काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीमाथि पुरस्कारको वर्षा भएको छ । प्रतियोगितामा उपाधि जित्ने सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउँदा अन्य टोली र व्यक्तिगत विधाका उत्कृष्ट खेलाडीले पनि आकर्षक पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताको पुरस्कार विवरणअनुसार उपविजेता लुम्बिनी लायन्सले ८० लाख रुपैयाँ पाएको छ। त्यस्तै चितवन राइनोजले ४० लाख र काठमाडौं गोर्खाजले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । व्यक्तिगत विधातर्फ नेपाली क्रिकेटका खेलाडी रिजन ढकालले सबैभन्दा आकर्षक पुरस्कारमध्ये एक प्राप्त गरेका छन् । उनले उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै ६० लाख रुपैयाँ बराबरको कार पाएका छन् । प्रतियोगितामा सर्वाधिक १७ विकेट लिँदै गोल्डेन क्याप जितेका ढकालले थप २ लाख रुपैयाँ पनि प्राप्त गरेका छन् । उत्कृष्ट बलर बनेबापत उनले मोटरसाइकलसमेत पाएका छन् ।
त्यस्तै प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट घोषित दीपेन्द्रसिंह ऐरीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा २२४ रनसहित युवराज साम्रा अगाडि रहे। उनले प्लेटिनम क्यापसँगै २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । नेपाली खेलाडीमध्ये सर्वाधिक रन बनाउने लोकेश बमले मोटरसाइकल पुरस्कार पाएका छन् ।
त्यसैगरी उदीयमान खेलाडी राहुल यादवले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् भने प्रतियोगिताको इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट घोषित कमल मिसराले २ लाख रुपैयाँ पाएका छन् । रोहितकुमार पौडेलले एमसीसी स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गरेका छन् ।
यसरी एनपीएलले टोलीगत पुरस्कारसँगै व्यक्तिगत प्रदर्शनलाई समेत प्रोत्साहन गर्दै नेपाली क्रिकेट खेलाडीका लागि आर्थिक तथा व्यावसायिक अवसरको ढोका खोलेको छ । आकर्षक पुरस्कारले प्रतियोगिताको प्रतिस्पर्धात्मकता र खेलाडीको मनोबल बढाउन थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।






















