काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज आइतबार समापन हुँदैछ ।
गत मंगलबार उद्घाटन गरिएको एक्स्पो आज समापन गर्न लागिएको नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले जनाएको छ ।
एक लाख ५० हजारले अवलोकन गर्ने लक्ष्य राखिएको मेलामा हिजै उक्त लक्ष्य पूरा भएको बताइएको छ । उपलब्ध जानकारी अनुसार मेलाको पाँचौं दिनमै आयोजकको लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पो स्थल पुगिसकेका छन् ।
हिजो शनिबार एकैदिन ४२ हजार अवलोकनकर्ताले एक्स्पो भ्रमण गरेका छन् । यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको संख्या एक लाख ५० हजार नाघेको छ ।
एक्स्पो अवलोकन गर्नेहरुको भीड शनिबार अनपेक्षित बढेपछि पार्किङ व्यवस्थापनमा समेत हम्मे–हम्मे परेको थियो । भृकुटीमण्डपभित्रका सबै खालि जग्गा, नेपाल पुलिस क्लबको दुई तला तथा खाद्य गोदाम ग्राउन्डलगायतका स्थलमा पार्किङको व्यवस्थापन गर्दा पनि अवलोकनकर्तालाई सहज भएको थिएन ।
पटक–पटक भइरहेको भारी वर्षालाई बेवास्ता गर्दै अवलोकनकर्ता भृकुटीमण्डप पुगिरहेका थिए । अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अवलोकनकर्ताको उल्लेख्य सहभागिताले उत्साहित बनाएको बताए । ‘मेला पूर्णरुपमा सफल भयो भन्नका लागि अन्तिम दिनसम्म कुर्नै परेन,’ उनले भने, ‘हाम्रो लक्ष्य पूरा भइसकेको छ, एक्स्पो अवलोकन गरेर भोलिको दिनलाई अझ विशेष बनाइदिन म सबैलाई आग्रह गर्छु ।’
एक्स्पोको उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेका थिए । मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारी साधन प्रदर्शनीमा राखिएका छन् । नयाँ–नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेर वितरक कम्पनीहरुले अवलोकनकर्तालाई आफ्ना स्टलमा आकर्षित गरिरहेका छन् ।


विश्व खबर 



















