images
images
  • नेपालको पहिलो जलविद्युत् केन्द्र फर्पिङ, हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य बन्दै

    काठमाडौं – राजधानी काठमाडौँको कोलाहलबाट केही समय टाढा प्रकृतिसँग रमाउन चाहनेका लागि दक्षिणकाली नगरपालिकास्थित फर्पिङ आकर्षक पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको क्षेत्र हो। ऐतिहासिक सम्पदा, धार्मिक स्थल, गुफा, गुम्बा र प्राकृतिक सौन्दर्यले भरिपूर्ण फर्पिङलाई अब हाइड्रो हेरिटेज पर्यटनको केन्द्रका रूपमा विकास गर्ने तयारी भइरहेको छ ।

    काठमाडौँबाट चोभार र टौदह हुँदै दक्षिणतर्फ पुगिने फर्पिङमा नेपालको पहिलो जलविद्युत् केन्द्र चन्द्रज्योति विद्युत् गृह अवस्थित छ । राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएको यो विद्युत् गृह नेपालको ऊर्जा इतिहासको महत्वपूर्ण धरोहर हो। यहाँ एक शताब्दीभन्दा पुराना पेल्टन टर्बाइन, जेनेरेटर तथा अन्य उपकरण संरक्षण गरेर राखिएका छन् । दक्षिणकाली नगरपालिकाले यस ऐतिहासिक सम्पदालाई पर्यटनसँग जोडेर क्षेत्रको पहिचान स्थापित गर्ने योजना अघि बढाएको छ ।

    १९६८ जेठ ९ गते उद्घाटन भएको चन्द्रज्योति विद्युत् गृह पाँच सय किलोवाट क्षमताको आयोजना हो। यसको निर्माणमा नेपाली इन्जिनियर कर्णेल किशोर नरसिंह राणाको नेतृत्व रहेको थियो । कुमार नरसिंह राणा पनि निर्माण कार्यमा संलग्न थिए । बेलायती इन्जिनियरहरूले लागत अनुमान तथा उपकरण जडानमा सहयोग गरेका थिए भने जनरल पद्मशमशेरले निर्माणको समग्र निरीक्षण गरेका थिए। नेपाली कामदार र भारतीय प्राविधिकको सहभागितामा करिब २० महिनामा निर्माण सम्पन्न भएको यस आयोजनामा सात लाख १३ हजार २७३ रुपैयाँ खर्च भएको अभिलेख छ ।

    फर्पिङमा विद्युत् उत्पादनका लागि विशाल नदीको पानी प्रयोग गरिएको थिएन। सातमूले र शेषनारायण क्षेत्रका मुहानबाट ल्याइएको पानी जम्मा गर्न जलाशय निर्माण गरिएको थियो । जलाशयबाट करिब दुई हजार ५३८ फिट लामो पाइपमार्फत पावरहाउसमा पानी पुर्‍याइन्थ्यो। पानीको दबाबबाट २५० किलोवाट क्षमताका दुईवटा पेल्टन टर्बाइन घुमाएर विद्युत् उत्पादन गरिन्थ्यो । उत्पादित विद्युत् प्रसारण लाइनमार्फत करिब छ माइल टाढा रहेको टुँडिखेलसम्म पुर्‍याइएको थियो ।

    १९६८ जेठ ९ गते साँझ तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहले टुँडिखेलमा बत्ती बालेर चन्द्रज्योति विद्युत् गृहको उद्घाटन गरेका थिए। त्यसपछि टुँडिखेल क्षेत्रमा एक सातासम्म बत्ती बालिएको इतिहास छ । सुरुका वर्षमा उत्पादित विद्युत् मुख्यतः राजपरिवार, राणा परिवार र पहुँच भएका स्थानमा सीमित थियो। फर्पिङ जलविद्युत् केन्द्रले २०३८ सालसम्म नियमित विद्युत् उत्पादन गरेको थियो। त्यसपछि यसको पानी खानेपानी आपूर्तिमा प्रयोग हुन थालेसँगै नियमित उत्पादन रोकिएको हो ।

    फर्पिङको पर्यटकीय आकर्षण जलविद्युत् केन्द्रमा मात्र सीमित छैन । यहाँ रहेको शेषनारायण मन्दिर, धार्मिक कुण्ड, गुरु पद्मसम्भवसँग सम्बन्धित असुर गुफा तथा विभिन्न बौद्ध गुम्बाहरूले धार्मिक र सांस्कृतिक पर्यटनको सम्भावना बढाएका छन् । यससँगै दक्षिणकाली मन्दिरलाई समेत एउटै भ्रमण प्याकेजमा समेट्न सकिन्छ । धार्मिक आस्था, बौद्ध संस्कृति, इतिहास र प्राकृतिक सौन्दर्यको संगम भएकाले फर्पिङलाई बहुआयामिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने देखिन्छ ।

    काठमाडौँबाट बिहानै प्रस्थान गर्ने पर्यटकले एकै दिनमा यहाँका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण गर्न सक्छन् । पदयात्रा, पिकनिक तथा प्रकृतिमा रमाउन चाहनेका लागि पनि यो क्षेत्र उपयुक्त मानिन्छ । रात बिताउन चाहने पर्यटकका लागि नजिकै हात्तीबन हिमालयन हाइट रिसोर्ट र चम्पादेवी हिलसाइड रिसोर्टजस्ता आवासका विकल्प उपलब्ध छन् ।

    दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतका अनुसार फर्पिङ क्षेत्रलाई धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटनको एकीकृत गन्तव्य बनाउने उद्देश्यले नगरपालिका योजनाबद्ध रूपमा अघि बढिरहेको छ । अहिले यस क्षेत्रका पर्यटकीय स्थलहरूको म्यापिङ गर्ने काम भइरहेको र चाँडै सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।

    फर्पिङ काठमाडौँ नजिकै रहेको ऐतिहासिक तथा धार्मिक महत्वको क्षेत्र भएकाले इतिहास अध्ययन गर्न चाहने, एकदिने पदयात्रामा निस्कने र पिकनिक मनाउन चाहने सबैका लागि उपयुक्त गन्तव्य बन्न सक्ने बस्नेतको भनाइ छ । उनका अनुसार क्षेत्रका पर्यटकीय स्थललाई व्यवस्थित रूपमा जोड्न सके आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन सकिन्छ ।

    जलविद्युत् क्षेत्रमा लगानी गर्दै आएका विजय सागर प्रधान पनि फर्पिङलाई ऐतिहासिक, सांस्कृतिक र शैक्षिक भ्रमणको गन्तव्यका रूपमा विकास गर्न सकिने प्रशस्त आधार रहेको बताउछन् । उनका अनुसार जलविद्युत् केन्द्रको संरक्षण र प्रवर्द्धनसँगै विद्यार्थी, इन्जिनियरिङका विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि विशेष शैक्षिक भ्रमण कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।

    जलाशय, पावरहाउस, पुराना टर्बाइन र जेनेरेटरको अवलोकनसँगै नेपालको जलविद्युत् विकासको इतिहास बुझ्ने अवसर दिन सके फर्पिङ शैक्षिक पर्यटनको महत्वपूर्ण केन्द्र बन्न सक्ने प्रधानको भनाइ छ । ऐतिहासिक जलविद्युत् केन्द्रलाई मन्दिर, गुफा, गुम्बा, पदयात्रा र स्थानीय आतिथ्यसँग जोड्न सके यस क्षेत्रले पर्यटनबाट स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्‍याउन सक्ने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images