काठमाडौं – झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ घटना भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भदौ, असोज र कात्तिकमा भएका ती घटनाबाट १७ करोड ५१ लाख १३ हजार ९७५ रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार कात्तिक महिनामा मात्रै आगलागीका २६ घटना भएका छन् । ती घटनाबाट ६ करोड ७२ लाख २१ हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ । आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
त्यस्तै, असोजमा आगलागीका १२ घटना हुँदा १० करोड ६६ लाख ८२ हजार ९७५ रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्क छ । भदौमा सातवटा आगलागीका घटना भएका थिए । ती घटनाबाट १२ लाख १० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो ।
प्रहरी नायब उपरीक्षक बुढाथोकीका अनुसार जिल्लामा पछिल्लो तीन महिनाको अवधिमा विपद्का अन्य घटनाको तुलनामा आगलागीबाट सबैभन्दा बढी आर्थिक क्षति भएको छ ।






















