काठमाडौं– काठमाडौं उपत्यकामा चिसो मौसम सुरु भएसँगै वायु प्रदूषण बढ्न थालेको छ । हिउँदमा हावाको बहाव कमजोर हुने, वर्षा नहुँदा धुलोका कण वातावरणमै रहने र तापक्रमको असमानताले प्रदूषित हावा बाहिर निस्किन नपाउने अवस्थाका कारण उपत्यकाको वायु गुणस्तर थप बिग्रिने जोखिम देखिएको छ ।
वायु गुणस्तर मापनका पछिल्ला तथ्यांकअनुसार कीर्तिपुर र पाटन क्षेत्रमा प्रदूषणको मात्रा अन्य क्षेत्रको तुलनामा बढी देखिएको छ ।
आइतबार अपराह्न ३ः५१ बजेको मापनअनुसार कीर्तिपुरको वायु गुणस्तर सूचकांक (एक्युआई) १३१ र पाटनको १२७ पुगेको छ । त्यस्तै काठमाडौंमा १२४, भक्तपुरमा ९८ र मध्यपुर थिमिमा ९० एक्युआई मापन गरिएको छ ।
वायु गुणस्तर सूचकांक १०० भन्दा माथि पुग्दा संवेदनशील समूहका व्यक्तिका लागि स्वास्थ्य जोखिम बढ्न सक्छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिले प्रदूषित वातावरणमा लामो समय बिताउँदा स्वास्थ्यमा असर पर्न सक्छ ।
उपत्यकामा सवारीसाधनको धुवाँ, सडक तथा निर्माणस्थलको धुलो र अन्य प्रदूषणका स्रोतले वायु गुणस्तर प्रभावित पार्दै आएका छन् । प्रदूषणबाट बच्न अत्यधिक धुलो भएको स्थानमा नबस्न र आवश्यक सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाव दिँदै आएका छन् ।
वातावरणविद्हरूका अनुसार काठमाडौंमा हरेक वर्ष हिउँदसँगै दोहोरिने वायु प्रदूषणको समस्या यस पटक पनि देखिन थालेको छ । विशेषगरी मंसिरदेखि प्रदूषणको मात्रा बढ्दै जाने र जनवरीमा उच्च विन्दुमा पुग्ने प्रवृत्ति रहेको उनीहरूको भनाइ छ । यसले उपत्यकावासीको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने जोखिम बढाएको छ ।
वातावरणविद् डा. भूपेन्द्र दासका अनुसार चिसो मौसममा जमिन नजिकको हावा चिसो र माथिल्लो तहको हावा तुलनात्मक रूपमा न्यानो हुने भएकाले वायुमण्डलमा प्रदूषित कण थुप्रिने अवस्था सिर्जना हुन्छ । सामान्य अवस्थामा हावाको आवागमनले प्रदूषित कणलाई फैलाउन वा बाहिर लैजान सहयोग गर्छ । तर चिसो मौसममा यस्तो प्रक्रिया कमजोर हुँदा प्रदूषण उपत्यकामै जम्मा हुने गर्छ ।
उनका अनुसार काठमाडौंको भौगोलिक बनावटले पनि समस्या थप जटिल बनाएको छ । चारैतिर डाँडाले घेरिएको उपत्यकामा प्रदूषित हावा सहजै बाहिर निस्किन नसक्दा प्रदूषणको मात्रा बढ्ने गरेको छ । यो समस्या नेपालमा मात्र सीमित नभई भारतलगायत आसपासका क्षेत्रमा पनि देखिने र त्यहाँबाट आएको प्रदूषित हावाले समेत काठमाडौंलाई असर पार्न सक्ने उनले बताए ।
दासका अनुसार हिउँदमा वायु प्रदूषण बढ्नुको प्राकृतिक कारणसँगै मानवीय गतिविधि पनि उत्तिकै जिम्मेवार छन् । किसानले खेतबारीमा बाँकी रहेका अवशेष जलाउने, गोठमा गाईभैँसीलाई न्यानो बनाउन आगो बाल्ने तथा फोहोर जलाउने गतिविधिले वायुमण्डलमा धुवाँ र हानिकारक कण थप्ने गरेका छन् । काठमाडौं जस्तो बाक्लो बस्ती भएको क्षेत्रमा प्रदूषित हावा बाहिर निस्कन नसक्दा यसको असर झन् बढी देखिने उनको भनाइ छ ।
उनका अनुसार हिउँदमा वर्षा कम हुने र वातावरणमा चिसो बढ्ने भएकाले प्रदूषण नियन्त्रण स्वाभाविक रूपमा कठिन हुन्छ । यस वर्ष पनि सुक्खा मौसम सुरु भएसँगै उपत्यकाका विभिन्न क्षेत्रमा वायु गुणस्तर अस्वस्थकर तहमा पुग्न थालेको उनले बताए । नोभेम्बरदेखि सुरु हुने प्रदूषणको क्रम जनवरीमा अझ उच्च हुने उनको आकलन छ ।
वातावरणविद् भूषण तुलाधरका अनुसार चिसो मौसममा वायुमण्डलको तल्लो तहमा चिसो हावा र माथिल्लो तहमा न्यानो हावा रहने अवस्थाले प्रदूषित कणलाई माथि फैलिन दिँदैन । जमिन नजिकै प्रदूषित हावा थुप्रिँदा वायु गुणस्तर बिग्रिने गर्छ । यो प्राकृतिक मौसमी प्रक्रियासँगै फोहोर जलाउने र तापका लागि आगो बाल्ने जस्ता मानवीय गतिविधिले थप प्रदूषण सिर्जना गर्ने उनले बताए ।
तुलाधरका अनुसार गत वर्षको तुलनामा यस वर्ष हालसम्म प्रदूषण केही कम देखिएको छ । तिहारका बेला परेको वर्षाले वातावरणमा जम्मा भएका धुलोका कण पखाल्न सहयोग गरेको थियो । तर अहिले फेरि सुख्खा मौसम सुरु भएकाले प्रदूषण बढ्ने सम्भावना रहेको उनले बताए । वर्षा हुँदा हावामा रहेका धुलो तथा प्रदूषित कण जमिनमा झर्ने भएकाले केही समय वायु गुणस्तर सुधार हुने उनको भनाइ छ ।
उनका अनुसार काठमाडौंमा वायु प्रदूषणको मात्रा दिनभरि एकनासको हुँदैन । बिहान र साँझ प्रदूषण बढी हुने तथा दिउँसो घाम लागेपछि केही घट्ने गर्छ । दिउँसो पश्चिमतर्फबाट हावा चल्ने र त्यसले उपत्यकाको प्रदूषित हावा बाहिर लैजान सहयोग गर्ने भएकाले दिउँसो ३ बजेतिर तुलनात्मक रूपमा प्रदूषण कम हुने उनले बताए । साँझ पुनः हावाको बहाव कमजोर भएपछि प्रदूषण बढ्न थाल्ने उनको भनाइ छ ।
काठमाडौं उपत्यकामा इँटाभट्टा सञ्चालन नहुँदा अहिले प्रदूषण केही कम रहेको पनि तुलाधरले बताए । तर वर्षायाममा बन्द भएका इँटाभट्टा सञ्चालनमा आएपछि वायु प्रदूषण थप बढ्न सक्ने उनको चेतावनी छ । नेपालका तराई क्षेत्रसँगै भारत र पाकिस्तानका विभिन्न स्थानमा हुने आगलागीबाट निस्कने धुवाँले समेत काठमाडौँको वायु गुणस्तरमा असर पार्ने गरेको उनले बताए ।
प्रदूषणसँगै श्वासप्रश्वासका बिरामी बढ्ने जोखिम
चिसो मौसमसँगै वायु प्रदूषण बढ्दा त्यसको असर मानव स्वास्थ्यमा पनि देखिन थालेको छ । दम तथा श्वासप्रश्वाससम्बन्धी रोगका विशेषज्ञ डा. नवीनप्रकाश शाहका अनुसार हरेक वर्ष चिसो मौसम सुरु भएसँगै प्रदूषणका कारण स्वास्थ्य समस्या भएका बिरामी बढ्ने गरेका छन् ।
उनका अनुसार चिसोका कारण मानिस आगो ताप्न भेला हुने, बन्द कोठामा बस्ने तथा धुवाँको सम्पर्कमा आउने गर्दा श्वासप्रश्वाससम्बन्धी समस्या थप बल्झिन सक्छ । विशेषगरी दम र निमोनियाका बिरामीलाई यस्तो अवस्थामा बढी जोखिम हुने उनले बताए ।
चिसो मौसममा प्रदूषणको असरबाट बच्न अनावश्यक रूपमा घरबाहिर ननिस्किन, बाहिर जानैपरे मास्क प्रयोग गर्न र भिडभाड भएका स्थानबाट टाढा रहन उनले सुझाव दिएका छन् । दीर्घरोगीले यस मौसममा विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।
श्वासप्रश्वासमा समस्या देखिए स्वास्थ्य संस्थामा जाँच गराउन र आवश्यक उपचार लिन पनि उनले आग्रह गरेका छन् । विशेषगरी दम तथा निमोनियाका बिरामीले चिसो र प्रदूषित वातावरणमा थप सतर्कता अपनाउनुपर्ने उनले बताए ।
यसरी काठमाडौंको हिउँदे वायु प्रदूषणमा मौसमी अवस्था, उपत्यकाको भौगोलिक बनावट, स्थानीय गतिविधि र सीमापारिबाट आउने धुवाँसमेत जोडिने गरेका छन् । वर्षा र हावाको बहावले केही समय राहत दिए पनि चिसो मौसम लम्बिँदै जाँदा प्रदूषणको जोखिम पुनः बढ्ने देखिन्छ । त्यसैले प्रदूषण नियन्त्रणमा सरकारी पहलसँगै फोहोर जलाउने, खेतबारीका अवशेष डढाउने र खुला स्थानमा आगो बाल्ने गतिविधि न्यूनीकरण गर्नुपर्ने वातावरणविद्हरूको सुझाव छ ।






















