images
images
  • ‘बिग थ्री’ वार्ता फलदायी भएको सीको टिप्पणी, अर्को महिना फेरि भेट्दैछन् तीन नेता ?

    काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको त्रिपक्षीय भेटवार्ता ‘सकारात्मक, रचनात्मक र फलदायी’ रहेको बताएका छन् ।

    चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार भेटवार्तापछि सीले तीनवटै देशले विश्व शान्तिको संरक्षण गर्ने विषयमा समान दृष्टिकोण राख्ने बताएका हुन्।

    यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय सुरक्षा धेरै हदसम्म रुस, चीन र अमेरिकामा निर्भर रहेको बताएका छन्।

    रुसको समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार पुटिनले तीन देशबीचको त्रिपक्षीय शिखर बैठकलाई कूटनीतिक इतिहासको एउटा महत्त्वपूर्ण अध्यायका रूपमा व्याख्या गरेका छन्।

    उनले अमेरिकासँगको सम्बन्धका केही पक्षलाई अझ प्रभावकारी बनाउने चाहना पनि व्यक्त गरेका छन्।

    रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार पुटिनले केही निर्णय अन्य ढाँचाका वार्ताबाट पनि गरिने बताएका छन्।

    उनले पूर्ण रूपमा कार्यान्वयन नभए पनि सम्झौता हुनु कुनै सम्झौता नै नहुनुभन्दा राम्रो हुने धारणा व्यक्त गरेका छन्।

    अर्को महिना फेरि होला भेटवार्ता ?

    चीन, अमेरिका र रुसका राष्ट्रपतिहरूबीच भएको अभूतपूर्व त्रिपक्षीय बैठक सकिएसँगै उनीहरूबीच अर्को महिना फेरि भेटवार्ता हुन सक्ने सम्भावनाबारे चर्चा भएको छ।

    अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी डिसेम्बरमा फ्लोरिडाको मियामीमा जी–२० शिखर सम्मेलन आयोजना गर्दैछन्। उक्त सम्मेलनमा चिनियाँ राष्ट्रपति सी सहभागी हुने लगभग निश्चित भएको अलजजिराले उल्लेख गरेको छ।

    रुस पनि जी–२० को सदस्य राष्ट्र हो। तर युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले पक्राउ पुर्जी जारी गरेपछि पुटिन पछिल्ला केही जी–२० शिखर सम्मेलनमा सहभागी भएका छैनन्।

    युरोपेली सदस्य राष्ट्रहरूले पनि पुटिनसँग एउटै बैठकमा सहभागी हुन अनिच्छा देखाउँदै आएका छन्। तर यसपटक अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनलाई मियामीमा हुने जी–२० सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिएका छन्।

    अमेरिका आईसीसीको सदस्य नभएकाले पुटिनलाई पक्राउ गर्नुपर्ने कानुनी बाध्यता अमेरिकामाथि छैन। यस परिस्थितिले आगामी जी–२० सम्मेलनमा ट्रम्प, सी र पुटिनबीच पुनः भेट हुने सम्भावना बढाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images