काठमाडौं– केन्याकी वर्तमान विश्व च्याम्पियन तथा पूर्वओलम्पिक म्याराथन विजेता पेरेस जेपचिरचिर प्रतिबन्धित औषधि ईपीओ सेवन गरेको पुष्टि भएपछि तीन वर्षका लागि निलम्बनमा परेकी छन्। एथलेटिक्स इन्टिग्रिटी युनिट (एआईयू) ले यसको जानकारी दिएको हो।
एआईयूले बिहीबार जारी गरेको विज्ञप्तिमा जेपचिरचिरले प्रतिबन्धित पदार्थ वा त्यसको मेटाबोलाइट्स शरीरमा भेटिएको तथा प्रतिबन्धित पदार्थ वा प्रतिबन्धित विधि प्रयोग गरेको वा प्रयोग गर्ने प्रयास गरेकोसम्बन्धी एन्टी-डोपिङ नियम उल्लंघन गरेको स्वीकार गरेको जनाएको छ।
मेयो क्लिनिकका अनुसार ईपीओ (इरिथ्रोपोइटिन) प्राकृतिक रूपमा मुख्यतः मिर्गौलाले उत्पादन गर्ने हर्मोनको कृत्रिम रूप हो। प्रयोगशालामा तयार गरिने यो हर्मोनले हड्डीलाई थप रातो रक्त कोष उत्पादन गर्न सङ्केत गर्छ।
खेलाडीहरूले मांसपेशीमा अक्सिजन पुर्याउने क्षमता बढाउन र सहन शक्ति सुधार गर्न कृत्रिम ईपीओलाई प्रदर्शन क्षमता बढाउने औषधिका रूपमा दुरुपयोग गर्ने गर्छन्। ट्र्याक एन्ड फिल्ड खेलाडीहरूमा हुने डोपिङसम्बन्धी गतिविधिको अनुसन्धान गर्ने विश्व एथलेटिक्सको निकाय एआईयूले गत महिना जेपचिरचिरलाई अस्थायी रूपमा निलम्बन गरेको थियो।
अगस्टको अन्त्यमा भएको सिड्नी म्याराथन जित्नुअघि केन्यामा प्रतियोगिता बाहिर सङ्कलन गरिएको उनको नमुनामा ईपीओको उपस्थिति देखिएपछि एआईयूले यस्तो निर्णय गरेको थियो।
जेपचिरचिरले जुलाई १७ यताका आफ्ना सबै प्रतिस्पर्धात्मक नतिजा खारेज गर्ने निर्णय स्वीकार गरेकी छन्। ३३ वर्षीया जेपचिरचिरले सन् २०२१ मा टोकियो ओलम्पिकमा महिला म्याराथनतर्फ स्वर्ण पदक जितेकी थिइन्।
उनले गत वर्ष विश्व च्याम्पियनसिपको उपाधिसमेत जितेकी थिइन्। उनी हाफ म्याराथनतर्फकी पूर्वविश्व कीर्तिमानी खेलाडी पनि हुन्।
सिड्नी म्याराथन आयोजकले प्रतियोगिताका क्रममा गरिएको जेपचिरचिरको परीक्षणमा भने प्रतिबन्धित पदार्थ नदेखिएको जनाएको छ। आयोजकका अनुसार अब इरिन चेप्टाईलाई सन् २०२६ को महिला च्याम्पियन घोषणा गरिने भएको छ।
सन् २०२६ को विश्व रोड रनिङ च्याम्पियनसिपमा हाफ म्याराथनतर्फ रजत पदक जितेकी भेरोनिका लोलेओ पनि प्रतियोगिताबाहिर गरिएको परीक्षणमा ईपीओ पोजेटिभ देखिएपछि तीन वर्षका लागि प्रतिबन्धित भएकी छन्।
यसैबीच सन् २०२३ को बर्लिन म्याराथनमा चौथो स्थान हासिल गरेका रोनाल्ड कोरिरलाई ६ वर्षको प्रतिबन्ध लगाइएको छ। उनको खेलाडी जैविक पासपोर्ट (एथलिट बायोलोजिकल पासपोर्ट) मा असामान्य देखिएपछि उनले त्यसको उचित स्पष्टीकरण दिन सकेका थिएनन्।
एआईयूले सन् २०२३ मे ६ देखि २०२५ अगस्ट १८ सम्म कोरिरबाट सङ्कलन गरिएका २० वटा रगतका नमुना विश्लेषण गर्दा असामान्य फेला पारेको थियो। एआईयूका प्रमुख कार्यकारी ब्रेट क्लोथियरले विज्ञप्तिमा भनेका छन्, ‘केन्याका अधिकारीहरूले पछिल्ला पाँच वर्षमा डोपिङविरुद्धको लडाइँमा उल्लेखनीय प्रगति गरेका छन् । तर यी घटनाले अझै धेरै काम गर्न बाँकी रहेको देखाउँछन्।’
उनले थप भनेका छन्, ‘केन्याली सरकार वर्तमान अवस्थाबारे जानकार छ। डोपिङविरुद्धको केन्या एजेन्सीलाई थप सशक्त बनाउने र देशभित्र डोपिङलाई सहयोग पुर्याउने आपराधिक सञ्जालविरुद्ध कारबाही गर्ने प्रतिबद्धता सरकारले जनाएको छ।’
यी घटनाहरू केन्याका लामो दूरीका धावकहरू संलग्न डोपिङ प्रकरणको पछिल्लो शृङ्खलाका रूपमा आएका छन्। महिला म्याराथनतर्फकी विश्व कीर्तिमानी खेलाडी तथा केन्याकी धाविका रुथ चेपङ्गेचिचलाई पनि प्रतिबन्धित पिसाब बढाउने औषधि (डाइयुरेटिक) सेवन गरेको आरोप स्वीकार गरेपछि सन् २०२५ मा तीन वर्षको प्रतिबन्ध लगाइएको थियो ।
त्यस्तै न्युयोर्क म्याराथनका पूर्वविजेता अल्बर्ट कोरिरलाई गत मार्चमा डोपिङका कारण पाँच वर्षको प्रतिबन्ध लगाइएको थियो ।
-एजेन्सी/नैरोबी





















