images
images
  • काठमाडौंलाई चौबिसै घण्टा खुला गर्ने तयारी

    काठमाडौं – सङ्घीय राजधानी काठमाडौँलाई चौबिसै घण्टा खुला गर्ने योजनासहित जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी अघि बढाएको छ । काठमाडौँलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री बनाउँदै रातदिन सञ्चालन गर्न सकिने वातावरण निर्माणका लागि तयारी भइरहेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सूचना जारी गर्दै राजधानीलाई चौबिसै घण्टा सञ्चालन गर्न आवश्यक सुरक्षा तथा पूर्वाधार व्यवस्थापनको काम अगाडि बढाइएको जानकारी दिएका छन् ।

    उनका अनुसार काठमाडौंजस्ता महत्वपूर्ण सहरलाई २४ घण्टा खुला राख्न जिल्लाभरि भरपर्दो सुरक्षा व्यवस्था आवश्यक छ । त्यसका लागि सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी र सडक बत्तीलगायत न्यूनतम पूर्वाधार व्यवस्थित गर्ने काम भइरहेको छ ।

    यसअघि काठमाडौका प्रमुख पर्यटकीय तथा व्यापारिक क्षेत्र ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्ने व्यवस्था गरिएको थियो । विसं २०८१ वैशाख १ गते तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा ती क्षेत्रलाई २४ घण्टा खुला गरिएको थियो ।

    जिल्ला प्रशासन कार्यालयका अनुसार राजधानीलाई चौबिसै घण्टा सञ्चालन गर्ने अभियानलाई रणनीतिक रूपमा अघि बढाइएको छ । यसका लागि यातायात, व्यापार–व्यवसाय, स्वास्थ्य सेवा, आपूर्ति व्यवस्था र सुरक्षाको भरपर्दो प्रबन्ध मिलाउने तयारी भइरहेको छ ।

    काठमाडौं जिल्लाभित्रका व्यापार, व्यवसाय तथा बजार क्षेत्रलाई समेत रातदिन सञ्चालन गर्ने विषयमा स्थानीय तह, सम्बन्धित सरकारी निकाय, यातायात व्यवसायी र निजी क्षेत्रसँग समन्वय तथा छलफल गरिने जनाइएको छ । योजनाअनुसार आवश्यक सुरक्षा र सेवा सुविधाको व्यवस्थापन हुन सके राजधानीको आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार हुनुका साथै पर्यटन र रोजगारीका अवसरसमेत बढ्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images