images
images
  • हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा समर्थकहरुको प्रदर्शन: पूर्वसरकार प्रमुख युनुसको घरमा आगजनी, दुई जनाको मृत्यु

    काठमाडौं– पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकले राष्ट्रव्यापी प्रदर्शनको आह्वान गरेपछि बङ्गलादेश सरकारले राजधानी ढाकासहित सात जिल्लामा सयौँ सुरक्षाकर्मी परिचालन गरेको छ ।

    विद्यार्थी नेतृत्वको विद्रोहबाट १५ वर्षे शासन अन्त्य भएपछि सन् २०२४ अगस्टमा भारत पलायन भएकी ७९ वर्षीया हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गरेकी छन् । प्रदर्शनकारीमाथि भएको घातक दमनसम्बन्धी मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै अदालतले उनलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो ।

    हसिनाको सम्भावित फिर्तीलाई लिएर पछिल्ला दिनमा हिंसात्मक घटना बढेका छन् । प्रतिबन्धित अवस्थामा रहेको उनको दल अवामी लिगले बिहीबार राष्ट्रव्यापी प्रदर्शन र ‘लकडाउन’ आह्वान गरेको थियो । सीमा सुरक्षा बल बङ्गलादेशले हसिनाको गृहनगर गोपालगञ्जसहित सात जिल्लामा सुरक्षाकर्मी खटाएको छ ।

    पार्टीको घरभित्रै बस्नुपर्ने आह्वानका बाबजुद समर्थकहरूले ढाकालाई गोपालगञ्जसँग जोड्ने राजमार्गका विभिन्न स्थानमा प्रदर्शन गर्दै यातायात अवरुद्ध गरेका छन् । ती क्षेत्रमा आगजनी तथा हिंसाका घटना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

    हसिनाले पछिल्ला सातामा समर्थकहरूलाई सम्बोधन गर्दै डिसेम्बरमा स्वदेश फर्कने प्रतिबद्धता दोहोर्‍याएकी थिइन् । उनको घोषणासँगै बङ्गलादेशको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ ।

    नयाँ राहदानी र परिचयपत्रका लागि हसिनाले गरेको अनुरोध सरकारले अस्वीकार गरेपछि सुरु भएको साताव्यापी विरोध प्रदर्शन र र्‍यालीको उत्कर्षस्वरूप अवामी लिग पार्टीले बिहीबार देशव्यापी बन्द आह्वान गरेको हो ।

    उनीहरुले हसिनाको स्वदेश फिर्ती फिर्ती सहज बनाउन सरकारसँग माग गरेका छन् । अवामी लिगका कार्यकर्ताहरुले गरेको विरोध प्रदर्शनमा हिंसा भड्किँदा दुई जना सत्तापक्षीय कार्यकर्ताको मृत्यु भएको छ ।

    त्यस्तै पूर्वनेता मुहम्मद युनुसको पुर्ख्यौली घरमा आगजनी भएको प्रहरीले जनाएको छ । युनुस बंगलादेशको अन्तरिम सरकारमा प्रमुख थिए । प्रयोगमा नरहेको भुइँतलाको कोठामा प्रज्वलनशील पदार्थ फालिएको हुन सक्ने स्थानीय पाँचलाइश प्रहरी चौकीका प्रमुख मोजाम्मेल हकले रोयटर्सलाई बताए । तर माथिल्ला तलामा बस्ने युनुसका पितापट्टिका परिवारका सदस्यहरू भने सुरक्षित छन् ।

    सत्तारुढ बंगलादेश नेशनल पार्टीका सांसद् एसएन जिलानीसहित सत्तापक्षीय नेताहरु आन्दोलनकारीको निशानामा परेका छन् । पछिल्ला १० दिनको विरोध प्रदर्शनका क्रममा कम्तीमा २८ जिल्लामा दर्जनौँपटक घरेलु बम विस्फोट र सवारीसाधनमा आगजनीका घटना भएको प्रहरीले जनाएको छ ।

    सञ्चारमाध्यमका अनुसार कैयौँ प्रहरी अधिकारी र सर्वसाधारण घाइते भएका छन् । सन् २०२४ को प्रदर्शनका क्रममा भएका कैयौँ हत्याको आरोप खेपिरहेका पूर्व शिक्षामन्त्री नुरुल इस्लाम नाहिदलाई बिहीबार ढाकास्थित निवासबाट पक्राउ गरिएको प्रहरी अधिकारी मोहम्मद खालिद मन्सुरले रोयटर्सलाई बताए ।

    युनुसद्वारा स्थापित ग्रामीण बैंकका कम्तीमा ३७ वटा शाखा तथा कार्यालयमा नोभेम्बर १० यता आगजनी वा आगजनीको प्रयास भएको र मङ्गलबार मध्यरातयता थप १४ वटामा आक्रमण भएको बैंकले जनाएको छ ।

    यसैबीच प्रधानमन्त्री तारिक रहमानले राजनीतिक विरोधीहरूले देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाउँदै लोकतन्त्र समर्थक शक्तिहरूलाई एकजुट हुन आग्रह गरेका छन् । प्रहरीले अवामी लिगसँग सम्बन्धित १०७ जनालाई बुधबारदेखि पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत छन् ।

    – एजेन्सीहरु/ढाका

    प्रतिक्रिया दिनुहोस्
    images
    images