरेको पूर्वकर्मचारीको आरोप, जागिर छाड्दा काटियो १ लाख २५ हजार

    काठमाडौं– ग्लोबल आईएमई बैंकमा काम गरेका एक पूर्वकर्मचारीले जागिर छाड्ने क्रममा बैंकले आफ्नो तलबबाट करिब १ लाख २५ हजार रुपैयाँ कटौती गरेको आरोप लगाएका छन् ।

    पूर्वकर्मचारीका अनुसार उनले बैंकमा करिब एक वर्ष आठ महिना काम गरेपछि राजीनामा दिएका थिए । राजीनामा दिएको एक महिना नपुग्दै काम छाडेको भन्दै बैंकले एक महिना पूरा हुन बाँकी दिनको तलब कटौती गरेको उनको भनाइ छ ।

    त्यसका अतिरिक्त करार सम्झौतामा कम्तीमा दुई वर्ष काम गर्नुपर्ने व्यवस्था रहेको भन्दै बैंकले दुई महिनाको कुल तलब बराबरको करिब १ लाख २५ हजार रुपैयाँसमेत कटौती गरेको उनले बताएका छन् ।

    उनका अनुसार उक्त रकम कटौती हुँदा आफूले तत्काल कुनै उजुरी वा कानुनी प्रक्रिया अघि बढाएका थिएनन् । तर रोजगारीका क्रममा कर्मचारीले भोग्नुपर्ने आर्थिक भार र सम्भावित श्रम अधिकार उल्लङ्घनबारे जानकारी गराउन आफूले यो अनुभव सार्वजनिक गरेको बताएका छन् ।

    श्रम ऐनको व्यवस्था के छ ?

    नेपालको श्रम ऐन, २०७४ को दफा १४४ अनुसार एक वर्षभन्दा बढी सेवा अवधि भएको श्रमिकले रोजगारी अन्त्य गर्दा कम्तीमा ३० दिनअगावै सूचना दिनुपर्ने व्यवस्था छ । सूचना नदिई काम छाडेमा रोजगारदाताले सूचना अवधि बराबरको पारिश्रमिक कट्टा गर्न सक्ने व्यवस्था छ ।

    तर ऐनको दफा ३८ ले पारिश्रमिकबाट मनपरी रकम कट्टा गर्न नपाइने व्यवस्था गरेको छ । त्यसैले दुई वर्ष सेवा अवधि पूरा नगरेको आधारमा दुई महिनाको तलब कटौती गर्नुको कानुनी आधार के हो भन्ने प्रश्न उठेको छ । करारको प्रावधान, कर्मचारीको सेवा प्रकृति र कटौतीको आधार जाँच नगरी त्यसलाई स्वतः गैरकानुनी भन्न भने मिल्दैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images