images
images
  • एपेक सम्मेलनमा ट्रम्प र सीबीच द्विपक्षीय वार्ता

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा द्विपक्षीय वार्ता भएको छ ।

    विश्व व्यापार, आणविक हतियार नियन्त्रण र अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीबीच भएको यस भेटलाई दुई शक्तिराष्ट्रबीचको सम्बन्ध सुधारका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

    यसअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि द्विपक्षीय भेट गरेका थिए ।

    उनले पुटिनसँगको भेटबाट सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्दै त्यसपछि अर्को बैठकसमेत हुन सक्ने बताएका थिए ।

    ट्रम्पले सी र पुटिनसँग तीनै देशको साझा हित तथा अन्तर्राष्ट्रिय अवसरबारे छलफल गर्न प्रस्तावित त्रिपक्षीय बैठकको प्रतीक्षा गरिरहेको बताएका थिए ।

    उनले यसलाई ऐतिहासिक अवसरको संज्ञासमेत दिएका थिए ।

    तीन नेताबीच आणविक हतियार नियन्त्रण, इरानसँग जारी द्वन्द्व, विश्व व्यापार तथा रुस–युक्रेन युद्धलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

    यसअघि सी र पुटिनबीच पनि सेन्जेनमा द्विपक्षीय वार्ता भएको थियो ।

    भेटमा दुवै नेताले चीन–रूस सम्बन्धको सुदृढीकरण र बहुध्रुवीय विश्व व्यवस्थालाई अघि बढाउने प्रतिबद्धता दोहोर्‍याएका थिए ।

    सीले दुई देशबीचको सम्बन्धलाई प्रतिकूल परिस्थितिमा पनि पहाडझैँ अडिग रहेको बताएका थिए भने पुटिनले चुनौतीपूर्ण अन्तर्राष्ट्रिय परिस्थितिका बाबजुद आपसी राजनीतिक सहकार्य रचनात्मक रहेको उल्लेख गरेका थिए ।

    प्रस्तावित त्रिपक्षीय छलफल अमेरिका र रूसबीचको नयाँ स्टार्ट आणविक हतियार नियन्त्रण सन्धि समाप्त भएपछि अन्तर्राष्ट्रिय हतियार नियन्त्रणको विषयले पुनः महत्त्व पाएका बेला हुन लागेको हो ।

    अमेरिकाले चीनलाई पनि व्यापक आणविक हतियार कटौतीसम्बन्धी वार्तामा सहभागी गराउन खोजिरहेको छ ।

    तर चीनले अमेरिका र रूससँग तुलनात्मक रूपमा निकै ठूलो आणविक हतियार भण्डार रहेको भन्दै प्रत्यक्ष वार्तामा सहभागी हुन अनिच्छा देखाउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images