काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथिको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।
राखेपको कार्यकारी समितिले आज एन्फामाथि लगाइएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
परिषद्ले निर्णय कार्यान्वयनमा आएसँगै एन्फामाथि लगाइएका प्रशासनिक र आर्थिक रोकावट पनि हटेको जनाएको छ ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताले एन्फालाई सम्बोधन गरी पठाएको पत्रमार्फत प्रतिबन्ध फुकुवाको औपचारिक जानकारी दिएका छन् ।
पत्रमा एन्फाले गत अप्रिल ५ मा पठाएको पत्रमार्फत गरेको अनुरोध तथा परिषद्बाट यसअघि विभिन्न समयमा जारी गरिएका पत्राचारलाई आधार बनाएर निलम्बन र प्रतिबन्ध हटाइएको उल्लेख छ ।
पत्रमा भनिएको छ, ‘राष्ट्रिय खेलकुद परिषद्को निर्णयअनुसार एन्फामाथि लगाइएका निलम्बन तथा प्रतिबन्धहरू फुकुवा गरिएको जानकारी गराइन्छ । यससँगै एन्फामाथि लगाइएका सबै प्रशासनिक तथा आर्थिक प्रतिबन्ध पनि हटाइएको छ ।’
राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा (३) लाई आधार बनाएर प्रतिबन्ध फुकुवाको निर्णय गरेको पत्रमा उल्लेखक छ ।





















