images
images
  • बेल्जियमका स्टार स्ट्राइकर लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्न्यास

    काठमाडौं– बेल्जियमका स्टार स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।

    ३३ वर्षीय लुकाकुले राष्ट्रिय टोलीबाट १६ वर्षको खेल जीवन पूरा गर्दै सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन् ।

    लुकाकुले सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीका सहकर्मी तथा प्रशिक्षकहरूलाई धन्यवाद दिँदै आफ्नो निर्णय सार्वजनिक गरेका हुन् । उनले बेल्जियमका लागि १६ वर्षसम्म सक्दो योगदान दिएको उल्लेख गरेका छन् ।

    सन् २०१० मा बेल्जियमको राष्ट्रिय टोलीबाट खेल्न थालेका लुकाकुले १३५ खेल खेल्दै ९४ गोल गरेका छन् । उनी बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा भने लुकाकु पाँचौं स्थानमा छन् ।

    सन् २०१८ को विश्वकपमा बेल्जियमलाई तेस्रो स्थान दिलाउन महत्त्वपूर्ण योगदान दिएका उनले चार विश्वकप र तीन युरोपेली च्याम्पियनसिपमा बेल्जियमको प्रतिनिधित्व गरेका छन् ।

    पछिल्लो पटक आइतबार इटालीविरुद्धको खेलमा टोलीमा रहे पनि उनी मैदानमा उत्रन पाएनन् । उक्त खेलमा बेल्जियमले इटालीलाई ४–१ गोलले पराजित गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images