काठमाडौं – म्याड्रिड,स्पेनका पूर्व मिडफिल्डर हुआन माटाले ३८ वर्षको उमेरमा व्यावसायिक फुटबलबाट संन्यास लिने घोषणा गरेका छन् । स्पेनका लागि ४१ खेल खेलेका माटा सन् २०१० मा विश्वकप जित्ने स्पेनको राष्ट्रिय टोलीका सदस्य थिए । त्यसको दुई वर्षपछि युरोपियन च्याम्पियनसिप जित्दा पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । इटालीविरुद्ध ४–० को जित निकाल्दै स्पेनले उपाधि जितेको फाइनलमा उनले एक गोलसमेत गरेका थिए ।
रियल म्याड्रिडको युवा टोलीबाट फुटबल करिअर सुरु गरेका माटा सन् २००७ मा भ्यालेन्सियामा आबद्ध भएका थिए । त्यसपछि सन् २०११ अगस्टमा चेल्सी पुगेका उनले क्लबसँगै च्याम्पियन्स लिग, युरोपा लिग र एफए कपको उपाधि जिते । सन् २०१४ जनवरीमा म्यानचेस्टर युनाइटेड पुगेका माटाले त्यहाँ पनि युरोपा लिग, एफए कप र लिग कपको उपाधि जित्न सफल भए । सन् २०२२ मा उनले क्लब छाडेका थिए ।
त्यसपछि उनले टर्कीको गलातासारे र जापानको विसेल कोबेबाट खेले । त्यसपछि अस्ट्रेलियाका क्लब वेस्टर्न सिड्नी वान्डरर्स र मेलबर्न भिक्ट्रीबाट पनि उनले आफ्नो खेल करिअरलाई निरन्तरता दिए । ‘फुटबल मेरो जीवनबाट कहिल्यै टाढा हुने छैन,’ माताले भने, ‘यो खेललाई निरन्तर माया गरिरहने र विकासको माध्यमका रूपमा प्रयोग गरिरहने धेरै तरिका छन् ।’
‘म व्यावसायिक रूपमा खेल्न छाड्न सक्छु, तर फुटबलर हुन भने कहिल्यै छाड्ने छैन।’ माटाले चेल्सीमा बिताएका दुवै पूर्ण सिजनमा क्लबको वर्ष खेलाडीको अवार्ड जितेका थिए। उनले चेल्सीका लागि लिगका ८२ खेल खेल्दै १८ गोल गरेका थिए ।
‘कस्तो उत्कृष्ट खेलाडी१’ चेल्सीले सामाजिक सञ्जालमा लेखेको छ । म्यानचेस्टर युनाइटेडका लागि भने उनले २८५ खेलमा ५१ गोल गरेका थिए । सम्झौता अवधि सकिएपछि उनले सन् २०२२ मा क्लब छाडेका थिए ।
‘शानदार खेल करिअरका लागि बधाई छ, हुआन१ युनाइटेड परिवारका सबैले तपाईँको आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दछौँ,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।





















