काठमाडौं– रुसले युक्रेनको सुरक्षा प्रत्याभूतिसम्बन्धी विषयमा छलफल गर्नुअघि उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्यता नलिने आफ्नो मागलाई युक्रेनले स्वीकार गर्नुपर्ने धारणा व्यक्त गरेको छ।
रुसी उपविदेशमन्त्री सर्गेई र्याबकोभले शुक्रबार युक्रेनको नेटो सदस्यता रुसका लागि अस्वीकार्य रहेको बताएका हुन्।
उनले रुस संवादका लागि तयार रहेको उल्लेख गर्दै युक्रेनको नेटो सदस्यताको विषयमा भने कुनै सम्झौता हुन नसक्ने स्पष्ट पारे।
र्याबकोभका अनुसार युक्रेनले नेटो सदस्यता नलिने रुसी माग स्वीकार गरेपछि मात्र उसलाई प्रदान गरिने सुरक्षा प्रत्याभूतिबारे विभिन्न विकल्पमा छलफल गर्न सकिनेछ।
उनले नेटोको पूर्ण सदस्यता नभए पनि त्यससँग मिल्दोजुल्दो हैसियत प्रदान गर्ने वा यस विषयमा अन्य वैकल्पिक व्यवस्था खोज्ने प्रस्तावसमेत रुसलाई स्वीकार्य नहुने बताए।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुश्नरले बिहीबार युक्रेनसम्बन्धी बहुपक्षीय वार्ता संयन्त्रमा युरोपेली सहभागिताका लागि रुस सहमत भएको बताएका थिए।
उनका अनुसार युक्रेनलाई नेटो सन्धिको धारा ५ अनुरूप सुरक्षा प्रत्याभूति प्रदान गर्ने अवधारणाप्रति पनि रुस सकारात्मक रहेको थियो।
यसैबीच र्याबकोभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली ट्रोइकाका प्रतिनिधिहरूलाई मस्को भ्रमणका लागि आमन्त्रण गर्ने निर्णय गरेको जानकारी दिए।
तर हालै अबुधाबीमा भएको बैठकमा अपनाइएको त्रिपक्षीय वार्ता ढाँचाका विषयमा भने कुनै सहमति वा समझदारी नभएको उनले बताए।





















