images
images
  • ब्याजदरको असरले जीवन बीमा क्षेत्रको नाफा १०.५६ प्रतिशतले घट्यो, कसको अवस्था कस्तो ?

    काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूको खुद नाफा १०.५६ प्रतिशतले घटेर १ अर्ब ६४ करोड ४९ लाख ३६ हजार ९३१ रुपैयाँमा सीमित भएको छ ।

    अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यी कम्पनीहरूले कुल १ अर्ब ८३ करोड ९१ लाख ७८ हजार ९५९ रुपैयाँ नाफा कमाएका थिए । समीक्षा अवधिमा सञ्चालित १३ जीवन बीमा कम्पनीमध्ये ९ वटाको नाफा घटेको वा ऋणात्मक बनेको छ भने ४ वटा कम्पनीले मात्र नाफा बढाउन सफलता पाएका छन् ।

    नाफा बढाउन सफल चार कम्पनी

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा गत वर्षको ६ करोड ३७ लाख ७४ हजार ९०५ बाट ४५.८९ प्रतिशतले बढेर ९ करोड ३० लाख ३८ हजार ३७७ पुगेको छ, जुन यो अवधिमा सबैभन्दा उच्च प्रतिशतको वृद्धि हो । एसियन लाइफ इन्स्योरेन्सको नाफा गत आवको १५ करोड २५ लाख १३ हजार०४२ को तुलनामा ५.७९ प्रतिशतले वृद्धि भई १६ करोड १३ लाख ४५ हजार १८६ पुगेको छ ।

    त्यस्तै, सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको २३ करोड ९२ लाख ७७ हजार ६१९ बाट २.३६ प्रतिशतले बढेर २४ करोड ४९ लाख २३ हजार ९९६ पुगेको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आवको १४ करोड ९६ लाख ८ हजार ४६ को तुलनामा ०.४० प्रतिशतको झिनो वृद्धिसहित १५ करोड २ लाख ८ हजार १०९ नाफा आर्जन गरेको छ ।

    नाफा घट्ने तथा घाटामा जाने नौ कम्पनी

    राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा गत वर्षको १ करोड २१ लाख २० हजार ९३१ बाट ६३९.९६ प्रतिशतले घट्दै ६५ लाख ४४ हजार ७९६ ऋणात्मक (घाटा) मा पुगेको छ । मेट लाइफ इन्स्योरेन्सको नाफा गत वर्षको ९ करोड ७१ लाख ८० हजार २७६ को तुलनामा ४६.०९ प्रतिशतले घटेर ५ करोड २३ लाख ८५ हजार ५३७ मा सीमित भएको छ ।

    नेपाल लाइफ इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको २१ करोड ५५ लाख ५१ हजार ६६४ बाट २८.७५ प्रतिशतले घट्दै १५ करोड ३५ लाख ८१ हजार १८१ मा झरेको छ । सिटिजन्स लाइफ इन्स्योरेन्सको नाफा गत वर्षको १३ करोड १४ लाख ८९ हजार ५९० को तुलनामा २३.९० प्रतिशतले घटेर १० करोड ६६ हजार ३९८ कायम भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा गत आवको १२ करोड २४ लाख ९० हजार ७४३ बाट १५.९५ प्रतिशतले घटेर १० करोड २९ लाख ५७ हजार १ मा खुम्चिएको छ ।

    त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको २५ करोड ८५ लाख २ हजार १६८ को तुलनामा ११.३९ प्रतिशतले घटेर २२ करोड ९० लाख ६९ हजार ८७३ मा सीमित भएको छ । नेसनल लाइफ इन्स्योरेन्सको नाफा गत वर्षको १४ करोड ८ लाख ८५ हजार ६६१ बाट १०.७९ प्रतिशतले घटेर १२ करोड ५६ लाख ८२ हजार ९६७ कायम भएको छ ।

    आईएमई लाइफ इन्स्योरेन्सको नाफा गत आवको १५ करोड ८३ लाख १४ हजार ६० को तुलनामा १०.७८ प्रतिशतले घटेर १४ करोड १२ लाख ५४ हजार ५८८ मा झरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को नाफा अघिल्लो वर्षको १० करोड ८३ लाख ७९ हजार ९२ बाट १०.५३ प्रतिशतले घट्दै ९ करोड ६९ लाख ६८ हजार ५१४ मा सीमित भएको छ ।

    नाफा घट्नुका कारण र ब्याज आम्दानीको स्थिति

    जीवन बीमा कम्पनीहरूको आम्दानीको मुख्य हिस्सा बैंकको मुद्दती निक्षेपबाट प्राप्त हुने ब्याज हो, जहाँ कम्पनीहरूले आफ्नो कुल कोषको ७० देखि ८० प्रतिशतसम्म लगानी गर्ने गर्छन् ।

    वित्तीय प्रणालीमा अधिक तरलताका कारण २०८० असोजमा औसत ९.५१ प्रतिशत रहेको मुद्दती ब्याजदर अहिले घटेर ५ प्रतिशतभन्दा तल तथा संस्थागत निक्षेपको ब्याजदर ३ प्रतिशतको हाराहारीमा झरेको छ । पुराना उच्च ब्याजदरका निक्षेपहरू परिपक्व हुँदै जाँदा र नयाँ निक्षेप न्यून दरमा राख्नुपर्दा कम्पनीहरूको नाफामा प्रत्यक्ष दबाब परेको हो ।

    यद्यपि, बैंकको मुद्दतीमा आकर्षक ब्याज मिल्न छाडेपछि सर्वसाधारणको ध्यान बीमा योजनातर्फ आकर्षित भएकाले कम्पनीहरूको कुल व्यवसाय भने बढेको छ । यसले गर्दा जीवन बीमा कम्पनीहरूको कुल ब्याज आम्दानी गत वर्षको १३ अर्ब ४३ करोड ४९ लाख ७५ हजार ६३ बाट ३.८९ प्रतिशतले बढेर १३ अर्ब ९५ करोड ८१ लाख ४९ हजार ३३९ पुगेको छ ।

    कसको लाभांश क्षमता कति ?

    सार्वजनिक वित्तीय विवरण अनुसार १२ जीवन बीमा कम्पनीको कुल चुक्ता पुँजी ६ हजार ६०३ करोड रुपैयाँ र कुल वितरणयोग्य रकम ३१९ करोड रुपैयाँ रहेको छ, जसका आधारमा कम्पनीहरूको औसत सम्भावित लाभांश क्षमता ११.८५ प्रतिशत अनुमान गरिएको छ ।

    लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को वितरणयोग्य रकम ३७५ करोड रुपैयाँ रहेकाले यसको सम्भावित लाभांश क्षमता सबैभन्दा बढी ६८ प्रतिशत देखिएको छ । यसैगरी, आईएमई लाइफको १४.२० प्रतिशत (७१ करोड) र रिलायबल नेपाल लाइफको १३.१० प्रतिशत (६८ करोड) लाभांश क्षमता रहेको छ ।

    हिमालयन लाइफ (ऋणात्मक १०९ करोड रुपैयाँ) र राष्ट्रिय जीवन बीमा कम्पनी (ऋणात्मक ३६८ करोड रुपैयाँ) को वितरणयोग्य रकम ऋणात्मक रहेकाले हालका लागि सम्भावित लाभांश क्षमता शून्य देखिएको छ ।

    अन्य कम्पनीहरूमा नेपाल लाइफको ८.२०%, सन नेपाल लाइफको ६.८१%, सानिमा रिलायन्सको ६.५८%, नेसनल लाइफको ६.५०%, प्रभु महालक्ष्मीको ६.४०%, एसियन लाइफको ६.२०% र सूर्यज्योति लाइफको सम्भावित लाभांश क्षमता ६.१८% रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images