काठमाडौं – निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको तयारी अघि बढाएको छ । जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुने भएपछि आयोगले निर्वाचनको मिति निर्धारण, व्यवस्थापन र आवश्यक पूर्वतयारीका विषयमा राजनीतिक दलहरूसँग परामर्श सुरु गर्न लागेको हो ।
यसैक्रममा आयोगले आज बिहान ११ः३० बजे राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनको तयारीका विषयमा आवश्यक सुझाव लिन दलहरूलाई छलफलका लागि आमन्त्रण गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दि ए। उनका अनुसार स्थानीय तहको निर्वाचनका विषयमा राजनीतिक दलहरूसँग परामर्श गर्न लागिएको हो ।
आयोगले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई छलफलमा बोलाएको छ । स्थानीय तह तथा प्रदेश तहको निर्वाचनसँग सम्बन्धित विषयमा दलका प्रतिनिधिहरूसँग आवश्यक परामर्श गरिने आयोगले जनाएको छ ।
स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा समाप्त हुँदैछ । त्यसलाई ध्यानमा राख्दै आयोगले नयाँ निर्वाचनको मिति, निर्वाचन व्यवस्थापन, आवश्यक स्रोतसाधन र तयारीका विषयमा गृहकार्य अघि बढाएको हो ।
आजको छलफलमा निर्वाचनको सम्भावित समयतालिका, निर्वाचन सञ्चालनका लागि आवश्यक पूर्वतयारी तथा व्यवस्थापनका विषयमा राजनीतिक दलहरूको सुझाव लिइनेछ । राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको छलफलपछि आयोगले अन्य दर्ता भएका राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने कार्यक्रम तय गरेको छ ।






















