images
images
  • बिचौलिया इनम पक्राउपछि पनि सिंहदरबारदेखि ज्वागलसम्म कसरी पुग्यो मोबाइल ?

    काठमाडौं– प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको बिचौलिया इनम सापकोटाको मोबाइल फोन थुनामा रहेकै बेला सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय, ललितपुरको ज्वागल र दरबारमार्ग क्षेत्रमा सक्रिय भएको फरेन्सिक रिपोर्टले देखाएको छ ।

    झापाका ३१ वर्षीय सापकोटालाई प्रहरीले असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

    त्यसपछि प्रहरीले मोबाइल नियन्त्रणमा लिएर अनुसन्धानका लागि फरेन्सिक परीक्षणमा पठाएको थियो ।

    तर, फरेन्सिक रिपोर्टअनुसार असोज १६ गते बिहान ९ बजेर १६ मिनेट ४५ सेकेन्डमा मोबाइल पहिलोपटक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय क्षेत्रमा सक्रिय भएको देखिन्छ ।

    त्यसपछि उक्त फोन ललितपुरको ज्वागलस्थित प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारको निवास नजिक पुगेको र दरबारमार्ग हुँदै पुनः ज्वागल फर्किएको रिपोर्टमा उल्लेख छ ।

    अनुसन्धानमा संलग्न स्रोतका अनुसार प्रहरी अधिकारीहरूले गृहमन्त्री सुधन गुरुङको निर्देशनमा उक्त मोबाइल प्रधानमन्त्री कार्यालय पुर्‍याएका थिए ।

    मोबाइल बुझाउँदा गृहमन्त्री गुरुङ र केही प्रहरी अधिकारी उपस्थित रहेको तथा प्रधानमन्त्रीका सचिवालय सदस्य असिम शाह पनि कार्यालयमा रहेको स्रोतको दाबी छ ।

    पछि असिम शाहले नै मोबाइल ब्यञ्जनकारको निवास पुर्‍याएको हुनसक्ने आशंका गरिएको छ ।

    यसैबीच, हिरासतमा रहेका सापकोटाबारे जानकारी लिन गृहमन्त्रीका सहयोगी जेम्स कार्की र प्रधानमन्त्री कार्यालयका आईटी शाखाका सहयोगी चिराग श्रेष्ठ प्रहरी परिसर पुगेको पनि स्रोतले जनाएको छ ।

    सापकोटाको मोबाइलमा उच्च सरकारी पदाधिकारीसँग भएका सम्पर्क र सन्देशसम्बन्धी प्रमाण मेटाउने उद्देश्यले फोन प्रहरी नियन्त्रणबाट बाहिर लगिएको हुनसक्ने आशंका प्रहरी अधिकारीहरूले गरेका छन् ।

    यद्यपि, यसबारे आधिकारिक पुष्टि भएको छैन ।

    प्रमाण लोप वा नष्ट गर्ने कार्यलाई मुलुकी अपराध संहिता, २०७४ ले कसुर मानेको छ ।

    दोषी ठहरिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।

    सापकोटालाई सुरुमा अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गरिएको थियो ।

    पछि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाइएको छ ।

    उनी हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

    सापकोटासँग सम्पर्कमा रहेका व्यक्तिहरूमध्ये नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

    अन्य व्यक्तिसँगको सम्बन्ध र मोबाइल फोन प्रहरी नियन्त्रणबाट बाहिर गएको घटनाबारे थप अनुसन्धान हुन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images