images
images
  • एनपीएलको इलिमिनेटरमा आज काठमाण्डु र चितवन भिड्दै, हार्ने टोली बाहिरिने

    काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाण्डु गोर्खाज र चितवन राइनोजबीच इलिमिनेटर खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ४ः३० बजे सुरु हुनेछ । लिग चरणको अंकतालिकामा तेस्रो स्थानमा रहेको काठमाण्डु र चौथो स्थानमा रहेको चितवनबीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ । इलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ ।

    इलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित भएको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार हुने दोस्रो क्वालिफायरको विजेता शनिबार उपाधिका लागि फाइनलमा भिड्नेछ । लिग चरणमा काठमाण्डुले सात खेलबाट चार जित र तीन हारसहित आठ अंक जोडेको थियो । सुरुआती तीन खेलमा लगातार जित निकाल्दै राम्रो सुरुआत गरेको काठमाण्डुले पछिल्ला खेलमा भने लय कायम राख्न सकेन । तर, तेस्रो स्थानमा रहँदै टोलीले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

    अर्कोतर्फ, चितवनले सात खेलबाट तीन जित, तीन हार र एक खेलमा नतिजाविहीन हुँदै सात अंक जोडेको थियो । अंकतालिकाको चौथो स्थानमा रहँदै इलिमिनेटरमा पुगेको चितवन पनि काठमाण्डुलाई पराजित गर्दै उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यमा छ।

    आठ टोली सहभागी प्रतियोगिताको लिग चरणबाट ११ अंकसहित शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र १० अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा पुगेका थिए । पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरिसकेको छ ।

    त्यस्तै, विराटनगर किङ्स र कर्णाली याक्सले समान छ अंक जोड्दा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सले चार–चार अंक मात्रै जोडेका थिए । यी चारै टोली लिग चरणबाटै प्रतियोगिताबाट बाहिरिसकेका छन् । अब काठमाण्डु र चितवनबीचको प्रतिस्पर्धाले दोस्रो क्वालिफायरको समीकरण तय गर्नेछ । दुवै टोलीका लागि प्रतियोगितामा टिकिरहन जित अनिवार्य भएकाले आजको खेल प्रतिस्पर्धात्मक हुने आहा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images