काठमाडौं – युरोपेली नेताहरूले युक्रेनमा जारी युद्ध अन्त्य गर्न रुससँग वार्ता गर्न आफूहरू तयार रहेको बताएका छन् । उनीहरूको यो अभिव्यक्तिले युक्रेनप्रति युरोपको बलियो समर्थनलाई थप स्पष्ट पारेको छ ।बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले भने, “युरोपसँग वार्ताका लागि स्पष्ट, निरन्तर र एकीकृत धारणा छ ।” जर्मनीका चान्सलर फ्रेडरिक मर्जले भने मस्कोका ‘अधिकतम मागहरू’ यथार्थपरक नभएको बताएका छन् ।
उनीहरूले बर्लिनमा आयोजित युक्रेनका सहयोगी राष्ट्रहरूको शिखर सम्मेलनमा यस्तो धारणा व्यक्त गरेका हुन् । उक्त सम्मेलनलाई ‘कोलिसन अफ द विलिङ’ अर्थात् इच्छुक राष्ट्रहरूको गठबन्धन भनिन्छ ।बर्लिनमा उपस्थित दुई अमेरिकी विशेष दूतमध्ये एक तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नरले युरोपलाई साथमा लिएर रुससँग सम्झौता गर्न ट्रम्प इच्छुक रहेको बताए । रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले अमेरिकाको नेतृत्वमा भइरहेको शान्ति वार्तामा युरोपको सहभागितालाई अहिलेसम्म अस्वीकार गर्दै आएका छन् ।
यसअघि ट्रम्पले दक्षिण पूर्वी चीनको सेन्जेनमा पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग ऐतिहासिक त्रिपक्षीय वार्ता गरेका थिए । त्यसपछि उनले एयर फोर्स वान विमानबाटै बर्लिनमा भइरहेको शिखर सम्मेलनमा टेलिफोनमार्फत सहभागिता जनाएका थिए । ट्रम्प र सीसँगको वार्तापछि आयोजित लामो पत्रकार सम्मेलनमा पुटिनले बहुपक्षीय शान्ति वार्ताको विषयमा पनि धारणा राखेका थिए । उनले अमेरिकाले युरोपेली राष्ट्रहरूलाई पनि वार्तामा सहभागी गराउन रुसलाई ‘निरन्तर आग्रह’ गरिरहेको बताए । पुटिनले रुस युरोपको सहभागिताको विपक्षमा नरहेको दाबी गरे । मस्कोले युरोपले वार्तामा के योगदान दिन्छ भन्ने कुरा स्पष्ट पार्न चाहेको उनको भनाइ थियो ।
“त्यसैले कूटनीतिक माध्यमबाट हामीले युरोपेलीहरूलाई आफ्नो धारणा स्पष्ट पार्न मस्को आउन निमन्त्रणा दिएका छौँ । त्यसपछि मात्र युक्रेनसँगको संवादलाई कुन ढाँचामा अगाडि बढाउने भन्ने निर्णय गर्नेछौँ,” पुटिनले भने ।तर उनले युरोपेली नेताहरूले सन् २०३० सम्ममा युद्ध हुन सक्ने विषयमा दिनहुँ कुरा गरिरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।
“तर हामी कसैमाथि आक्रमण गर्ने योजना बनाइरहेका छैनौँ। के यो सामान्य कुरा होरु मलाई त्यस्तो लाग्दैन,” उनले भने । यद्यपि पुटिनले युरोपेली राष्ट्रहरूबिना युरोपको सुरक्षासम्बन्धी विषयमा छलफल गर्नु अर्थहीन हुने रुसले बुझेको पनि बताए । जारेड कुश्नरले भने सेन्जेनबाट फर्किएपछि अमेरिकी राष्ट्रपति ट्रम्प शान्ति सम्भव रहेको निष्कर्षमा पुगेको जानकारी दिए । आशावादी धारणा राख्दै कुश्नरले रुसी पक्ष अमेरिकी विशेष दूतहरूको निर्णयमा विश्वास गर्न तयार रहेको बताए । उनका अनुसार युरोपेली राष्ट्रहरू पनि वार्ताको टेबलमा बस्नुपर्ने अमेरिकी धारणा रुसले स्वीकार गरेको छ ।
त्यस्तै, युक्रेनमाथि आक्रमण भएमा सहयोगी राष्ट्रहरूले प्रतिरक्षा गर्नुपर्ने नेटोको धारा पाँचमा आधारित सुरक्षा प्रत्याभूति युक्रेनलाई दिने विषयमा पनि मस्को अहिले सहज देखिएको कुश्नरको दाबी छ । जर्मनीको राजधानीमा भएको सम्मेलनमा सहभागी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लामो समयदेखि नेटोको सामूहिक प्रतिरक्षा व्यवस्थासरहको सुरक्षा प्रत्याभूति माग गर्दै आएका छन् । तर पुटिनले यस्तो सर्त स्वीकार गर्ने कुनै स्पष्ट सङ्केत देखाएका छैनन् ।
रुसले युक्रेन नेटोको सदस्य बन्ने प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गर्दै आएको छ । तर केही रिपोर्टअनुसार अमेरिकी वार्ताकारहरूले युक्रेनले कठिन भूभागमय सम्झौता स्वीकार गरेमा नेटोको सदस्य नभए पनि धारा पाँचसरहको सुरक्षा प्रत्याभूति दिने विकल्पमाथि छलफल गरेका छन् । जेलेन्स्की र तीन युरोपेली नेता—जर्मन चान्सलर मर्ज, बेलायती प्रधानमन्त्री बर्नहम र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रो—कुश्नरजति आशावादी देखिएनन् ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसका राष्ट्रपतिले अहिलेसम्मका सबै प्रस्ताव अस्वीकार गरेको स्पष्ट पारे । “पुटिनले सधैँ अस्वीकार गर्दै आएका छन्,” उनले भने ।जर्मन चान्सलर मर्जले पनि शान्ति स्थापनाको सम्भावनाबारे शङ्का व्यक्त गरे । यद्यपि अमेरिकाको सहभागिताले शान्तिको सम्भावना बढाएको उनको भनाइ थियो । युरोपले रुससँग ‘युरोपेली सुरक्षासम्बन्धी गम्भीर छलफल’ गर्न चाहेको उनले बताए । त्यसका लागि पहिले युक्रेनसँग गम्भीर छलफल गरी शान्ति सम्झौता हुनुपर्ने उनको सर्त थियो ।
“यी वार्ता सुरु हुनुपर्छ । तर युरोप र युक्रेनका लागि स्वीकार्य सर्त भएमा मात्र हामी त्यसलाई स्वीकार गर्नेछौँ,” मर्जले भने । उनले विश्वका शक्तिशाली राष्ट्रहरूले युरोपलाई आ–आफ्नो प्रभाव क्षेत्रमा विभाजन गर्ने कुनै पनि प्रयास अस्वीकार्य हुने पनि बताए । सेन्जेनमा भएको त्रिपक्षीय वार्ताको एजेन्डामा यस्तो विषय समावेश भएको हुन सक्ने आशङ्का युरोपेली राष्ट्रहरूमा देखिएको छ । “‘याल्टा ढाँचा’ले शान्ति ल्याउन सक्दैन,” मर्जले भने । उनले सन् १९४५ मा दोस्रो विश्वयुद्धपछि अमेरिका, तत्कालीन सोभियत सङ्घ र बेलायतबिच भएको याल्टा सम्झौताप्रति सङ्केत गरेका थिए ।मर्जले सेन्जेन शिखर सम्मेलनलाई मुख्य रूपमा ‘फोटो खिच्ने अवसर’ मात्र भएको भन्दै त्यसको महत्त्वलाई कम देखाउने प्रयास पनि गरे ।
“हामीबिना शान्ति सम्भव छैन भन्ने कुरा अमेरिकाले बुझेको छ । अर्कोतर्फ, अमेरिका हाम्रो साथमा हुँदा शान्तिको सम्भावना बढ्छ भन्ने हामीलाई पनि थाहा छ,” उनले थपे ।पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले पनि सेन्जेन सम्मेलनमा ट्रम्पले पुटिनलाई ‘मित्र’ भनेर सम्बोधन गरेकोमा आपत्ति जनाए । “श्रीमान् पुटिन हाम्रो मित्र होइनन् र कहिल्यै हुने पनि छैनन्,” उनले भने । यसैबिच, फ्रान्सेली राष्ट्रपति म्याक्रोले युक्रेनलाई रुसी आक्रमणबाट जोगिन आवश्यक हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन सहयोगी राष्ट्रहरूले ‘अधिकतम प्रयास’ गर्नुपर्ने बताए ।उनले युक्रेनको नेटो सदस्यतासम्बन्धी विषयलाई पुनः छलफलमा ल्याउन पनि सहयोगी राष्ट्रहरूलाई आग्रह गरे ।
वार्तामा युरोपको सहभागिताबारे मस्कोबाट भने फरक–फरक धारणा सार्वजनिक भइरहेका छन् । गत साता मस्को भ्रमणपछि अमेरिकी विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नरले युरोपले छिट्टै वार्ताको टेबलमा स्थान पाउनेमा आफूहरू विश्वस्त रहेको बताएका थिए । तर रुसी पक्षले भने यस विषयमा सतर्क धारणा राखेको थियो । यसै साता पुटिनका सहयोगी युरी उशाकोभले वार्ताको ढाँचा विस्तार गर्नुअघि ‘धेरै काम गर्न बाँकी’ रहेको बताएका थिए । चार पक्षीय वार्ता सुरु हुनुअघि थप केही चरणका छलफल आवश्यक पर्ने उनको भनाइ थियो ।
रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण स्तरको सैन्य आक्रमण सुरु गरेको थियो । पछिल्लो एक वर्षमा रुसले विभिन्न चरणका वार्तामा सहभागिता जनाए पनि युक्रेनविरुद्धको युद्ध कम गर्ने सोचमा क्रेमलिन रहेको सङ्केत उसका अभिव्यक्ति वा गतिविधिबाट देखिएको छैन ।
जाडो मौसम सुरु भएसँगै रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई ध्वस्त पार्ने उद्देश्यले राजधानी किभ सहित विभिन्न क्षेत्रमा लगातार आक्रमण गरिरहेको छ । देशभर सर्वसाधारण नागरिकको मृत्यु हुने घटना बढिरहेका छन् । क्रेमलिनका अधिकारीहरूले युक्रेनको सार्वभौम भूभागसम्बन्धी रुसका मागबाट पछि हट्ने सङ्केत पनि दिएका छैनन् । बिहीबार चीन र जर्मनीमा प्रतिनिधिमण्डलहरू छलफलमा व्यस्त रहँदा युक्रेनको राजधानी किभको ऐतिहासिक केन्द्रका केही भवनहरूमा ड्रोन आक्रमण भएको थियो । पोडिल्स्की क्षेत्रमा रहेको एक आवासीय भवनमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको थियो । नेदरल्यान्ड्स र अस्ट्रियाका दूतावास तथा सेन्ट भोलोदिमिर क्याथेड्रलमा पनि क्षति पुगेको जानकारी दिइएको थियो ।
त्यस्तै, रुसले कब्जा गरेको त्रिमियालाई रुसी भूभागसँग जोड्ने क्रिमियन पुलमाथि युक्रेनले गरेको आक्रमणको जवाफ पहिलेभन्दा ‘निकै पीडादायी’ हुने पुटिनले चेतावनी दिएका छन् । उनले केही क्षेत्रमा सम्भावित युद्ध विरामबारे छलफल गरेको पनि बताए। तर क्रिमियन पुलमाथिको आक्रमणपछि त्यसलाई अघि नबढाउने निर्णय गरेको उनको भनाइ थियो । यद्यपि पुटिनले आफू युद्ध अन्त्य गर्न ‘इच्छुक’ रहेको र सम्झौता गर्न तयार रहेको दाबी गरे। उनले युक्रेन र युरोप भने सम्झौता गर्न तयार नरहेको आरोप लगाए । “म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु, यो सशस्त्र द्वन्द्वलाई निरन्तरता दिने हाम्रो कुनै चाहना छैन,” पुटिनले भने ।
तर रुसले पछिल्ला महिनाहरूमा युक्रेनका महत्त्वपूर्ण पूर्वाधारमाथिको आक्रमण तीव्र बनाएको छ । चिसो मौसम नजिकिँदै गर्दा यस्ता आक्रमण थप बढेका छन् । किभ र उसका युरोपेली सहयोगी राष्ट्रहरूको भनाइमा, विशाल युद्ध मोर्चामा कुनै ठुलो सफलता हासिल गर्न नसकेपछि क्रेमलिन प्रमुख पुटिनले लाखौँ युक्रेनी नागरिकलाई विद्युत् र खानेपानी बाट वञ्चित गरेर उनीहरूको प्रतिरोधी क्षमता कमजोर पार्न खोजिरहेका छन् ।






















