काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पूर्वप्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री तथा सांसदहरू भ्रष्टाचार, अनियमितता र ठगीसम्बन्धी विभिन्न प्रकरणमा मुछिएका छन् ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरण र विराटनगरको रिजाल क्यानिङ जग्गा अनियमितता प्रकरणमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।
दुवै प्रकरणमा गरी उनीविरुद्ध अख्तियारले छुट्टाछुट्टै बिगो दाबी गरेको छ ।
यसैगरी, वैदेशिक रोजगारी ठगी तथा संगठित अपराधको आरोपमा पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव पक्राउ परेका छन् ।
सीआईबीले उनीहरूसहित ६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध पनि गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले १ करोड ८ लाख रुपैयाँभन्दा बढी बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
त्यस्तै, पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको सुन चोरी तथा तस्करी प्रकरणमा ७ करोड ७८ लाख रुपैयाँभन्दा बढी बिगो दाबीसहित मुद्दा दायर भएको छ ।
पार्टीका पूर्वप्रधानमन्त्रीदेखि मन्त्री र सांसदसम्म विभिन्न प्रकरणमा जोडिन थालेपछि नेकपाभित्र नेताहरूको नैतिकता र राजनीतिक आचरणमाथि प्रश्न उठ्न थालेको छ ।
यस्ता घटनाले पार्टीको छवि र राजनीतिक भविष्यमै असर पार्न सक्ने चिन्ता नेता तथा कार्यकर्तामा देखिएको छ ।
यद्यपि, सम्बन्धित अदालतबाट अन्तिम फैसला नआएसम्म आरोपित व्यक्तिहरूलाई दोषी मान्न मिल्दैन ।
यद्यपि यसअघि नै यो प्रकरणमाथि छानविन गर्न सरकारले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ ।






















