काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आगामी आइतबार भारतको राजकीय भ्रमणमा प्रस्थान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परम्परागत गार्ड अफ अनर नलिने र औपचारिक बिदाइ समारोह नगर्ने भएका छन्।
नेपाली सेनाले भारतको राजकीय भ्रमणमा जाँदा गार्ड अफ अनर ग्रहण गर्न आग्रह गरे पनि बिहीबार साँझसम्म प्रधानमन्त्री शाहले कुनै सहमति दिएका छैनन् र सरकारले विमानस्थलमा औपचारिक समारोह आयोजना गर्ने तयारी पनि नगरेको बताइएको छ।
बताइएअनुसार बिहीबार साँझसम्म मन्त्री, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारी तथा कूटनीतिक नियोगका प्रतिनिधिलाई भारतको राजकीय भ्रमणमा प्रधानमन्त्रीलाई बिदाइ गर्न विमानस्थलमा सहभागी हुन कुनै जानकारी दिइएको छैन।
यसअघि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन सेप्टेम्बरमा अमेरिका जाँदा पनि परम्परागत बिदाइ समारोह अस्वीकार गरेका थिए।
त्यतिबेला विमानस्थलमा नेपाली सेनाको गार्ड अफ अनर पनि दिइएको थिएन। रातो कार्पेट नबिछ्याइकनै उनी अमेरिका गएका थिए भने मन्त्री, उच्च सरकारी अधिकारी र विदेशी कूटनीतिज्ञहरूलाई समेत बिदाइका लागि बोलाइएको थिएन।
त्यसबेला प्रधानमन्त्रीको सवारी सीधै विमान पार्किङ गरिएको स्थानसम्म पुगेको थियो र उनी सामान्य प्रक्रियाबाटै विमानमा चढेका थिए। यसपटक भारतको राजकीय भ्रमणमा जाँदासमेत त्यही शैली अपनाउने सम्भावना रहेको देखिएको छ।
प्रधानमन्त्रीको सचिवालयमा दुईथरी मत
भारत भ्रमणका क्रममा परम्परागत कूटनीतिक प्रोटोकल पालना गर्ने कि नगर्ने भन्ने विषयमा प्रधानमन्त्रीको सचिवालय र निकटवर्ती अधिकारीहरूबीच मतभिन्नता देखिएको समाचार छ।
एकथरी अधिकारीहरूले भारतको राजकीय भ्रमण भएकाले स्थापित कूटनीतिक परम्परा र मर्यादा पालना गर्नुपर्ने सुझाव दिएका छन्। अर्काथरीले भने अमेरिकाको भ्रमणमा समेत औपचारिक बिदाइ नगरिएको अवस्थामा यसपटक पनि त्यस्तो कार्यक्रम आवश्यक नरहेको धारणा राखेका छन्।
एक वरिष्ठ सुरक्षा अधिकारीलाई उद्धृत गर्दै द काठमाडौं पोस्टले आइतबार प्रधानमन्त्री प्रस्थान गर्नुअघि विमानस्थलको भीआईपी कक्षमा सामान्य कार्यक्रम हुन सक्ने भए पनि औपचारिक समारोहको निर्णय नभएको जनाएको छ।
हालको तयारीअनुसार प्रधानमन्त्री शाहको सवारी विमानस्थलको रनवेसम्म पुग्ने र त्यहाँबाट उनी नेपाल वायुसेवा निगमको विमानमा चढ्ने कार्यक्रम छ।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका सल्लाहकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी तथा सुरक्षा टोली सहभागी हुनेछन्।
प्रधानमन्त्री बालेन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाँदैछन्। भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, आर्थिक सहयोग, अन्तर्राष्ट्रिय हवाई प्रवेशमार्ग, ऊर्जा, व्यापार तथा विकास परियोजनाबारे छलफल हुने कार्यसूची छ।
नेपालले लामो समयदेखि माग गर्दै आएको महेन्द्रनगर र भैरहवा हुँदै अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
नेपालमा गार्ड अफ अनर नलिने सम्भावना भए पनि भारतमा भने राष्ट्रपति भवनमा औपचारिक गार्ड अफ अनरको कार्यक्रम हुने प्रस्तावित कार्यसूचीमा छ।





















