images
images
  • एसिया कप राइजिङ स्टार्स: नेपालले यूएईविरुद्ध निकाल्यो पहिलो जित

    काठमाडौं– नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । पहिलो जित दर्ता गर्ने क्रममा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ६ विकेटको जित निकालेको हो ।

    नेपालले पहिलो खेलमा भारत ‘ए’ विरुद्ध ३०६ रनको पराजय व्यहोरेको थियो । आज भने नेपालले उत्कृष्ट पुनरागमन गर्दै सहज जित निकाल्यो । यूएईले दिएको १२२ रनमको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

    नेपालको जितमा ओपनिङ ब्याटर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ५६ बलमा छ चौका र एक छक्कासहित ५६ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा कुशलको यो दशौँ अर्धशतक हो ।

    यसैगरी मयन यादवले २७ र बसिर अहमदले अविजित १८ रनको योगदान दिए । युएईका लागि बलिङतर्फ मोहम्मद मोहसिनले दुई तथा उद्देश सुरी र अङ्श टन्डनले समान १–१ विकेट लिए ।

    त्यसअघि दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो । उसका लागि मुहम्मद शाहदादले ४०, हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रन बनाए । युएईका बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।

    नेपालका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान तीन-तीन तथा राशिद खान, नन्दन यादव र ललितनारायण राजवंशीले १-१ विकेट लिए ।

    यो जितपछि नेपालले महत्त्वपूर्ण २ अङ्क जोडेको छ । नेपाल अहिले समूह ‘बी’ तालिकामा २ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा मङ्गलबार पाकिस्तान ‘ए’ विरुद्ध खेल्ने तालिका छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images