काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आइतबार भएको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हराएको छ । प्ले–अफ पुगिसकेको चितवन लिग चरणको अन्तिम खेलमा कर्णालीसँग पराजित भएको हो ।
कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन ५ बलअगावै १२९ रनमा अलआउट भएपछि पराजय स्वीकार गर्न बाध्य भयो ।
चितवनका लागि ओपनर कमिल मिसाराले २५, कुशल मल्लले १८, देव खनालले १४ रन बनाए । त्यस्तै अशोक धामीले ११, डान मुस्लीले ८, सलाहुद्दिन खानले ७, विवेक यादवले ६, कप्तान सिकन्दर राजाले २ र कमल ऐरीले १ रनको योगदान दिए ।
बलिङतर्फ कर्णालीका मार्क वाट, पवन सर्राफ र हुसैन तलातले समान २-२ विकेट लिए । सोमपाल कामीले एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रनको योगफल तयार गरेको थियो ।
कर्णालीका लागि हुसैन तलतले सर्वाधिक ५१ रन बनाए । ओपनर अरिफुल इस्लामले ३५, गुल्सन झाले १८ र पवन सर्राफले १५ रनको योगदान दिए । त्यस्तै दीपक डुम्रे ७, मार्क वाट ६, डेविड मिलर ५, सोमपाल कामी ४ रन बनाए ।
बलिङतर्फ चितवनका लागि कमल ऐरी, सलाहुद्दिन खान र उसामा मिरले समान २-२ विकेट लिए । रिजन ढकाल र सिकन्दर राजाले समान एक-एक विकेट लिए ।
चितवन प्लेअफमा पुगिसकेको छ भने कर्णाली प्लेअफबाट बाहिरिसकेको छ । लिग चरणअन्तर्गत आज साँझ काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच अन्तिम खेल हुँदैछ । यी दुई टोलीमध्ये काठमाडौं पनि प्लेअफ पुगिसकेको छ भने पोखरा प्रतियोगितामा बाहिरिइसकेको छ ।





















