images
images
  • ट्रम्पको अलोकप्रियता एसियामा पनि, फिलिपिन्स पुग्दा विरोध प्रदर्शन

    २० वर्षीय प्रदर्शनकारी भन्छन्, ‘कृषकहरूलाई हेर्नुहोस् त, उनीहरूलाई एआईसँग के मतलब ?’

    काठमाडौं– राष्ट्रपति डोनाल्ड ट्रम्पको फिलिपिन्स भ्रमणको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन भएका छन् । अमेरिकी प्रशासनको सहयोगमा फिलिपिन्सको राजधानी मनिलाको उत्तरतर्फ कृत्रिम बौद्धिकता (एआई) र उत्पादन उद्योगको केन्द्र निर्माण गर्ने परियोजनाप्रति स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका छन् ।

    उच्च प्रविधिमा आधारित उत्पादनका लागि चीनबाहेकका आपूर्ति शृङ्खला सुरक्षित गर्ने उद्देश्यले अमेरिकी विदेश मन्त्रालयको नेतृत्वमा अघि बढाइएको अन्तर्राष्ट्रिय पहल ‘प्याक्स सिलिका’ अन्तर्गत फिलिपिन्समा ४ हजार एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको औद्योगिक केन्द्र निर्माण गर्ने योजना छ।

    सोमबार मनिलामा प्रदर्शनकारीहरूले ‘ट्रम्प बाहिर जाऊ’ लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले ट्रम्पलाई जोकर र राक्षसका रूपमा चित्रण गरेका तस्बिरसमेत प्रदर्शन गरेका थिए। साथै ‘प्याक्स सिलिका’ पहल अस्वीकार गर्न सर्वसाधारणलाई आह्वान गरेका थिए।

    आलोचकहरूका अनुसार प्रस्तावित औद्योगिक केन्द्र निर्माण हुँदा कृषक समुदाय र आदिवासी एता समुदाय विस्थापित हुनेछन्। यसले देशको जलस्रोतमा नकारात्मक असर पार्नुका साथै फिलिपिन्समाथि अमेरिकी साम्राज्यवादी प्रभाव विस्तार गर्ने उनीहरूको आरोप छ।

    यता समुदायको अधिकारका लागि काम गर्दै आएकी शिक्षिका मनिनिङ भिलोगले भनिन्, ‘उनीहरूले हाम्रो जमिन कब्जा गरिरहेका छन्। हाम्रो अर्थतन्त्र कब्जा गरिरहेका छन्। …प्याक्स सिलिका अमेरिकाका लागि मात्रै हो। यो हाम्रा लागि होइन।’

    २० वर्षीय प्रदर्शनकारी काइजर कोर्टिनाले भने, ‘कृषकहरूलाई हेर्नुहोस् त, उनीहरूलाई एआईसँग के मतलब ? पानी बेच्ने मानिसहरू, चुरोट बेच्नेहरू र बस चलाउनेहरूलाई एआईसँग के सरोकार ?’

    anti trump protests philipinces 1

    यसै साता प्रदर्शनको निशानामा परेका फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर भने उक्त औद्योगिक केन्द्र निर्माण योजनाको समर्थक हुन्।

    फिलिपस्टार ग्लोबलका अनुसार मार्कोसले अक्टोबरमा यस परियोजनाबाट प्राप्त हुने आर्थिक लाभप्रति आफू ‘अत्यन्तै उत्साहित’ रहेको बताएका थिए। उनले यसलाई उन्नत उत्पादन र अनुसन्धान क्षेत्रमा प्रवेश गर्दै देशलाई उत्पादनको ‘मूल्य शृङ्खला’मा माथिल्लो स्थानमा पुर्‍याउने ‘ठुलो अवसर’ का रूपमा व्याख्या गरेका थिए।

    मार्कोस प्रशासनले यस परियोजनाबाट एक लाखदेखि एक लाख ३० हजारसम्म रोजगारी सिर्जना हुन सक्ने दाबी गरेको छ।

    सन् २०२५ को डिसेम्बरमा अमेरिकी विदेश मन्त्रालयले घोषणा गरेयता बेलायत, इजरायल, जापान र भारतसहित २५ भन्दा बढी देश प्याक्स सिलिका पहलमा सहभागी भइसकेका छन्। फिलिपिन्स गत अप्रिलमा यस पहलमा सामेल भएको थियो। त्यसपछि अमेरिका र फिलिपिन्सले उत्पादन केन्द्र निर्माण गर्ने योजना सार्वजनिक गरेका थिए।

    अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले उक्त औद्योगिक केन्द्र निर्माणका लागि स्थान फिलिपिन्सले नै प्रस्ताव गरेको बताएका छन्। आफ्नै कानुन र समय तालिकाअनुसार परियोजना अघि बढाउने वा नबढाउने तथा कसरी अघि बढाउने भन्ने निर्णय गर्ने अधिकार पनि फिलिपिन्सकै भएको उनले बताए।

    उनले फिलिपिन्समा दक्ष जनशक्तिका लागि उत्पादनमूलक रोजगारी सिर्जना गर्ने र दुवै देशका लागि अझ विश्वसनीय आपूर्ति शृङ्खला निर्माण गर्ने निर्धारित लक्ष्यप्रति अमेरिका प्रतिबद्ध रहेको पनि बताए।

    एआई सञ्चालनका लागि आवश्यक हार्डवेयरको आपूर्ति शृङ्खलाबारे अमेरिकाले वर्षौंदेखि चिन्ता व्यक्त गर्दै आएको छ। विशेषगरी उन्नत प्रविधिका चिप्समा चीनको पहुँच पुग्न सक्ने विषयलाई लिएर अमेरिकाले चासो देखाउँदै आएको छ।

    हालैका सातामा एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङसँग सम्बन्धित एक खुलासापछि यो विषयले थप चर्चा पाएको छ।

    trump philipinces e1794988733608

    ह्वाङको एक व्यवसायी महिलासँग प्रेम सम्बन्ध रहेको र ती महिला चिनियाँ गुप्तचर निकायसँग सम्बन्धित हुन सक्ने आशङ्का गरिएको छ। चिप्स तस्करीको अनुसन्धानमा रहेको उनको कम्पनीसँग पनि ह्वाङको सम्बन्ध रहेको विषय सार्वजनिक भएको थियो। यद्यपि उक्त कम्पनीले चिप्स तस्करी गरेको आरोप अस्वीकार गरेको छ।

    आइतबार प्याक्स सिलिकामा सहभागी देशहरूले एउटा घोषणापत्रमा हस्ताक्षर गरेका छन्। उक्त घोषणापत्रमा कृत्रिम बौद्धिकताको आपूर्ति शृङ्खलालाई आधार प्रदान गर्ने संवेदनशील प्रविधि र महत्त्वपूर्ण पूर्वाधारबारे साझा समझदारी प्रस्तुत गरिएको छ।

    अमेरिकी राष्ट्रपति ट्रम्पको यस साताको फिलिपिन्स भ्रमणका क्रममा प्याक्स सिलिकासम्बन्धी कुनै ठुलो घोषणा हुने अपेक्षा नरहेको अमेरिकी र फिलिपिन्सका अधिकारीहरूले बताएका छन्।

    आसियान शिखर सम्मेलनमा सहभागी हुन मनिला पुगेका ट्रम्पले बुधबार राष्ट्रपति मार्कोससँग भेट गर्ने अपेक्षा गरिएको छ। त्यसपछि उनी चीन प्रस्थान गर्ने कार्यक्रम छ।

    सीबीएस न्युजले यस विषयमा प्रतिक्रिया लिन अमेरिकी विदेश मन्त्रालयसँग सम्पर्क गरेको जनाएको छ।

    फिलिपिन्सको प्रतिनिधिसभाका सदस्य एन्टोनियो टिनियोले प्याक्स सिलिकाबारे देशको संसद्मा कुनै विशेष मतदानको योजना नरहेको बताए। उनले उक्त औद्योगिक केन्द्र निर्माण सुरु हुने र सफल हुने विषय अझै ‘निश्चित नरहेको’ दाबी गरे।

    उनका अनुसार मनिलामा प्रस्तावित औद्योगिक केन्द्रको विरोध अमेरिकामा एआई डाटा सेन्टर निर्माणविरुद्ध देखिएको विरोधसँग मिल्दोजुल्दो छ।

    टिनियोले भने, ‘एआई डाटा सेन्टरको विरोध विश्वव्यापी छ। …तपाईँहरूको निर्वाचनमा पनि यो एउटा प्रमुख मुद्दा थियो। यो निकै ठुलो मुद्दा हो। मलेसिया र इन्डोनेसियासहित दक्षिण पूर्वी एसियाका विभिन्न देशमा यसको व्यापक विरोध भइरहेको छ। फिलिपिन्समा पनि त्यस्तै अवस्था छ।’

    –एजेन्सी/मनिला

    प्रतिक्रिया दिनुहोस्
    images
    images