काठमाडौं– स्थानीय तहको निर्वाचन आगामी चैत ५ गते गर्ने गरी निर्वाचन आयोगले सरकारलाई मिति प्रस्ताव गरेको छ । राजनीतिक दलहरूसँगको परामर्श र आफ्नो तयारीका आधारमा आयोगले चैत ५ भित्र निर्वाचन सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको हो ।
आयोगका प्रवक्ता नारायण भट्टराईले चैत ५ गते निर्वाचन गराउन कुनै समस्या नरहेको जानकारी सरकारलाई गराइसकेको बताए । आयोगको जानकारीअनुसार सरकारले पनि निर्वाचनको मिति चाँडै घोषणा गर्ने तयारी गरेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जानुअघि नै स्थानीय तह निर्वाचनको मिति घोषणा हुने सम्भावना छ ।
निर्वाचनको मितिबारे प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच छलफल भइरहेको पनि सचिवालले जनाएको छ । लामिछाने काठमाडौं फर्किएपछि यस विषयमा अन्तिम निर्णय लिनेछ ।
गृहमन्त्री सुधन गुरुङले पनि आयोगसँग स्थानीय तह निर्वाचनको सम्भावित मितिबारे परामर्श गरिसकेका छन् । सरकारले मंसिरभित्रै मन्त्रिपरिषद्बाट निर्वाचनको मिति घोषणा गर्ने प्रक्रिया अघि बढाएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले पनि चैतभित्रै निर्वाचन गराउन आयोगलाई सुझाव दिएका छन् । राजनीतिक दल र आयोगको विश्लेषणअनुसार मौसम तथा भौगोलिक अवस्थालाई ध्यानमा राख्दा हिमाली जिल्लासहित देशभर चैत ५ गतेसम्म निर्वाचन सम्पन्न गर्न सकिनेछ ।
यसअघि २०७९ वैशाखमा स्थानीय तहको निर्वाचन भएको थियो । जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुअघि नयाँ निर्वाचन गराउनुपर्ने कानुनी व्यवस्थाअनुसार आयोगले चैत ५ लाई उपयुक्त मिति मानेको बताइन्छ । निर्वाचनको मिति घोषणाका लागि मन्त्रिपरिषद्को औपचारिक निर्णय हुन भने बाँकी छ । सरकारको सिफारिसपछि निर्वाचन आयोगले निर्वाचनको मिति तय गर्नेछ ।






















