images
images
  • पूर्वमुख्यसचिव एकनारायण अर्याल कोलकाताबाट पक्राउ

    काठमाडौं– पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को उच्च स्रोतले दिएको जानकारीअनुसार अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    यद्यपि, उनलाई कहाँबाट र कुन समयमा पक्राउ गरिएको भन्नेबारे सीआईबीले औपचारिक रूपमा खुलाएको छैन ।

    सीआईबी स्रोतले अर्याल नियन्त्रणमा आइसकेको पुष्टि गर्दै चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ ।

    उनलाई भारतको कोलकाताबाट नेपाल ल्याउने तयारी भइरहेको स्रोतको दाबीछ ।

    ‘उहाँ (अर्याल) हाम्रो नियन्त्रणमा आइसक्नुभएको छ । हामी चाँडै सार्वजनिक गर्छौँ,’ सीआईबी स्रोतले भन्यो ।

    मलेसिया श्रमिक प्रकरणमा अनुसन्धान अघि बढाउने क्रममा यसअघि दुई पूर्व श्रममन्त्रीसहित छ जना पक्राउ परिसकेका छन् ।

    झण्डै दुई अर्ब रुपैयाँ हिनामिना भएको भनिएको उक्त प्रकरणमा तत्कालीन मुख्यसचिव अर्यालको समेत संलग्नता देखिएको भन्दै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

    त्यसपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो ।

    प्रहरी स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएपछि अर्याल नेपालबाहिर पुगेका थिए ।

    उनी भारतको कोलकाता पुगेको बुझिएको छ ।

    भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको बताइएको छ ।

    सीआईबी स्रोतका अनुसार अर्याललाई आजै नेपाल ल्याउने तयारी भइरहेको छ ।

    यद्यपि, उनको पक्राउ, स्थानान्तरण र अनुसन्धानका विषयमा प्रहरीले औपचारिक विवरण सार्वजनिक गर्न बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images