images
images
  • दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

    काठमाडौं – कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने भएपछि बाँके र बर्दियामा तयारी तीव्र पारिएको छ। प्रतियोगिताअन्तर्गत बाँकेको नेपालगन्जमा पौडी र सुटिङ तथा बर्दियाको भुरीगाउँ र गुलरियामा क्रमशः खोखो र टेनिस प्रतियोगिता आयोजना हुनेछन् ।

    खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार मर्मत, खेलस्थल व्यवस्थापन तथा प्राविधिक तयारीलाई तीव्रता दिइएको साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले जानकारी दिए। उनका अनुसार नेपालगन्ज रङ्गशालास्थित पौडी पोखरीमा रङरोगन, टायल परिवर्तन तथा मर्मतसम्भारको काम भइरहेको छ। पोखरीको अवस्था सामान्यतः राम्रो भए पनि बाहिरी भागका टायल उप्किएकाले सुधार गर्नुपर्ने अवस्था रहेको र मर्मतको काम अन्तिम चरणमा पुगेको उनले बताए ।

    बर्दियाको ठाकुरबाबा नगरपालिका–भुरीगाउँस्थित खोखो कभर्ड हललाई पनि प्रतियोगिताका लागि तयार पारिएको छ । बर्दियामै हुने टेनिस प्रतियोगिता गुलरियास्थित कभर्ड हलमा सञ्चालन हुनेछ। दुवै खेलस्थलमा आवश्यक मर्मत तथा पूर्वाधार व्यवस्थापनको काम अघि बढाइएको छ ।

    दशौँ राष्ट्रिय खेलकुदका विभिन्न विधामा मङ्सिर ८ गतेदेखि प्रतिस्पर्धा सुरु हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन भने मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ। प्रतियोगितामा ३२ खेलका ३८४ इभेन्ट समावेश छन् । सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० गरी ११ टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ। कर्णाली प्रदेशका पाँच र लुम्बिनी प्रदेशका दुई जिल्लामा खेल सञ्चालन हुनेछन् । सुर्खेतमा २३ खेल आयोजना हुनेछन् भने नेपालगन्ज, बर्दिया र सल्यानमा समान दुई–दुई तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा एक–एक खेल सञ्चालन हुने कार्यक्रम छ ।

    बर्दियाको भुरीगाउँमा मङ्सिर १९ देखि २३ गतेसम्म खोखो प्रतियोगिता हुनेछ। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी हुनेछन्। यसका लागि प्रदेश तथा विभागीय टोलीले खेलाडी छनोट गरिसकेका छन् । लुम्बिनी प्रदेश खोखो सङ्घका महासचिव तथा प्रशिक्षक खगेन्द्र शाहीले लुम्बिनी प्रदेशको टोलीसमेत छनोट भइसकेको जानकारी दिए। अन्य प्रदेश र विभागीय टोली पनि प्रतियोगिताका लागि तयारी अवस्थामा रहेको उनले बताए ।

    भुरीगाउँस्थित कभर्ड हल खोखो खेलका लागि निर्माण गरिएको नेपालकै सुविधासम्पन्न हलमध्ये एक हो । म्याटसहितको सुविधा रहेको हलमा रङरोगन तथा आवश्यक मर्मतसम्भारको काम सम्पन्न भइसकेको छ। ठाकुरबाबा नगर खेलकुद विकास समितिका अध्यक्ष तीर्थबहादुर खड्काका अनुसार हलमा बत्ती जडानलगायत अन्य व्यवस्थापकीय काम पूरा भएका छन् । तर, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका बेला प्रयोग गरिएको म्याट पुरानो र जीर्ण भएकाले नयाँ खरिद गर्नुपर्ने आवश्यकता रहेको उनले बताए। उक्त म्याट करिब एक दशक पुरानो हो ।

    बर्दियामा प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेशस्तरीय प्राविधिक टोलीले पटक–पटक खेलस्थलको अनुगमन गरिसकेका छन् । बर्दिया खेलकुद विकास समितिका पूर्वअध्यक्ष खगेन्द्र खनालले प्रतियोगिता भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीय सरकार, खेलकुद विकास समिति तथा अन्य सरोकारवाला निकाय आ–आफ्नो क्षेत्रबाट जुटिरहेको बताए ।

    यता नेपालगन्जस्थित रङ्गशालामा पौडी र सुटिङ प्रतियोगिता सञ्चालन हुनेछन् । पौडी प्रतियोगिता मङ्सिर ८ गतेदेखि र सुटिङ मङ्सिर १६ गतेदेखि सुरु हुने तालिका छ । पौडी पोखरीको अवस्थाबारे निरीक्षण गर्न शनिबार प्राविधिक टोली नेपालगन्ज आउने तयारीमा रहेको प्रमुख चन्दले जानकारी दिए ।

    सुटिङ प्रतियोगिता सञ्चालन हुने रेन्जका बिग्रिएका १० वटा उपकरण मर्मतका लागि आवश्यक पाटपूर्जा विदेशबाट मगाइएको छ । ती सामान आइपुगेपछि जडान गरेर सुटिङ रेन्जलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाइने चन्दले बताए ।

    दशौँ राष्ट्रिय खेलकुदमा व्यक्तिगत स्पर्धातर्फ स्वर्ण पदक विजेताले २० हजार, रजत विजेताले १५ हजार र कास्य विजेताले आठ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, टोली स्पर्धामा स्वर्ण जित्नेले १५ हजार, रजतले १० हजार र कास्य पदक विजेताले आठ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    कर्णाली प्रदेशलाई मुख्य आयोजनास्थल बनाएर सञ्चालन हुन लागेको राष्ट्रिय खेलकुदका केही महत्त्वपूर्ण स्पर्धा लुम्बिनी प्रदेशमा समेत आयोजना हुनुले यस क्षेत्रका खेल पूर्वाधारको उपयोग र खेल गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । राष्ट्रियस्तरको प्रतियोगिता आफ्नै क्षेत्रमा आयोजना हुँदा स्थानीय खेलाडीले घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने अवसर पाउनुका साथै बाँके र बर्दियाको खेलकुद गतिविधि तथा पहिचान विस्तारमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images