images
images
  • श्रमिक ठगी प्रकरण: अनुसन्धानको राडारमा पूर्वमन्त्री भण्डारी र पूर्वराज्यमन्त्री गुरुङ पनि

    काठमाडौं- मलेसिया जाने नेपाली श्रमिकमाथि संगठित ठगी सम्बन्धमा अनुसन्धानको दायरा थप फराकिलो बन्दै गएको छ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले विवादित बायोमेट्रिक प्रणाली सञ्चालनको अनुमति दिने पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङ र स्वास्थ्य परीक्षण शुल्क बढाउने पूर्वश्रममन्त्री शरतसिंह भण्डारीमाथि पनि अनुसन्धान अघि बढाएको छ।

    सीआईबीले बुधबार श्रमिकमाथि ठगी गरेको आरोपमा दुई पूर्वश्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरसहित पूर्वसचिव र सहसचिवहरूलाई पक्राउ गरेको थियो। त्यस्तै पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ।

    यो प्रकरणमा व्यवसायी कैलाश खड्का र उनीसँग सम्बन्धित म्याक्रोटेक प्रालिमार्फत श्रमिकबाट अतिरिक्त शुल्क उठाइएको तथा त्यसरी संकलित रकम मलेसिया पठाइएको विषय अनुसन्धानको केन्द्रमा छ।

    अहिले यससम्बन्धी अनुसन्धानमा पूर्वमन्त्री भण्डारी र पूर्वराज्यमन्त्री गुरुङ तानिने सम्भावना बढेको छ। पूर्वश्रममन्त्री भण्डारीको कार्यकालमा वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५०० बाट बढाएर ९ हजार ५०० रुपैयाँ पुर्‍याइएको थियो।

    २०८१ साल चैतमा गरिएको उक्त निर्णयबाट प्रतिश्रमिक तीन हजार रुपैयाँ अतिरिक्त आर्थिक भार थप्ने अवस्था सिर्जना भएको थियो। मन्त्रालयले स्वास्थ्य परीक्षणको गुणस्तर सुधार गर्न ३४ प्रकारका परीक्षण अनिवार्य गर्ने निर्णयसँगै शुल्क बढाएको थियो।

    पछि सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकारका श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै पुरानै दर कायम गरेका थिए ।

    यस प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालको नामसमेत जोडिएको छ। उनी श्रम मन्त्रालयको सचिव रहेका बेला मलेसिया जाने श्रमिकबाट असुलिएको रकम विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको प्रहरीको आरोप छ।

    सीआईबीका अनुसार अर्यालको खोजी भइरहेको र उनी देश बाहिर गएको सूचना प्राप्त भएको छ।

    कैलाश खड्कासहितका व्यवसायीमाथि सुरु भएको अनुसन्धान तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी समेत रहेकी तत्कालीन स्वकीय सचिव गंगा दाहाल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवासम्म पुग्ने समाचारहरु प्रकाशमा आएका छन्।

    बुधबार पक्राउ परेका शेरबहादुर कुँवर र रामेश्वर राय यादवमाथि नेपाल–मलेसिया श्रम समझदारीविपरीत रकम असुली रोक्न आवश्यक कदम नचालेको तथा गैरकानुनी रूपमा संकलित रकम विदेश पठाउने निर्णयमा भूमिका खेलेको आरोप छ।

    प्रहरीका अनुसार ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी करिब एक अर्ब ६९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा मलेसिया पठाइएको छ।

    यसअघि कैलाश खड्का, रवीन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारी पक्राउ परेका थिए। बुधबार दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेपछि यस प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images