काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणअन्तर्गत बिहीबार भएको खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रनको योगफल तयार गरेको हो।
चितवनका लागि डविड मलानले अविजित रहेर सर्वाधिक ७१ रन बनाए। उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गरेका छन्।
त्यस्तै सलाउद्दिनले १८, कमल सिंह ऐरी १०, देव खनालले ६, कमिल मिसाराले ४, विवेक यादवले ३, उसामा मिरले २ रन, कप्तान रवि बोपारा र कुशल मल्लले समान ११ रनको योगदान दिए।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलाइनले ३ विकेट लिए। त्यस्तै थरिन्दु रत्नायकेले २, हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान एकएक विकेट झारे।
यो खेलको विजेताले शनिबार लुम्बिनी लायन्सविरुद्ध फाइनल खेल्नेछ।





















