images
images
  • को हुन् तिबी ? यासेर अराफातका सल्लाहकार बने इजरायलका उपसभामुख

    काठमाडौं– इजरायली संसद् (नेसेट) मा अरब मुभमेन्ट फर रिन्युअल (ताअल) पार्टीका अध्यक्ष अहमद तिबी उपसभामुख निर्वाचित भएका छन् । यो नियुक्ति लामो समयदेखि इजरायलका प्यालेस्टिनी नागरिकको प्रतिनिधित्व गर्दै आएका अनुभवी सांसदका लागि एउटा महत्त्वपूर्ण उपलब्धि हो ।

    निर्वाचनपछि अलजजिरासँग कुरा गर्दै तिबीले यस घटनालाई पछिल्ला वर्षहरूमा इजरायलको सरकारको नेतृत्व गरेका वा सरकारमा सहभागी भएका अतिवादी दक्षिणपन्थी दलहरूविरुद्धको विजयका रूपमा व्याख्या गरे ।

    ‘११ सिट जितेको संयुक्त सूची (जोइन्ट लिस्ट) का लागि यो न्यायोचित उपलब्धि हो’, उनले भने । उनले अरब बहुल दलहरूको गठबन्धनलाई सङ्केत गर्दै यस्तो बताएका हुन् ।

    ‘लिकुड र बेन-गभिरले मेरो निर्वाचन रोक्ने प्रयास गरे । तर उनीहरूको गैरजिम्मेवारपूर्ण उक्साहटका बाबजुद उनीहरू असफल भए’, तिबीले थपे ।

    उनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको पार्टी लिकुड र अतिवादी दक्षिणपन्थी राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–गभिरलाई सङ्केत गरेका थिए ।

    अराफातका सल्लाहकार

    AFP 20031106 NIC2003110316481 v2 HighRes MideastPalestinianIsrael e1719591943456

    सन् १९५८ डिसेम्बर १९ मा ताइबे सहरमा जन्मिएका तिबीको परिवार सन् १९४८ को नक्बाका क्रममा जाफाबाट विस्थापित भएको थियो । उनले सुरुमा चिकित्सा शिक्षा रोजेका थिए । सन् १९८३ मा जेरुसेलमस्थित हिब्रु विश्वविद्यालयबाट उत्कृष्ट अङ्कसहित चिकित्सा विषयमा स्नातक गरे । तर त्यसपछि उनको राजनीतिक सक्रियता चिकित्सा पेसाभन्दा बढी चर्चामा आउन थाल्यो ।

    सन् १९८४ मा तिबीले ट्युनिसियाको ट्युनिसमा प्यालेस्टाइन मुक्ति सङ्गठन (पीएलओ) का नेता यासेर अराफातसँग भेट गरेका थिए । त्यति बेला इजरायलले पीएलओलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा गर्दै त्यससँगको सम्पर्कलाई गैरकानुनी मानेको थियो ।

    इजरायल फर्किएपछि उनलाई प्रहरीले सोधपुछ गरेको थियो । तर उनीमाथि औपचारिक रूपमा कुनै अभियोग लगाइएन । त्यसपछि तिबीले सन् १९९३ देखि १९९९ सम्म अराफातको राजनीतिक सल्लाहकारको रूपमा काम गरे ।

    सन् १९९८ मा अमेरिकाको मेरिल्यान्डमा भएको बाइ रिभर शिखर सम्मेलनमा उनले प्यालेस्टिनी प्रतिनिधिमण्डलका प्रवक्ताको भूमिका निर्वाह गरेका थिए ।
    इजरायलका सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका बेन्जामिन नेतान्याहु त्यति बेला आफ्नो पहिलो कार्यकालमा थिए । उक्त सम्मेलनमा इजरायलले कब्जा गरेको पश्चिम किनारका केही भूभागबाट आफ्ना सेना फिर्ता गर्ने सहमति जनाएको थियो ।

    त्यसको बदलामा प्यालेस्टिनी प्राधिकरण (पीए) ले प्यालेस्टिनी प्रतिरोध आन्दोलनका सशस्त्र समूहविरुद्ध थप कडाइ गर्ने सहमति गरेको थियो । तर इजरायल–प्यालेस्टाइनबीच भएका अन्य सम्झौता जस्तै बाइ रिभर समझदारी पनि चाँडै इजरायलबाट कार्यान्वयन हुन छाड्यो ।

    तिबीको संसदीय सङ्घर्ष

    ahamed tibi israel

    तिबीले सन् १९९६ मा ताअल पार्टी स्थापना गरेका थिए र सन् १९९९ मा पहिलो पटक नेसेटमा निर्वाचित भएका थिए । आफूलाई ‘इजरायली नागरिकता भएको अरब प्यालेस्टिनी’ का रूपमा चिनाउने उनी दुई राज्य समाधान र प्यालेस्टिनी शरणार्थीहरूको स्वदेश फर्कने अधिकारका पक्षधर हुन् ।

    उनले इजरायललाई ‘यहुदी राज्य’ का रूपमा परिभाषित गर्ने मान्यतालाई निरन्तर चुनौती दिँदै आएका छन् । बरु उनले इजरायललाई ‘रङ्गभेदी राज्य’ भन्दै सबै नागरिकका लागि समान राज्य हुनुपर्ने वकालत गर्दै आएका छन् ।

    उनको स्पष्ट र कडा राजनीतिक अभिव्यक्ति तथा स्थलगत सक्रियताका कारण उनी पटक-पटक इजरायली सरकार र हिंसात्मक दक्षिणपन्थी अतिवादीहरूको निशानामा पर्दै आएका छन् ।

    सन् २००० को सेप्टेम्बरमा भएको दोस्रो इन्तिफादाका क्रममा उनले एरियल शेरोनको सामना गरेका थिए । त्यस क्रममा उनको दाहिने हात भाँचिएको थियो । शेरोनले त्यसको एक वर्षपछि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । अल–अक्सा मस्जिद परिसरमा गरेको विवादास्पद प्रवेशको विरोधमा तिबीले प्रतिवाद गरेका थिए ।

    सन् २००२ मा इजरायलले तिबीको संसदीय उन्मुक्ति खोसेको थियो । सैन्य कारबाहीका क्रममा उनी जेनिन शरणार्थी शिविर पुगेपछि र त्यहाँ इजरायली सैनिकहरूको सामना गरेपछि यस्तो कदम चालिएको थियो ।

    तिबी संसद्भित्रका नाटकीय विरोध प्रदर्शनका लागि पनि चर्चित छन् । सन् २०१६ मा उनले नेसेटको बैठक कक्षभित्रै इस्लाम धर्मको अजान दिएका थिए । जेरुसेलम र कब्जा गरिएको प्यालेस्टिनी भूभागमा लाउडस्पिकरमार्फत अजान दिन प्रतिबन्ध लगाउने उद्देश्यले प्रस्तावित इजरायली विधेयकको विरोधमा उनले यस्तो गरेका थिए ।

    -एजेन्सी/तेल अभिभ

    प्रतिक्रिया दिनुहोस्
    images
    images