ह्युस्टन– सात फिट चार इन्च अग्लो २२ वर्षीय भिक्टर वेम्बान्यामा एनबीएका निकै कम खेलाडीसँग मात्र तुलना गर्न सकिने शारीरिक क्षमता भएका खेलाडी हुन् । तर सान एन्टोनियो स्पर्सका यी फरवार्ड आफूलाई अझ कठिन प्रतिद्वन्द्वीका रूपमा स्थापित गर्ने उपायको खोजीमा छन् ।
त्यसैले उनले प्रशिक्षणका लागि हाकिम ओलाजुवनको साथ रोजे । दुई पटकका एनबीए च्याम्पियन तथा बास्केटबल हल अफ फेममा समावेश ओलाजुवनका अनुसार वेम्बान्यामा सन् २०२५ र २०२६ को गर्मीयाममा प्रशिक्षणका लागि ह्युस्टन पुगेका थिए । ओलाजुवनलाई आफ्नो उत्कृष्ट फुटवर्क, पोजिसनिङ र आक्रामक खेल शैलीका कारण रोक्न निकै कठिन मानिन्थ्यो । वेम्बान्यामा पनि त्यही शैलीका केही पक्षलाई आफ्नो खेलमा समावेश गर्न चाहन्छन् ।
६३ वर्षीय ओलाजुवनका लागि चुनौती वेम्बान्यामालाई आफूजस्तै खेलाडी बनाउनु होइन । बरु युवा स्टारसँग पहिल्यै रहेका असाधारण क्षमताको अधिकतम उपयोग गर्न सहयोग गर्नु हो ।
‘तपाईँसँग उचाइको फाइदा छ, सीप पनि छ । अब त्यसलाई अधिकतम रूपमा कसरी उपयोग गर्ने भन्ने महत्त्वपूर्ण कुरा हो,’ ओलाजुवनले भने ।
उनीहरूबिचको प्रशिक्षणमा वेम्बान्यामाको उचाइलाई प्रयोग गरेर प्रतिद्वन्द्वीबाट दूरी बनाउने तथा स्पिन र फुटवर्क मार्फत कठिन देखिने प्रहारलाई सहज बनाउने अभ्यासमा ध्यान केन्द्रित गरिएको थियो ।
आधुनिक एनबीएका स्टार खेलाडीमध्ये ओलाजुवनसँग प्रशिक्षण लिने वेम्बान्यामा एक्ला खेलाडी भने होइनन् ।
सन् २०२३ मा मिलवाकी बक्सबाट खेलिरहेका जियानिस एन्टेटोकुम्पोले पनि ओलाजुवनसँग प्रशिक्षण लिएका थिए । ‘द ड्रीम’ उपनामले परिचित ह्युस्टन रकेट्सका यी महान् खेलाडी आफ्नो उत्कृष्ट फुटवर्क र सहज डङ्कका लागि चर्चित थिए ।
ओलाजुवनका अनुसार एन्टेटोकुम्पो सुरुमा तीन दिन मात्र प्रशिक्षण लिने योजनासहित आएका थिए । तर उनले प्रशिक्षण अवधि बढाएर पूरा एक साता बिताए ।
उनीहरूको प्रशिक्षण बास्केटबलको एउटा आधारभूत चुनौतीमा केन्द्रित थियो– उत्कृष्ट डिफेन्डरको सामना गर्दा स्कोर गर्न पर्याप्त ठाउँ कसरी बनाउने ?
लगातार ड्रिबल गर्नुभन्दा ओलाजुवनको विधिमा एउटै ड्रिबल, दिशामा परिवर्तन र सही समयमा गरिने स्पिनलाई प्राथमिकता दिइन्थ्यो । यसले प्रतिद्वन्द्वी डिफेन्डरलाई गलत पोजिसनमा पुर्याएर बास्केटसम्म पुग्ने अवसर सिर्जना गर्छ ।
‘म यस्ता उत्कृष्ट सीप भएका खेलाडीसँग काम गर्न रमाउँछु । कसरी राम्रोसँग फिनिस गर्ने, कसरी ठाउँ बनाउने र कसरी डङ्क गर्ने भन्ने विषयमा हामी काम गर्छौँ,’ ओलाजुवनले भने ।
‘अब हामी आधारभूत सीपको कुरा गरिरहेका हुँदैनौँ । हामी स्कोर गर्ने अवसर कसरी सिर्जना गर्ने भन्ने विषयमा केन्द्रित हुन्छौँ । ’
बास्केटबल सिकाउने फरक शैली
एनबीएको सबैभन्दा चर्चित सेन्टरमध्ये एक बन्नुअघि नै ओलाजुवनले आफ्नो खेल शैली विकास गरिसकेका थिए ।
नाइजेरियाको लागोसमा हुर्किएका उनले सुरुमा फुटबल खेल्थे । उनी गोलरक्षक थिए । फुटबल खेल्दाखेल्दै उनले शरीरको सन्तुलन, समन्वय र लचकता विकास गरेका थिए । पछि बास्केटबलमा प्रवेश गर्दा यही क्षमताले उनको विशिष्ट फुटवर्क निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्यो ।
करिब सात फिट अग्लो भए पनि उनले सधैँ गार्डको जस्तै सिर्जनात्मक शैलीमा खेल्ने गरेको ओलाजुवन बताउँछन् । ‘म आफूलाई ठुलो कदको गार्ड ठान्थेँ,’ उनले सीएनएनसँग भने ।
ओलाजुवनलाई त्यस्ता साना कदका खेलाडी मन पर्थे, जसले शरीरको चाल, छलकपट र तीव्र दिशा परिवर्तनमार्फत प्रतिद्वन्द्वीलाई पछि पार्न सक्थे ।
यही सोचले उनको चर्चित ‘ड्रिम सेक’ शैलीको आधार तयार गर्यो । यो शैलीमा विभिन्न फिन्ट, पिभोट र स्पिनको प्रयोग गरेर प्रतिद्वन्द्वी डिफेन्डरलाई अलमलमा पारिन्छ ।
सन् १९९० को दशकदेखि ‘इनसाइड द एनबीए’ कार्यक्रम सञ्चालन गर्दै आएका तथा ओलाजुवनले सन् १९९४ र १९९५ मा लगातार दुई वटा उपाधि जित्दाको खेल नजिकबाट हेरेका एर्नी जोन्सनले उनको चपलता प्रत्यक्ष अनुभव गरेका थिए ।
‘सबैभन्दा पहिले एउटा कुरा स्पष्ट पारौँ । “ड्रिम सेक” पोस्ट मुभ थिएन । यो त शुद्ध र उत्कृष्ट एथलेटिक क्षमतासहितको ब्याले नृत्य थियो,’ जोन्सनले भने । उनका अनुसार यस शैलीमा आँखाको हेराइ, काँध, कम्मर र विश्व स्तरीय फुटवर्क सबैको भूमिका हुन्थ्यो । यी सबै कुरा आँखाको झिमिकमै सहज रूपमा एकसाथ प्रयोग हुँदा प्रतिद्वन्द्वी डिफेन्डर अलमलमा पर्थे ।
ओलाजुवनको प्रशिक्षण शैली प्रत्येक खेलाडीको बलियो पक्ष पहिचान गर्ने र त्यसलाई अझ विकसित गर्नेमा केन्द्रित छ ।
‘यदि तपाईँ आफ्ना मुभहरूमा पहिल्यै सहज हुनुहुन्छ भने म त्यसमा थप सुधार गर्न चाहन्छु । तपाईँ कसरी खेल्नुहुन्छ भनेर हेरेर तपाईँलाई अझ राम्रो बनाउन के थप्न सकिन्छ भन्ने पहिचान गर्न सक्छु,’ उनले भने ।
जोन्सनका अनुसार ओलाजुवनको खेल कौशलमा हिउँका प्रत्येक टुक्राजस्तै फरक विशेषता छ । अर्थात्, उनका कुनै पनि दुई मुभ ठ्याक्कै उस्तै हुँदैनथे ।
वेम्बान्यामाका लागि आफ्नो असाधारण उचाइ र गतिशीलताको संयोजनलाई अधिकतम उपयोग गर्नु मुख्य लक्ष्य हो । एन्टेटोकुम्पोका लागि भने अझ प्रभावकारी रूपमा ठाउँ बनाउँदै बास्केटतर्फ आक्रमण गर्नु महत्त्वपूर्ण छ ।
उद्देश्य खेलाडीहरूलाई ओलाजुवनकै शैलीको नक्कल गर्न लगाउनु होइन, उनीहरूको आफ्नै खेलअनुसार ती मुभहरूलाई विकसित गर्नु हो ।
‘मसँग प्रशिक्षण गर्न आउने खेलाडीहरूलाई म आधारभूत सीप सिकाउँछु । त्यसपछि उनीहरूको आफ्नै सिर्जनात्मकताले काम गर्न थाल्छ,’ ओलाजुवनले भने ।
कोबे ब्रायन्ट पनि प्रशिक्षणका लागि ओलाजुवनकहाँ पुगे
ओलाजुवनको एनबीए लिजेन्डबाट चर्चित प्रशिक्षक बन्ने यात्रा सन् २००९ मा सुरु भएको थियो । त्यति बेला उनलाई कोबे ब्रायन्टले प्रशिक्षणका लागि आग्रह गरेका थिए ।
ओलाजुवनका अनुसार सुरुमा उनलाई लस एन्जलस लेकर्सका सुपरस्टार ब्रायन्टले मजाक गरेको जस्तो लागेको थियो । ब्रायन्ट त्यति बेलासम्म एनबीएका सबैभन्दा सफल खेलाडीमध्ये एक बनिसकेका थिए । उनी आफ्नो कडा मेहनत र परिष्कृत आक्रामक खेल शैलीका लागि परिचित थिए ।
तर ब्रायन्टलाई अझै धेरै कुरा सिक्न बाँकी रहेको महसुस भएको थियो ।
दुवैले सँगै प्रशिक्षण गरे । उनीहरूको अभ्यास शरीरको चाल, प्रतिद्वन्द्वीबाट ठाउँ सिर्जना गर्ने तरिका र स्कोर गर्ने अवसर पहिचान गर्ने प्राविधिक पक्षमा केन्द्रित थियो ।
ब्रायन्टको आग्रहले ओलाजुवनलाई एउटा महत्त्वपूर्ण कुरा महसुस गरायो । एनबीएका सबैभन्दा सफल खेलाडीसमेत आफ्नो खेल सुधार्ने नयाँ तरिकाको खोजीमा हुन्छन् ।
लेब्रोन जेम्स पनि ओलाजुवनको मार्गदर्शन खोज्ने अर्का एनबीए खेलाडी हुन् ।
यी खेलाडीबिच समानता उनीहरूको खेल्ने पोजिसन वा शैली होइन । उनीहरू सबै आफ्नो खेललाई अर्को स्तरमा पुर्याउन र पहिल्यै भएका सीपलाई अझ उत्कृष्ट बनाउन चाहन्छन् ।
‘बास्केटबलमा साँच्चिकै विशिष्ट पहिचान बनाउने मुभहरू निकै कम छन्,’ जोन्सनले भने ।
‘त्यसैले उनको प्रशिक्षण र मार्गदर्शन यति मूल्यवान् छ । यदि सबैलाई अवसर मिल्थ्यो भने कसले “द ड्रीम” को सल्लाह लिन चाहँदैनथ्यो र ?’
‘द ड्रीम’ को प्रभाव अझै जीवित
एनबीएबाट अन्तिम खेल खेलेको २० वर्षभन्दा बढी समय बितिसक्दा पनि ओलाजुवनको प्रभाव नयाँ पुस्ताका अग्ला कदका खेलाडीमा देख्न सकिन्छ । उचाइ, फुटवर्क र सीपको संयोजनले परम्परागत खेल पोजिसनको सीमालाई समेत चुनौती दिइरहेको छ ।
तर कुनै प्रविधि सिकाउनु एउटा कुरा हो भने त्यसको वास्तविक मौलिक स्वरूप पुनः सिर्जना गर्नु अर्कै कुरा हो ।
‘तपाईँले ड्रिम सेकका आधारभूत कुरा सिकाउन सक्नुहुन्छ । तर हाकिमको आफ्नै विशिष्ट शैलीमा त्यसलाई प्रयोग गर्नु बिलकुलै फरक कुरा हो,’ जोन्सनले भने ।
‘त्यसलाई पूर्णता दिन उनलाई पनि लामो समय लागेको थियो । अब प्रश्न यो हो– के कसैसँग त्यसको नक्कल गर्ने इच्छाशक्ति र समर्पण छ ?’
उनले बास्केटबलको अर्को चर्चित विशेष प्रहारसँग यसको तुलना गरे । त्यो हो, करीम अब्दुल जब्बारको ‘स्काईहुक’ ।
‘स्काईहुकमा करीमको जस्तो उत्कृष्ट स्पर्श र नियन्त्रण कसैले पनि देखाउन सकेन । त्यसै गरी, हाकिमले प्रयोग गरेजस्तो ड्रिम सेक फेरि देख्न पाउने सम्भावना पनि निकै कम छ,’ जोन्सनले भने ।






















