images
images
  • एनपिएलको लिग चरण सकियो, लुम्बिनी शीर्ष स्थानमा रहँदै प्लेअफमा

    काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करणको लिग चरणका खेल सकिएका छन् । आइतबार सम्पन्न दुई खेलसँगै लिग चरण पूरा हुँदा चार टोलीले प्लेअफमा स्थान सुरक्षित गरेका छन् भने चार टोलीको उपाधि यात्रा टुङ्गिएको छ ।

    लिग चरणको अन्तिम नतिजाअनुसार साविक विजेता लुम्बिनी लायन्स अङ्क तालिकाको शीर्ष स्थानमा रह्यो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले सात खेलबाट पाँच जित, एक हार र एक खेल वर्षाका कारण रद्द हुँदा ११ अङ्क जोड्यो । सन्तुलित ब्याटिङ र बलिङ प्रदर्शन गरेको लुम्बिनीले शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको हो ।

    गत संस्करणको उपाधि जितेको लुम्बिनी यसपटक पनि उपाधि रक्षाको बलियो दाबेदार देखिएको छ । अब उसले प्लेअफमा समेत लिग चरणको लय कायम राख्दै लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्य राखेको छ ।

    लिग चरणमा दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्स रह्यो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले सात खेलमध्ये पाँचमा जित र दुईमा हार व्यहोर्दै १० अङ्क जोड्यो । लगातार दुई संस्करण फाइनल खेलेको सुदूरपश्चिमले यसपटक पनि प्लेअफमा स्थान बनाउँदै उपाधि दौडलाई निरन्तरता दिएको छ ।

    लगातार तीन संस्करण प्लेअफमा पुग्ने पहिलो टोली बनेको सुदूरपश्चिम यसपटक विगतका दुई फाइनलको अनुभवलाई उपाधिमा बदल्ने योजनामा हुनेछ ।

    करण केसीको नेतृत्वमा रहेको काठमाण्डु गोर्खाज आठ अङ्कसहित तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको छ । काठमाण्डुले सात खेलमध्ये चारमा जित र तीनमा हार व्यहोरेको थियो । लगातार दोस्रोपटक प्लेअफमा पुगेको काठमाण्डुले लिग चरणमा केही बलिया टोलीलाई चुनौती दिँदै आफ्नो प्रतिस्पर्धात्मक क्षमता देखाएको छ ।

    प्लेअफमा स्थान बनाउने चौथो टोली चितवन राइनोज रह्यो । चितवनले सात खेलमध्ये तीनमा जित र तीनमा हार व्यहोर्दा एक खेल वर्षाका कारण रद्द भएको थियो । सात अङ्क जोडेको चितवन चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको हो । अब टोलीले लिग चरणका कमजोरी सुधार्दै नकआउट चरणमा प्रभावशाली प्रदर्शन गर्ने चुनौती पाएको छ ।

    चार टोली प्लेअफमा पुग्दा गत संस्करणको उपविजेता विराटनगर किङ्स भने बाहिरिएको छ । सात खेलमध्ये तीनमा मात्र जित निकालेको विराटनगरले चार खेलमा हार व्यहोर्दै छैटौँ स्थानमा रहेको कर्णाली याक्ससँगै प्लेअफको दौड पूरा गर्न सकेन । विराटनगरले सात खेलबाट छ अङ्क जोडेको थियो ।

    कर्णाली याक्सले पनि सात खेलमध्ये तीनमा जित र चारमा हार व्यहोर्दै छैटौँ स्थानमा प्रतियोगिता टुङ्ग्यायो । केही खेलमा प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि जितलाई निरन्तरता दिन नसक्दा टोली प्लेअफमा पुग्न असफल भयो ।

    पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सको प्रदर्शन भने यसपटक निराशाजनक रह्यो । पोखराले सात खेलमध्ये दुईमा जित र पाँचमा हार व्यहोर्दै चार अङ्कसहित सातौँ स्थान हासिल गर्‍यो । प्रतियोगिताका तीनवटै संस्करणमा सहभागी भए पनि पोखराले अहिलेसम्म प्लेअफमा स्थान बनाउन सकेको छैन ।

    पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स यसपटक पनि अङ्क तालिकाको पुछारमा रह्यो । सात खेलमध्ये दुईमा जित र पाँचमा हार व्यहोरेको जनकपुर चार अङ्कसहित आठौँ स्थानमा सीमित भयो । गत संस्करणमा पनि पुछारमा रहेको जनकपुरले लगातार दोस्रोपटक कमजोर प्रदर्शन गरेको छ ।

    लिग चरण सकिएसँगै एनपिएल अब उपाधिको निर्णायक चरणमा प्रवेश गरेको छ । प्लेअफमा लुम्बिनी, सुदूरपश्चिम, काठमाण्डु र चितवनबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष स्थानमा रहेको लुम्बिनी उपाधि रक्षा गर्ने लक्ष्यमा रहँदा अन्य तीन टोली पहिलोपटक एनपिएल च्याम्पियन बन्ने योजनासहित मैदानमा उत्रनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images