काठमाडौं– मलेसियाको विद्युतीय सवारी (ईभी) बजारमा ‘प्रोटोन ई.मास–फाइभ’ सबैभन्दा बढी बिक्री तथा दर्ता हुने विद्युतीय गाडी बनेको छ ।
सन् २०२६ को अक्टोबर महिनामा यस मोडलले मलेसियाको कुल ईभी बजारको झण्डै आधा हिस्सा ओगट्न सफल भएको हो ।
अक्टोबरमा प्रोटोन ई.मास–फाइभ का २ हजार २६२ वटा गाडी दर्ता भएका छन् । यो सङ्ख्या मलेसियामा सो महिनामा दर्ता भएका कुल विद्युतीय सवारीको ४९.३ प्रतिशत हो ।
उक्त महिनामा मलेसियामा कुल ४ हजार ५९२ वटा विद्युतीय सवारी दर्ता भएका थिए । यो सङ्ख्या सेप्टेम्बरको तुलनामा २३.८ प्रतिशतले कम हो । साथै, सन् २०२६ को फेब्रुअरीयताकै सबैभन्दा कम मासिक ईभी दर्ता हो ।
यसैगरी, प्रोटोनको अर्को विद्युतीय मोडल ‘ई.मास–सेभेन’ का ५५४ वटा गाडी अक्टोबरमा दर्ता भएका छन् । ई.मास–फाइभ र ई.मास–सेभेन गरी यी दुई मोडलको संयुक्त बजार हिस्सा ६१.३ प्रतिशत पुगेको छ । यसले मलेसियाको विद्युतीय सवारी बजारमा प्रोटोनको बलियो उपस्थितिलाई देखाएको छ ।
अर्कोतर्फ, अक्टोबर महिनामा मलेसियामा हाइब्रिड सवारीको दर्ता सङ्ख्या ५ हजार २३ पुगेको छ । यो सङ्ख्या यस वर्ष दोस्रो पटक पूर्ण विद्युतीय सवारीको दर्ताभन्दा बढी हो । यसले मलेसियाको अटोमोबाइल बजारमा उपभोक्ताको रोजाइ तथा वैकल्पिक ऊर्जा सवारीप्रतिको आकर्षणमा परिवर्तन भइरहेको सङ्केत गरेको छ ।
नेपालमा प्रोटोनका विद्युतीय सवारी शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले आधिकारिक वितरकका रूपमा बिक्री गर्दै आएको छ ।
नेपालमा ई.मास–फाइभ का दुई भेरियन्ट
प्रोटोन ई.मास–फाइभ नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छन् । नेपालको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेगमेन्टमा पहिलो रियर ह्विल ड्राइभ लेआउट रहेको यस गाडीमा ८५ किलोवाट क्षमताको मोटर र ४० किलोवाट आवरको सीएटीएल एलएफपी ब्याट्री जडान गरिएको छ ।
गाडीमा ४.९५ मिटरको टर्निङ रेडियस, रियर मल्टि–लिंक सस्पेन्सन तथा भेहिकल टू लोड (भीटूएल) सुविधा उपलब्ध छ । यसको अगाडिको फ्रङ्कमा ७० लिटर र पछाडिको लगेज स्पेस ३७५ लिटरसम्म विस्तार गर्न सकिने व्यवस्था छ । साथै, ३२ वटा स्टोरेज कम्पार्टमेन्टले यसको उपयोगितालाई थप बढाएका छन् ।
यसमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा पनि उपलब्ध छन् । नेपाली बजारमा ई.मास–फाइभ को मूल्य ३२ लाख ९९ हजार रुपैयाँबाट सुरू हुन्छ ।
ई.मास–सेभेनमा ४१० किलोमिटरसम्मको रेञ्ज
प्रोटोन ई.मास–सेभेन पनि प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ । यसमा ४१० किलोमिटरसम्मको डब्लुएलटीपी रेन्ज दिने एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ ।
१२–इन–१ इन्टिग्रेटेड मोटर र डीसी फास्ट चार्जिङ सुविधा रहेको यस गाडीमा १५.४ इन्चको २.५ के टचस्क्रिन, १६ स्पिकरयुक्त फ्लाइम साउन्ड सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो तथा विन्डशील्ड हेडअप डिस्प्ले उपलब्ध छन् । यसमा पनि भेहिकल टु लोड सुविधा रहेको छ ।
नेपाली बजारमा प्रोटोन ई.मास–सेभेन को मूल्य ४९ लाख ९९ हजार रुपैयाँबाट सुरू हुने कम्पनीले जनाएको छ । मलेसियामा ई.मास–फाइभ ले हासिल गरेको सफलताले प्रोटोनको विद्युतीय सवारी बजार विस्तारमा महत्वपूर्ण उपलब्धि थपेको छ ।






















