images
images
  • राष्ट्रसङ्घ महासचिवको प्रतिस्पर्धामा उत्रिए आईएईए प्रमुख राफेल ग्रोसी

    काठमाडौं– अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का प्रमुख राफेल ग्रोसी संयुक्त राष्ट्रसङ्घको महासचिवको प्रतिस्पर्धामा उत्रिएका छन्। एन्टोनियो गुटेरेसको स्थानमा नयाँ महासचिव चयन गर्ने प्रतिस्पर्धा तीव्र भइरहेका बेला उनले उक्त पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन्।

    अर्जेन्टिनाका उम्मेदवार ग्रोसी संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् (यूएनएससी) को पछिल्लो अनौपचारिक मतदानमा कोस्टारिकाकी रेबेका ग्रिन्सपानपछि दोस्रो स्थानमा रहेका छन्। आठ जना उम्मेदवार प्रतिस्पर्धामा रहँदा ग्रोसीले नौ मत ‘प्रोत्साहन’ र चार मत ‘निरुत्साहन’ पाएका छन्।

    ६५ वर्षीय ग्रोसीले आईएईएको नेतृत्व गर्दा प्रशंसा र आलोचना दुवै सामना गरेका छन्। युद्धग्रस्त क्षेत्रमा संकट कूटनीतिमा प्रत्यक्ष संलग्न हुने उनको सक्रिय कार्यशैलीले उनलाई चर्चित बनाएको छ। विशेषगरी इरानले उनीमाथि पक्षपात गरेको आरोप लगाउँदै आएको छ।

    उनले संयुक्त राष्ट्रसङ्घमा सुधार गर्ने एजेन्डासहित महासचिव पदका लागि उम्मेदवारी दिएका छन्। उनको सुधारको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका राजनीतिक सहयोगी अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईको प्राथमिकतासँग मेल खाने खालको देखिन्छ।

    तर सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्रमध्ये चीन र रुसले वासिङ्टनसँग निकट सम्बन्ध भएका उम्मेदवारलाई समर्थन गर्ने सम्भावना कम रहेको विश्लेषकहरूको भनाइ छ।

    अर्कोतर्फ संयुक्त राष्ट्रसङ्घको ८१ वर्षे इतिहासमा पहिलो महिला महासचिव चयन गर्न विश्वव्यापी नागरिक समाज अभियानले आफ्नो दबाब बढाइरहेको छ।

    आईएईएलाई रूपान्तरण गर्ने ग्रोसी

    आईएईएको नेतृत्वमा ग्रोसीले छाडेको प्रभाव र अर्जेन्टिनाका कूटनीतिज्ञका रूपमा बिताएको दशकौँ लामो करिअरले उनलाई व्यावहारिक संकट व्यवस्थापकका रूपमा स्थापित गरेको छ। सन् २०१९ मा संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकाय आईएईएको महानिर्देशक नियुक्त भएदेखि नै ग्रोसी अन्तर्राष्ट्रिय तनावका विभिन्न घटनामा अग्र पङ्क्तिमा देखिँदै आएका छन्।

    सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण स्तरको आक्रमण सुरु गरेपछि उनी आफैँ निरीक्षण टोलीको नेतृत्व गर्दै युक्रेनका जापोरिजिया र चेर्नोबिल आणविक ऊर्जा केन्द्र पुगेका थिए।

    बेल्जियमस्थित केयू लुभेन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय सङ्गठनका प्राध्यापक जान वाउटर्सका अनुसार ग्रोसीले ‘प्राविधिक निगरानी गर्ने निकायलाई अत्यन्तै दृश्यमान, सक्रिय र कूटनीतिक भूमिकामा रूपान्तरण गरेका छन्।’

    वाउटर्सले अलजजिरासँग भने, ‘निरन्तर कूटनीतिक दौडधुप र विश्व नेताहरूसँग प्रत्यक्ष संवादमार्फत उनले एजेन्सीको विश्वव्यापी प्रभाव उल्लेखनीय रूपमा बढाएका छन्।’

    उनका अनुसार युक्रेनमा क्षेत्रीय सार्वभौमिकताभन्दा प्राविधिक सुरक्षालाई प्राथमिकता दिँदै ग्रोसीले युद्धका क्रममा आणविक केन्द्रमा आवश्यक मर्मत सम्भार गर्न रुस र युक्रेनबीच आठ वटा स्थानीय युद्ध विराम गराउन सफल भएका थिए।

    तर स्पेनको बार्सिलोनास्थित पोम्पेउ फाब्रा विश्वविद्यालयको कानुन सङ्कायका सहायक प्राध्यापक इजेक्विएल जिमेनेज मार्टिनेजले ग्रोसीको अत्यधिक सक्रिय भूमिकाले भिटो अधिकार भएको रुसलाई आक्रोशित बनाएको बताए । रुसले एजेन्सी प्रमुखका रूपमा ग्रोसीले आफ्नो अधिकार क्षेत्र नाघेको ठान्ने गरेको उनको भनाइ छ।

    संयुक्त राष्ट्रसङ्घको महासचिव निर्वाचित हुन १५ सदस्यीय सुरक्षा परिषद्मा कम्तीमा नौ सदस्यको समर्थन आवश्यक हुन्छ। साथै पाँच स्थायी सदस्य राष्ट्र अमेरिका, बेलायत, चीन, फ्रान्स र रुसमध्ये कुनै पनि देशले भिटो लगाउन हुँदैन। त्यसपछि संयुक्त राष्ट्रसङ्घको १९३ सदस्यीय महासभाले अन्तिम निर्णयलाई अनुमोदन गर्नुपर्छ।

    गुटेरेसले डिसेम्बर ३१ मा पद छाड्नुपर्ने भएकाले महासचिव चयनको प्रतिस्पर्धा निर्णायक चरणमा पुगेको छ। पाँच स्थायी सदस्य राष्ट्रमध्ये कुनैले पनि सार्वजनिक रूपमा आफ्नो उम्मेदवारको नाम घोषणा गरेका छैनन्। तर साउथ चाइना मर्निङ पोस्टका अनुसार बेइजिङले वासिङ्टनसँग अत्यधिक निकट रहेको भन्दै ग्रोसीलाई समर्थन नगर्ने निर्णय गरेको छ र त्यसको सट्टा ग्रिन्सपानलाई समर्थन गर्नेछ।

    इरान सुरक्षा परिषद्को सदस्य नभए पनि उसले ग्रोसीलाई संयुक्त राष्ट्रसङ्घको महासचिव बनाउन नहुने भन्दै खुलेर विरोध गर्दै आएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले यसै महिना आईएईएमाथि अमेरिका र युरोपेली देशहरूको अत्यधिक प्रभावमा परेको आरोप लगाएका थिए। उनले इरानको शान्तिपूर्ण आणविक कार्यक्रमबारे एजेन्सीको प्रतिवेदनलाई ‘एकपक्षीय र पक्षपातपूर्ण’ भनेका थिए।

    आईएईएका अनुसार सन् २०२५ को जुनमा इजरायल र अमेरिकाले इरानका आणविक केन्द्रमा आक्रमण गर्नुअघि इरानसँग ६० प्रतिशतसम्म प्रशोधित ४४०।९ किलोग्राम (९७२ पाउन्ड) युरेनियम थियो।

    आणविक हतियार बनाउन प्रयोग गर्न मिल्ने स्तरको युरेनियम उत्पादन गर्न ९० प्रतिशतसम्म प्रशोधन आवश्यक हुन्छ। यद्यपि ६० प्रतिशतसम्म प्रशोधन भइसकेपछि थप प्रशोधन प्रक्रिया तुलनात्मक रूपमा छिटो हुन्छ। आईएईएका अनुसार इरानसँग रहेको युरेनियमलाई थप प्रशोधन गर्ने हो भने १० वटा आणविक हतियार बनाउन पुग्ने मात्रा हुन सक्छ।

    जिमेनेज मार्टिनेजका अनुसार ग्रोसीले यस्तो आलोचना सहन सक्ने सम्भावना छ, किनभने आईएईएको बोर्ड अफ गभर्नर्सका अधिकांश सदस्य इरानसम्बन्धी उनको दृष्टिकोणसँग सहमत छन्।

    उनले भने, ‘संयुक्त राष्ट्रसङ्घको सन्दर्भमा यस विषयले केही विवाद र आरोप–प्रत्यारोप निम्त्याउन सक्छ, तर मलाई लाग्दैन कि यसले धेरै मत परिवर्तन गराउनेछ।’

    ट्रम्प र मिलेईका प्रतिनिधि ?

    ग्रोसीको प्राविधिक क्षमता मात्रैका आधारमा उनी महासचिवको प्रतिस्पर्धामा अरूभन्दा धेरै अगाडि रहने सम्भावना नरहेको विश्लेषकहरूको भनाइ छ। महासचिव पदका उम्मेदवारले संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारसम्बन्धी दस्तावेजहरूको रक्षाका लागि प्रतिबद्ध रहेको देखाउन पनि आवश्यक हुन्छ।

    यस दृष्टिकोणले अर्जेन्टिनाका राष्ट्रपति मिलेईको समर्थनलाई ग्रोसीका लागि प्रमुख कमजोरीका रूपमा हेरिएको छ। मिलेईले अन्तर्राष्ट्रिय संस्थाहरूलाई राष्ट्रिय सार्वभौमिकता र व्यक्तिगत स्वतन्त्रताका लागि खतरा भन्दै आएका छन्। उनले संयुक्त राष्ट्रसङ्घलाई नै ‘निरर्थक’ र यसका कूटनीतिज्ञहरूलाई ‘घातक रूपमा अहङ्कारी परजीवी’ को संज्ञा दिएका छन्।

    सन् २०२३ मा राष्ट्रपति निर्वाचित भएयता मिलेईले बेलायतसँग फकल्यान्ड टापुका विषयमा लामो समयदेखि जारी विवादलाई पुनः चर्काएका छन्। बेलायतको प्रशासनमा रहेको उक्त टापुमा अर्जेन्टिनाले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ। अर्जेन्टिनाले उक्त क्षेत्रलाई लास माल्भिनास भन्ने गरेको छ।

    मिलेईले संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूसमक्ष सम्बोधन गर्दै आत्मनिर्णयको सिद्धान्त उक्त टापुका बासिन्दामा लागू हुन नहुने बताएका छन्।

    ट्रम्प प्रशासन पनि संयुक्त राष्ट्रसङ्घको कडा आलोचक रहँदै आएको छ। उसले वासिङ्टनलाई संयुक्त राष्ट्रसङ्घका महत्त्वपूर्ण निकायहरूबाट अलग गरेको छ, संस्थालाई दिइने आर्थिक सहयोगमा ठुलो कटौती गरेको छ र फेब्रुअरीमा इरानविरुद्ध युद्ध सुरु गर्दा संयुक्त राष्ट्रसङ्घलाई बेवास्ता गरेको छ।

    जिमेनेज मार्टिनेजका अनुसार ग्रोसीलाई मिलेई र ट्रम्प दुवैसँग निकट सम्बन्ध भएका तथा उनीहरूको विदेश नीतिसँग मेल खाने संयुक्त राष्ट्रसङ्घको एजेन्डा अघि बढाउन सक्ने व्यक्तिका रूपमा हेरिएको छ।

    उनले भने, ‘व्यवहारमा यसको अर्थ संयुक्त राष्ट्रसङ्घको संरचना खुम्च्याउनु हुनेछ।’

    यसअन्तर्गत विभिन्न निकायलाई एक आपसमा गाभ्ने र विकासको सट्टा सुरक्षा विषयलाई केन्द्रमा राखेर सङ्गठनलाई पुनः व्यवस्थित गर्ने काम हुन सक्ने उनको भनाइ छ।

    ग्रोसीले विश्व नेताहरूलाई संयुक्त राष्ट्रसङ्घमा सुधार गर्न र संस्थालाई नयाँ युगमा प्रवेश गराउन ‘साहस’ देखाउन आह्वान गर्दै आएका छन्।

    तर जिमेनेज मार्टिनेजका अनुसार उनले प्रशासनिक झन्झट घटाउने कुरामा जोड दिए पनि त्यस क्रममा आवश्यक सुरक्षा उपाय र नियन्त्रण प्रणालीबारे स्पष्ट व्याख्या नगरेकाले संयुक्त राष्ट्रसङ्घको महासभाबाट स्वीकृति पाउन कठिन हुन सक्छ।

    लन्डनस्थित एसओएएस विश्वविद्यालयकी कूटनीतिक अध्ययनकी वरिष्ठ प्राध्यापक अल्भिना होफम्यानले ग्रोसीलाई व्यापक रूपमा ‘असमानताका संरचनात्मक कारण सम्बोधन गर्नुभन्दा प्रणाली सुधार र दोहोरिएका जिम्मेवारी हटाउनमा केन्द्रित’ उम्मेदवारका रूपमा हेरिने बताइन्।

    उनका अनुसार ग्रोसी सार्वजनिक घोषणा वा निन्दात्मक वक्तव्य जारी गर्नुभन्दा व्यक्तिगत नेतृत्व, गोप्य वार्ता र द्वन्द्व रोक्न गरिने कूटनीतिमा बढी जोड दिन्छन्।
    होफम्यानले भनिन्, ‘यसले अन्तर्राष्ट्रिय कानुनमाथि नै बढ्दो आक्रमण भइरहेका बेला त्यसको उल्लङ्घन गर्ने पक्षलाई सार्वजनिक रूपमा जबाफदेही बनाउन सक्ने क्षमतामा असर पार्न सक्छ।’

    महिला नेतृत्वको समय आएको हो ?

    भौगोलिक क्षेत्रअनुसार आलोपालो नेतृत्व चयन गर्ने परम्पराअनुसार अब संयुक्त राष्ट्रसङ्घको महासचिव पद ल्याटिन अमेरिकी क्षेत्रले पाउनुपर्ने देखिन्छ। यस पटक पाँच जना महिला उम्मेदवार प्रतिस्पर्धामा छन्। संयुक्त राष्ट्रसङ्घको इतिहासमा पहिलो महिला महासचिव चयन गर्न सार्वजनिक क्षेत्र र नागरिक समाजबाट अहिलेसम्मकै उच्च दबाब सिर्जना भएको छ। ग्रिन्सपानले यी दुवै मापदण्ड पूरा गर्छिन्।

    संयुक्त राष्ट्रसङ्घको पहिलो महिला महासचिव चयन गर्न अभियान चलाइरहेको नागरिक समाजको अभियान ‘वान फर एट बिलियन’ का सल्लाहकार बेन डोनाल्डसनका अनुसार अर्को महासचिवको चयन योग्यताका आधारमा हुनुपर्छ। तर त्यसको अर्थ लैङ्गिक पक्षलाई ध्यान दिनु हुँदैन भन्ने होइन।

    डोनाल्डसनले अल जजिरासँग भने, ‘संयुक्त राष्ट्रसङ्घ महासभाका प्रस्ताव र अन्तर्राष्ट्रिय मापदण्डहरूले संयुक्त राष्ट्रसङ्घको उच्च नेतृत्व तहमा लैङ्गिक सन्तुलन कायम गर्न उचित ध्यान दिनुपर्ने पुष्टि गरेका छन्।’

    उनले थपे, ‘यी सिद्धान्त लागू गर्दा सदस्य राष्ट्रहरूले उम्मेदवारहरूको व्यक्तिगत क्षमता र अनुभव मात्रै होइन, उनीहरूको व्यक्तिगत विशेषता र व्यावसायिक यात्राले अन्तर्राष्ट्रिय समुदायको विविधता प्रतिबिम्बित गर्ने नेतृत्व निर्माणमा कसरी योगदान पुर्‍याउँछ भन्ने कुरा पनि मूल्याङ्कन गर्नुपर्छ।’

    ‘संयुक्त राष्ट्रसङ्घ स्थापना भएको ८० वर्ष भइसक्दा पनि अहिलेसम्म कुनै महिलालाई महासचिव नियुक्त गरिएको छैन’, उनले भने, ‘यो निरन्तरको असन्तुलन सङ्गठन आफैँले प्रतिबद्धता जनाएका समानता, समावेशिता र विभेदरहित व्यवहारका सिद्धान्तसँग मेल खाँदैन।’

    -एजेन्सी/जुरिच

    प्रतिक्रिया दिनुहोस्
    images
    images