images
images
  • भोटेकोशी बाढी प्रभावित व्यवसायीको पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा

    काठमाडौं– नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि सरकारले ल्याएको पुनरुत्थान प्याकेजको स्वागत गरेको छ ।

    बाढी प्रभावित निजी क्षेत्रलाई लक्षित गरी भन्सार तथा कर छुट, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, थप कर्जाको व्यवस्था तथा बीमा दाबी भुक्तानीलाई सहज बनाउने सरकारको निर्णयको नाडाले स्वागत गरेको हो ।

    ‘विपद्बाट प्रभावित व्यवसायलाई तत्काल राहत दिँदै पुन: सञ्चालनको वातावरण बनाउन सरकारले लिएको यो कदम अत्यन्त सकारात्मक र स्वागतयोग्य छ,’ नाडाले भनेको छ । विशेषगरी बाढीका कारण पूर्णरूपमा क्षतिग्रस्त वा बगाएर हराएका व्यावसायिक सवारी तथा ढुवानीका साधनको दर्ता खारेज गरी सोही प्रकृतिका साधन पुन: आयात गर्दा भन्सार महसुल छुट दिने निर्णयले अटोमोबाइल तथा ढुवानी व्यवसायीलाई ठूलो राहत पुग्ने विश्वास नाडाको छ ।

    त्यस्तै, क्षतिग्रस्त मेशिनरी तथा उपकरण पुन: आयातमा दिइएको सहुलियत पनि पुन:स्थापनाका लागि महत्वपूर्ण रहेको नाडाको ठहर छ ।

    बाढी प्रभावित ऋणीलाई कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण तथा ब्याजमा सहुलियत दिने निर्णयले व्यवसायीमाथिको तत्कालीन वित्तीय दबाब कम गर्नेछ । साथै, क्षतिग्रस्त सवारी तथा उपकरण पुन: खरिदका लागि कर्जा उपलब्ध गराउने व्यवस्था व्यवसायको निरन्तरताका लागि महत्वपूर्ण रहेको नाडाको निष्कर्ष छ ।

    नाडा अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीले भने, ‘विपद्पछि निजी क्षेत्रलाई पुन: उठाउन सरकारले कर, भन्सार, कर्जा, ब्याज र बीमालाई एकीकृत रूपमा सम्बोधन गर्नु अत्यन्त सकारात्मक कदम हो । यसले प्रभावित व्यवसायीलाई पुन: व्यवसायमा फर्किन महत्वपूर्ण आधार प्रदान गर्नेछ ।’

    सरकारको निर्णयको शीघ्र, सरल र प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै नाडाले वास्तविक क्षतिको अध्ययन गरी आवश्यकताअनुसार दोस्रो चरणको पुनरुत्थान प्याकेजसमेत ल्याउन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images