काठमाडौं – युईएफए नेसन्स लिगमा इङ्ल्यान्डले विश्व च्याम्पियन स्पेनलाई ३–२ गोलले पराजित गर्दै उसको ४३ खेलको अपराजित यात्रामा पूर्णविराम लगाएको छ । सोमबार बिहान म्याड्रिडमा भएको खेलमा दोस्रो हाफमा १० खेलाडीमा सीमित भए पनि इङ्ल्यान्डले शानदार जित निकालेको हो ।
इङ्ल्यान्डका लागि कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै राष्ट्रिय टोलीका लागि आफ्नो गोल संख्या ९३ पुर्याए । दोस्रो हाफमा डेक्लान राइसको कर्नरमा एज्री कोन्साले हेडमार्फत गोल गरे । त्यसपछि जुड बेलिङ्घमको पासमा बेन ह्वाइटले गोल गर्दै इङ्ल्यान्डको अग्रता ३–० बनाए ।
तर, इलियट एन्डरसनले लामिन यामाललाई फाउल गरेपछि रातो कार्ड पाएसँगै खेलको अवस्था बदलियो । १० खेलाडीमा सीमित इङ्ल्यान्डविरुद्ध स्पेनले आक्रमण तीव्र बनायो । मिकेल ओयारजाबालले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई खेलमा फर्काउने प्रयास गरे भने निको विलियम्सले अर्को गोल थपे ।
अन्तिम समयमा स्पेनले लगातार दबाब बनाए पनि इङ्ल्यान्डका गोलकिपर जेम्स ट्राफोर्डले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जित जोगाए । उनले फर्मिन लोपेज, एमेरिक लापोर्टे, लामिन यामाल र मार्क कुकुरेलाका महत्त्वपूर्ण प्रहार रोक्दै स्पेनलाई बराबरी गर्न दिएनन् ।
इङ्ल्यान्डका मिडफिल्डर डेक्लान राइसले खेलअघि नै आफ्नो टोली स्पेनलाई हराउन सक्षम रहेको विश्वास व्यक्त गरेका थिए । ‘हामीलाई थाहा थियो कि आज राति उनीहरूलाई हराउन सक्छौँ । हामी यहाँ पछाडि बसेर काउन्टर आक्रमण मात्र गर्न आएका थिएनौँ,’ उनले भने ।
स्पेनका गोलकिपर उनाई सिमोनले भने इङ्ल्यान्ड आफ्नो टोलीभन्दा उत्कृष्ट रहेको स्वीकार गरे । ‘आज राति उनीहरू हामीभन्दा उत्कृष्ट थिए । हामी यसबाट सिकेर मार्चमा अझ राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौँ,’ उनले भने ।
समूह ए३ मा इङ्ल्यान्ड शीर्ष स्थानमा रह्यो । दुवै टोली खेलअघि नै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेका थिए । इङ्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले विपक्षीको स्तर, खेलको दबाब र परिस्थितिलाई हेर्दा यो आफ्नो टोलीको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन भएको बताए । ‘परिस्थिति, दबाब, विपक्षीको गुणस्तर र खेलको स्थानलाई हेर्दा यो अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन थियो,’ उनले भने । एजेन्सी





















