images
images
  • एनपीएल प्लेअफ समीकरण पूरा, क्वालिफायर–वानमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

    काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लिग चरणका २८ खेल सकिएसँगै प्लेअफ समीकरण पूरा भएको छ। उपाधि होडमा अब चार टोली बाँकी छन्। पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् भने इलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज आमनेसामने हुनेछन् ।

    लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रह्यो। सुदूरपश्चिम दोस्रो, काठमाडौं तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन् । निर्धारित तालिकाअनुसार मंगलबार क्वालिफायर–वान, बुधबार इलिमिनेटर र बिहीबार क्वालिफायर–टु हुनेछ । क्वालिफायर–वानको विजेता सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले इलिमिनेटरको विजेतासँग क्वालिफायर–टु खेल्नेछ । क्वालिफायर–टुको विजेताले फाइनलमा स्थान बनाउनेछ । प्लेअफमा पुग्न नसकेपछि विराटनगर किंग्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सको यात्रा भने लिग चरणमै समाप्त भएको छ ।

    साविक विजेता लुम्बिनी लायन्स यसपटक पहिलोपटक क्वालिफायर–वान खेल्दै छ । लिग चरणमा पाँच खेल जितेको लुम्बिनीको एक खेल वर्षाका कारण नतिजाविहीन बनेको थियो भने अर्को एक खेलमा पराजित भएको थियो । यसरी ११ अंक जोड्दै लुम्बिनी पहिलो स्थानमा रहन सफल भयो। एनपीएलका तीन संस्करणमध्ये लुम्बिनीले लिग चरणमा शीर्ष स्थान हासिल गरेको यो पहिलो अवसर हो ।

    पहिलो संस्करणमा खराब प्रदर्शन गर्दै आठ टोलीमध्ये पुछारमा रहेको लुम्बिनीले दोस्रो संस्करणमा भने उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितेको थियो । दोस्रो संस्करणमा सुरुआती चार खेलमध्ये तीनमा पराजित भएपछि लुम्बिनीको यात्रा कठिन देखिएको थियो । तर त्यसपछि लगातार जित निकाल्दै उसले उपाधि आफ्नो नाममा लेखाएको थियो । त्यस संस्करणको इलिमिनेटरमा लुम्बिनीले काठमाडौं गोर्खाजलाई चार विकेटले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको काठमाडौं १११ रनमै समेटिएको थियो । जवाफमा लुम्बिनीले १७।४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

    त्यसपछि क्वालिफायर–टुमा विराटनगर किंग्सलाई ४० रनले हराउँदै लुम्बिनी फाइनल पुगेको थियो । उक्त खेलमा लुम्बिनीले आठ विकेट गुमाएर १३४ रन बनाएको थियो । जवाफमा विराटनगर १७.५ ओभरमा ९४ रनमै समेटिएको थियो । दोस्रो संस्करणको प्लेअफमा लगातार दुई जित निकालेको लुम्बिनी यसपटक पनि उपाधि जोगाउने लक्ष्यसहित मैदानमा उत्रनेछ ।

    सुदूरपश्चिम रोयल्स लगातार तेस्रोपटक प्लेअफमा पुग्ने एकमात्र टोली बनेको छ । अघिल्ला दुई संस्करणमा फाइनलसम्म पुगे पनि उपविजेतामै सीमित भएको सुदूरपश्चिम यसपटक पहिलो उपाधि जित्ने लक्ष्यमा छ । पहिलो र दोस्रो दुवै संस्करणमा लिग चरणको शीर्ष स्थान हासिल गरेको सुदूरपश्चिमले क्वालिफायर–वानमा पनि प्रभावशाली प्रदर्शन गरेको थियो । पहिलो संस्करणको क्वालिफायर–वानमा जनकपुर बोल्ट्सलाई आठ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनल पुगेको थियो । जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो ।

    दोस्रो संस्करणमा पनि सुदूरपश्चिमले क्वालिफायर–वानमा विराटनगर किंग्सलाई ७७ रनले हराएको थियो। पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १५५ रन बनाएको सुदूरपश्चिमले जवाफमा विराटनगरलाई ७८ रनमै समेटेको थियो । तर दुवै संस्करणको फाइनलमा भने सुदूरपश्चिम पराजित भयो । यसपटक पनि लिग चरणमा दोस्रो स्थानमा रहेपछि उसले क्वालिफायर–वानमा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । काठमाडौं गोर्खाज आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएपछि सुदूरपश्चिमले क्वालिफायर–वानमा स्थान बनाएको हो ।

    काठमाडौं गोर्खाज लगातार दोस्रोपटक प्लेअफमा पुगेको छ । पहिलो संस्करणमा आठ अंक जोडेर पनि प्लेअफमा पुग्न नसकेको काठमाडौंले दोस्रो संस्करणमा तेस्रो स्थान हासिल गर्दै इलिमिनेटर खेलेको थियो। तर गत संस्करणको इलिमिनेटरमा काठमाडौं लुम्बिनी लायन्ससँग चार विकेटले पराजित भएको थियो । पहिले ब्याटिङ गरेको काठमाडौं १११ रनमै समेटिएपछि उसको प्लेअफ यात्रा समाप्त भएको थियो ।

    यसपटक काठमाडौंले सुरुआती पाँच खेलमध्ये पहिलो खेल गुमाए पनि त्यसपछि लगातार जित निकाल्दै प्लेअफमा स्थान सुरक्षित गरेको थियो । बीचका चार खेलमा लगातार जित हासिल गरेपछि टोलीको स्थिति बलियो बनेको थियो । तर लिग चरणको अन्त्यतिर काठमाडौंको प्रदर्शन खस्कियो । त्यसयताका दुई खेलमा पराजित भएपछि टोलीले आठ अंकमै चित्त बुझाउनुपर्‍यो । अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएपछि काठमाडौंले क्वालिफायर–वान खेल्ने अवसर गुमायो। अब इलिमिनेटरमा चितवनलाई हराएर पहिलोपटक प्लेअफमा जित निकाल्ने चुनौती काठमाडौंसामु छ ।

    चितवन राइनोज यसपटक सात अंक जोडेर पनि प्लेअफमा पुग्न सफल भएको छ। लिग चरणमा तीन खेल जितेको चितवनको एक खेल नतिजाविहीन बनेको थियो । आफ्नो अन्तिम खेलमा कर्णाली याक्ससँग पराजित भए पनि चितवनको प्लेअफ यात्रा त्यसअघि नै निश्चित भइसकेको थियो । तर अन्तिम खेलको हारले टोलीलाई तेस्रो स्थानमा पुग्ने अवसरबाट वञ्चित गर्‍यो ।

    एनपीएलको इतिहासमा चितवन दोस्रोपटक प्लेअफमा पुगेको हो । पहिलो संस्करणमा आठ अंकसहित तेस्रो स्थान हासिल गरेको चितवन इलिमिनेटरमा पुगेको थियो । त्यतिबेला चितवन कर्णाली याक्ससँग २१ रनले पराजित भएको थियो । पहिले ब्याटिङ गरेको कर्णालीले ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफमा चितवनले नौ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सकेको थियो ।

    यसरी पहिलो संस्करणमा प्लेअफको एक खेल खेलेर बाहिरिएको चितवन यसपटक भने नयाँ इतिहास बनाउने लक्ष्यमा छ । अब उपाधि यात्रामा चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । लुम्बिनी आफ्नो उपाधि रक्षा गर्ने अभियानमा छ भने सुदूरपश्चिम यसअघिका दुई फाइनल हारको बदला लिँदै पहिलो उपाधि जित्न चाहन्छ। काठमाडौं र चितवनका लागि भने इलिमिनेटर जित्दै उपाधि दौडमा कायम रहनु मुख्य चुनौती हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images