काठमाडौं- सुदूरपश्चिम रोयल्स तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन बन्न सफल भएको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्समाथि १० विकेटको रवाफिलो जीत निकाल्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो ।
सुदूरपश्चिमको जीतमा ओपनर स्कटल्यान्डका जर्ज मन्सेले अविजित १२५ रन बनाए । उनी एनपीएलमा शतक बनाउने छैटौं तथा व्यक्तिगत सर्वाधिक रन बनाउने पहिलो खेलाडी बने । यससँगै सुदूरले एक फाइनलसहित लगातार तीन भेटमा व्यहारेको हारको बदलासमेत लियो ।
टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा सुदूरपश्चिमले विनाविकेटको क्षतिमा १३.३ ओभरमा पहिलोपटक च्याम्पियन बन्यो ।
यसअघि मन्सेले आक्रमक ब्याटिङ गर्दै २८ बलमा पाँच चौका र ३ छक्कासहित अर्धशतक बनाएका थिए । तेस्रो संस्करणको एनपीएलमा तेस्रो खेल खेलेका उनको पहिलो अर्धशतक हो ।
ओपनिङ जोडी विनोद भण्डारीसँगै मन्सेले आक्रामक ब्याटिङ गर्दै पावर प्लेमै ६० रन जोडेका थिए । विनोदले २७ बलमा तीन चौकासहित ३० रनको योगदान गरे ।

यसअघि पहिलो इनिङ्समा लुम्बिनीको लागि दिलीप नाथले सर्वाधिक अविजित ३९ रन बनाए । उनले ३१ बलमा तीन छक्का हिर्काएका थिए । दिलीप र अमेरिकी २३ वर्षीय अलराउन्डर अली शेखसँग पाँचौं विकेटको लागि ३३ रनको साझेदारी गरेका थिए । अलीले १२ बलमा समान दुई चौका र छक्कासहित २४ रन बनाए । यसअघि निरोशान डिकवेला र दिलीपले ३४ रनको साझेदारी गरेका थिए ।
कप्तान रोहितकुमार पौडेलले ३० रन बनाए । श्रीलंकन ब्याटर निरोशान डिकवेलाले १७ बलमा २८ रन बनाए ।
यसअघि ओपनर डार्सी सर्टले १८ बलमा चार चौकासहित २१ रनको योगदान गरेका थिए ।
अर्का ओपनर आसिफ शेख भने १ रन बनाएर आउट भएका थिए । छैटौं नम्बर क्रिजमा आएका सन्दीप जोरा मात्र ४ रन बनाएर आउट भए ।
सुदूरको लागि स्कट कुगुलेइनले २ तथा हेमन्त धामी, थारिन्दु रात्नायेके र दीपेन्द्रसिंह ऐरीले समान एकएक विकेट लिए । अनिल खरेल र ईशान पाण्डे विकेटविहीन भएका थिए ।






















