सेन्जेन– बिहीबार हुन लागेको अभूतपूर्व त्रिपक्षीय वार्ताअघि अधिकारीहरूले स्पष्ट रूपमा भनेका थिए– ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीचको भेटवार्ताबाट कुनै ठूला सम्झौता हुने सम्भावना कम छ ।’
कूटनीतिक सफलता हासिल गर्नु नै यो बैठकको मुख्य उद्देश्य थिएन ।
तीन नेताबिचको वार्ता आफैँमा एउटा उपलब्धि थियो ।
तीनै नेताले यस भेटबाट आफ्नो प्रभाव र शक्ति प्रदर्शन गर्दै केही न केही हासिल गर्ने अपेक्षा गरेका थिए ।
पुटिनका लागि यो विश्वकै सबैभन्दा ठुलो मञ्चमा पुनः देखा पर्ने अवसर थियो ।
युक्रेनमाथि आक्रमण गरेपछि झन्डै पाँच वर्षअघि अन्तर्राष्ट्रिय समुदायबाट अलग्याइएका उनी यस पटक आफूभन्दा निकै शक्तिशाली राष्ट्रका नेताहरूसँग एउटै मञ्चमा देखिए ।
बैठकपछि जारी संयुक्त वक्तव्यमा सरकारी अधिकारीहरूलाई कानुनी उन्मुक्ति दिने विषयलाई ‘आधारभूत महत्त्वको’ भनिएको छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेका पुटिनका लागि यो विषय विशेष महत्त्वको थियो ।
सीले भने चीनलाई कूटनीतिक रूपमा प्रभावशाली शक्तिका रूपमा प्रस्तुत गर्ने अवसर पाए ।
घरेलु अर्थतन्त्रका समस्याले उनलाई दबाबमा राखिरहेका बेला उनले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभाव देखाउन सके ।
यसैबीच, यसै महिनाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय व्यहोरेपछि आफ्नो राजनीतिक प्रभाव कमजोर बन्दै गएको अवस्थामा ट्रम्पले पनि आफू अझै अन्तर्राष्ट्रिय राजनीतिमा सक्रिय र प्रभावशाली रहेको देखाउने अवसर पाए ।
आफ्नै देशमा लगभग असीमित अधिकार प्रयोग गरिरहेका दुई नेतासँगको भेटले उनलाई यस्तो सन्देश दिन सहयोग गर्यो ।
‘वार्ता र आपसी संवादका अवसर अस्वीकार गरेर कहिल्यै शान्ति स्थापना भएको छैन,’ बैठक सुरु गर्दै ट्रम्पले भने, ‘हामी फरक बाटो रोजिरहेका छौँ ।’
‘हेरौँ, हामी केही उपलब्धि हासिल गर्न सक्छौँ कि सक्दैनौँ,’ पत्रकारहरूलाई बाहिर पठाउनुअघि उनले भने ।
सेन्जेनमा भएको शिखर सम्मेलनका पाँच मुख्य निष्कर्ष यहाँ प्रस्तुत छन् ।
१. यो बैठकको उद्देश्य के थियो ?
बिहीबारको बैठकलाई इतिहासको महत्त्वपूर्ण मोडका रूपमा सम्झिइनेछ वा अर्को एउटा औपचारिक तस्बिर खिच्ने अवसरका रूपमा मात्र सीमित हुनेछ भन्ने कुरा अझै स्पष्ट भएको छैन ।
८१ मिनेटको बैठकमा युद्ध, अर्थतन्त्र र अत्याधुनिक प्रविधिजस्ता विषयमा तीन देशबिच रहेका सबै प्रमुख मतभेद समाधान हुने सम्भावना थिएन ।
वार्ताअघि तीनै नेताका उद्देश्य फरक देखिएका थिए ।
यो शिखर सम्मेलनको प्रस्ताव सुरुमा पुटिनले गरेका थिए ।
युक्रेनका प्रतिनिधि सहभागी नगराई युक्रेन युद्धबारे छलफल गर्ने उनको उद्देश्य थियो ।
यस प्रस्तावले किएभमा चिन्ता उत्पन्न गराएको थियो ।
सन् १९४५ को याल्टा सम्मेलनसँग पनि यसको तुलना गरिएको थियो ।
उक्त सम्मेलनमा दोस्रो विश्वयुद्धपछि विश्वका शक्तिशाली राष्ट्रहरूले विभिन्न क्षेत्रलाई आफ्नो प्रभाव क्षेत्रका रूपमा बाँडेका थिए ।
सी र पुटिन दुवैले बैठकको सुरुवाती मन्तव्यमा दोस्रो विश्वयुद्धपछिको समयलाई स्मरण गरे ।
त्यति बेला शक्तिशाली राष्ट्रहरू एकजुट भएर विश्वको भविष्य निर्धारण गर्न अघि बढेका थिए ।
उनीहरूको भनाइले बिहीबारको भेटलाई कसरी हेरिरहेका थिए भन्ने सङ्केत गरेको थियो ।
सुरुमा अमेरिकी अधिकारीहरूले युक्रेनको विषय बैठकको कार्यसूचीमा नरहेको बताएका थिए ।
तर पछि ट्रम्पले आफूले यो विषय उठाउने बताएका थिए ।
‘मलाई लाग्छ, केही भइरहेको छ । मलाई लाग्छ, पुटिन र म तथा अर्को पक्ष पनि यो युद्ध अन्त्य भएको हेर्न चाहन्छौँ,’ बैठक सुरु हुँदा ट्रम्पले भनेका थिए ।
ट्रम्पका लागि सबैभन्दा महत्त्वपूर्ण विषय विश्वका प्रमुख आणविक सक्तीबिच आणविक हतियार नियन्त्रणबारे छलफल गर्नु थियो ।
ट्रम्प मस्को र बेइजिङसँग नयाँ आणविक अप्रसार सम्झौता गर्न चाहन्छन् ।
यस्तो सम्झौता गर्न कठिनाइ हुने कुरा उनले खुलेर स्वीकार गरेका थिए ।
‘एक पटक आणविक हतियार प्राप्त गरिसकेपछि त्यसलाई त्याग्न निकै कठिन हुन्छ,’ उनले भने, ‘जीवनको वास्तविकता यस्तै हो ।’
चीनसँग भएका आणविक हतियारको तुलनामा अमेरिका र रूससँगको भण्डार धेरै गुणा ठुलो भएकाले सी यस्तो सम्झौतामा सहभागी हुन इच्छुक देखिएका छैनन् ।
अमेरिकी अधिकारीहरूका अनुसार, सी सुरुमा त्रिपक्षीय वार्ता आयोजना गर्नसमेत अनिच्छुक थिए ।
यस्तो बैठकले उनको आयोजनामा भइरहेको एपेक शिखर सम्मेलनको महत्त्व ओझेलमा पार्न सक्ने उनको चिन्ता थियो ।
बैठक सुरु हुनुभन्दा केही घण्टाअघि ट्रम्पलाई यी दुई निरङ्कुश नेतासँग एकैसाथ भेट्दा के फाइदा हुन्छ भनेर सोधिएको थियो ।
‘उनीहरू दुवै ट्रम्पलाई मन पराउँछन्,’ उनले जवाफ दिए । ‘तर मपछि के हुन्छ ? त्यो कुरा म भन्न सक्दिनँ ।’
२. व्यक्तिगत सम्बन्ध निर्माण
तीन नेताका फरक–फरक उद्देश्य बैठक स्थलमा पुगेपछि त्यति महत्त्वपूर्ण देखिएनन् ।
उनीहरू सेन्जेनस्थित बाघ सफारी पार्कनजिकै रहेको काइलिन भिल्लामा भेला भएका थिए ।
तीनै जना गोलो टेबलमा समान दूरी कायम गरी बसेका थिए ।
सी बिचमा थिए ।
‘हामी वास्तवमै इतिहास रचिरहेका छौँ,’ ट्रम्पले गर्वका साथ भने, ‘हामी तीनै जनासँग छलफल गर्नुपर्ने धेरै विषय छन् ।’
तीन नेताबिचको सम्बन्ध जटिल छ ।
ट्रम्पले पछिल्ला दुई वर्षदेखि सी र पुटिन दुवैसँग व्यक्तिगत सम्बन्ध प्रगाढ बनाउन निरन्तर प्रयास गर्दै आएका छन् ।
व्यक्तिगत सम्बन्ध बलियो बनाएर अन्तर्राष्ट्रिय राजनीतिमा सहजता ल्याउन सकिने उनको अपेक्षा छ ।
उनले आफ्ना समकक्षी नेताहरूको प्रशंसा गर्दै उनीहरूलाई महत्त्व दिने र भव्य शिखर सम्मेलन आयोजना गर्ने रणनीति अपनाएका छन् ।
यसअघि भएका छुट्टाछुट्टै भेटमा उनले दुवै नेतालाई ‘मित्र’ भनेका थिए ।
सीसँगको भेटमा ट्रम्पले भनेका थिए, ‘तपाईँ र म नेतृत्वमा रहुन्जेल हामीबीच कहिल्यै समस्या आउनेछैन भन्ने मलाई लाग्छ ।’
यस्तो प्रशंसाले अहिलेसम्म कुनै उल्लेखनीय कूटनीतिक सफलता दिलाउन सकेको छैन ।
गत वर्ष अलास्कामा भएको शिखर सम्मेलनपछि पुटिनसँगको सम्बन्धले पनि युक्रेन युद्ध अन्त्य गर्न नसकेको भन्दै ट्रम्पले असन्तुष्टि व्यक्त गरेका छन् ।
अमेरिका र चीनबिच व्यापार तथा दुर्लभ खनिज पदार्थको आपूर्तिसम्बन्धी विवाद अझै कायम छ ।
त्यस्तै, दुवै देशले इरानलाई सहायता र प्रविधि उपलब्ध गराइरहेका छन् ।
सी र पुटिनले पाँच वर्षअघि आफूहरू ‘कुनै सीमाविनाको’ साझेदार भएको घोषणा गरेका थिए ।
त्यसयता उनीहरू दर्जनौँ पटक भेटिसकेका छन् ।
बुधवार यहाँ भएको अर्को भेटपछि चिनियाँ सरकारी सञ्चारमाध्यमले दुई देशबिचको सम्बन्धलाई ‘आँधीबेहरी र वर्षाका बिच पनि चट्टानझैँ अडिग’ रहेको उल्लेख गरेको थियो ।
सी र पुटिन लामो समयदेखि विश्व शक्ति सन्तुलन आफ्नो पक्षमा परिवर्तन भइरहेको साझा बुझाइबाट एकजुट छन् ।
उनीहरूका अनुसार पूर्वको उदय भइरहेको छ भने पश्चिमको प्रभाव घट्दै गएको छ ।
अर्को शब्दमा भन्नुपर्दा, अमेरिकी महाशक्तिको युग अन्त्य हुँदै छ भन्ने उनीहरूको बुझाइ छ ।
ट्रम्पसँगको यो अभूतपूर्व त्रिपक्षीय भेटले सी र पुटिन दुवैलाई आफ्नो उक्त दृष्टिकोण पुष्टि गर्न प्रयोग गर्न सकिने एउटा नयाँ र ऐतिहासिक उदाहरण दिएको छ ।
३. युद्धमा अल्झिएका तीन राष्ट्र
बिहीबारको बैठकमा सहभागी तीनमध्ये दुई नेता अपेक्षाभन्दा लामो समयदेखि साना प्रतिद्वन्द्वी राष्ट्रसँग युद्धमा संलग्न छन् ।
ट्रम्पको इरानसँगको युद्ध र पुटिनको युक्रेनमाथिको युद्धले सैन्य स्रोतसाधनमा ठुलो दबाब सिर्जना गरेका छन् ।
यी युद्धका कारण विश्व बजारमा मूल्यवृद्धि भएको छ ।
विश्वव्यापी स्थिरतामाथि खतरा उत्पन्न भएको भन्दै सी पनि चिन्तित छन् ।
ट्रम्पले सी र पुटिनसँग यी दुवै युद्धबारे छलफल गर्ने अपेक्षा गरेका थिए ।
दुवै नेताको तेहरानसँग सम्बन्ध कायम छ ।
ट्रम्पले मस्को वा बेइजिङलाई इरानसँगको सम्बन्ध तोड्न दबाब दिएका छैनन् ।
वास्तवमा, युक्रेनमाथि आक्रमणपछि रुसमाथि लगाइएका प्रतिबन्धमध्ये रूसी डिजेलसम्बन्धी प्रतिबन्ध उनले खुकुलो बनाएका थिए ।
इरान युद्धका कारण बढेको इन्धनको मूल्य घटाउने उद्देश्यले उनले यस्तो निर्णय गरेका थिए ।
यसले अप्रत्यक्ष रूपमा रूसलाई युद्धबाट आर्थिक लाभ लिन सहयोग पुर्याएको छ ।
ट्रम्प युद्धका कारण निराश हुँदै गएका छन् ।
सुरुमा छ हप्तासम्म मात्र चल्ने बताएका इरानसँगको युद्ध अमेरिकाभित्र अत्यन्तै अलोकप्रिय बनेको छ ।
आफ्नै स्वीकारोक्तिअनुसार यस युद्धले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको ठुलो पराजयमा योगदान पुर्याएको छ ।
अहिले उनी इरानमा पुनः सघन बम बारी सुरु गर्न सकिने सैन्य विकल्पबारे विचार गरिरहेका छन् ।
यसैबीच, पदभार ग्रहण गरेको २४ घण्टाभित्रै युक्रेन युद्ध अन्त्य गर्ने उनको चुनावी प्रतिबद्धता पूरा हुनुपर्ने समयभन्दा अहिले ६६७ दिन बितिसकेको छ ।
युद्ध अन्त्य गर्न सी र पुटिनले कति सहयोग गर्नेछन् भन्ने स्पष्ट छैन ।
युक्रेन र इरानका प्रतिनिधि सहभागी नभएको शिखर सम्मेलनले शान्ति स्थापनाका लागि कति योगदान दिन सक्छ भन्ने पनि सीमित देखिन्छ ।
यद्यपि, ट्रम्प भने आशावादी देखिएका थिए ।
सीसँगको भेटअघि उनले भनेका थिए, ‘यसबाट केही उपलब्धि हासिल होला कि नहोला भनेर धेरै मानिसहरू निश्चित थिएनन् । तर मलाई लाग्छ, यसबाट केही न केही परिणाम आउनेछ। मलाई यसमा निकै बलियो विश्वास छ ।’
उता बर्लिनमा जेरेड कुशनरले ट्रम्पले सेन्जेन बैठकमा टेलिफोनमार्फत सहभागिता जनाउँदै छलफलको मूल्याङ्कन गरेको जानकारी दिए ।
जर्मनी, फ्रान्स, युक्रेन र बेलायतका नेताहरूसँगै ‘कोलिसन अफ द बिलिङ’ अर्थात् इच्छुक राष्ट्रहरूको गठबन्धनको शिखर सम्मेलनमा बोल्दै ट्रम्पका ज्वाइँ कुशनरले राष्ट्रपति ट्रम्पले सी र पुटिन दुवैलाई शान्तिका लागि आफ्नो स्पष्ट सन्देश दिएको बताए ।
उनका अनुसार ट्रम्पले शान्ति स्थापनाका लागि दुवै नेतासँग आक्रामक रूपमा संवाद र सहकार्य गर्न चाहेको बताएका थिए ।
कुशनरले थप विवरण नदिए पनि ट्रम्प ‘शान्ति सम्भव छ भन्ने विश्वासका साथ बैठकबाट बाहिरिएको’ बताए ।
राष्ट्रपतिका विशेष दूत स्टिभ विटकफले पनि सेन्जेनमा भएको छलफलमा ट्रम्पले ‘युक्रेन र युद्धको शान्तिपूर्ण अन्त्य’लाई आफ्नो सन्देशको मुख्य विषय बनाएको बताएका थिए ।
आधुनिक महानगरको बाहिरी क्षेत्रमा रहेको सरकारी अतिथि गृहभित्र गोलो टेबलमा भेला भएका तीनै नेताले जटिल विश्व परिस्थितिलाई संयुक्त रूपमा व्यवस्थापन गर्ने जिम्मेवारी आफूहरूमाथि रहेको बताएका थिए ।
‘इतिहासले हामीलाई सिकाएको छ– जब ठुला शक्तिहरू शान्तिमा हुन्छन्, विश्व सुरक्षित हुन्छ । जब ठुला सक्तीहरूबिच द्वन्द्व हुन्छ, विश्व अराजकतामा फस्छ,’ वार्ता सुरु गर्दै सीले भने ।
कृत्रिम बौद्धिकतामा विश्व प्रभुत्वको प्रतिस्पर्धा
ट्रम्प सेन्जेन आई पुग्नुअघि नै नभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत जेन्सेन हु आङ र चीनको गुप्तचर निकायसँग सम्बन्ध रहेको आरोप लागेकी एक महिलासम्बन्धी विवादले उनको भ्रमणलाई छायामा पारेको थियो ।
त्यसै गरी, अमेरिकामा एकपछि अर्को गर्दै सेवा अवरुद्ध भइरहेका घटनाले पनि चिन्ता बढाएको थियो ।
केही अवरोध कृत्रिम बौद्धिकता (एआई) प्रणालीमा गरिएको अद्यावधिकका कारण उत्पन्न भएका थिए ।
यी समस्यालाई सम्बोधन गर्न अमेरिकी प्रशासनले सुरुमा ढिलाइ गरेको भन्दै आलोचना भएको थियो ।
चीनको प्रविधि तथा चिप उत्पादनको चम्किलो केन्द्र सेन्जेनमा उभिएर हेर्दा तीव्र गतिमा विकास भइरहेको एआई उद्योगमा अमेरिकाले कसरी प्रतिस्पर्धा गर्ने भन्ने प्रश्न झन् महत्त्वपूर्ण बनेको थियो ।
हु आङसँग सम्बन्धित खुलासाले चीनलाई शक्तिशाली एआई चिप बिक्री गर्ने वा नगर्ने भन्ने विषयमा ट्रम्प प्रशासनभित्र गहिरो मतभेद रहेको पनि उजागर गरेको थियो ।
बुधवार साँझ सीसँगको रात्रि भोजमा ट्रम्पले यो विषय छोटो समयका लागि मात्र उठाएको पछि बताएका थिए ।
चीन भ्रमणमा निस्कनुअघि उनले जासुसीसम्बन्धी विषयलाई अत्यधिक जोड दिएर चीनलाई ‘अपमानित’ गर्न नचाहेको बताएका थिए ।
उनको प्रशासनका धेरै अधिकारी चीनप्रति कडा नीति अपनाउनुपर्ने पक्षमा छन् ।
उनीहरू चीनको अत्याधुनिक एआई चिपमा पहुँच रोक्न चाहन्छन् ।
ट्रम्प भने एआईको विकासलाई ‘अवरोध’ पुर्याउने कुनै पनि कदमको विपक्षमा देखिएका छन् ।
‘हामी यो प्रविधिको विशाल सम्भावनालाई नष्ट गर्ने कुनै काम गर्न चाहँदैनौँ,’ उनले भने । ‘हामी विश्वव्यापी नियमनका कुनै पनि स्वरूपको विरोध गर्छौँ ।’
यद्यपि, एसियाली नेताहरूसँग कुरा गर्दा ट्रम्पले एआईमा सम्भावित जोखिम रहेको स्वीकार गरेको देखिन्थ्यो ।
‘हामी सतर्क हुनुपर्छ। यसको संरक्षण गर्नुपर्छ । यो लगभग पूर्ण रूपमा राम्रो छ, तर यसमा केही खराब पक्ष पनि छन्,’ उनले भने । ‘ती खराब पक्षलाई व्यवस्थापन गर्दा हामी अत्यन्तै सावधान हुनुपर्छ ।’
५. कूटनीतिक शक्तिका रूपमा सीको उदय
बेइजिङले यो शिखर सम्मेलनलाई चिनियाँ कूटनीतिको ठुलो सफलताका रूपमा लिनेछ ।
ट्रम्पले चीनको प्रशंसा गर्नु र आफू तथा सी नेतृत्वमा रहुन्जेल दुई देशबिच ‘कहिल्यै समस्या नआउने’ बताउनु चिनियाँ नेतृत्वका लागि स्वागतयोग्य सन्देश हो ।
अमेरिकी सांसदहरूले चीनको अत्याधुनिक अमेरिकी प्रविधिमा पहुँच नियन्त्रण गर्नुपर्ने माग बढाइरहेका बेला बेइजिङले अमेरिकाको चीन नीतिमा आउन सक्ने परिवर्तनलाई नजिकबाट नियालिरहेको छ ।
विशेष गरी अमेरिकी कङ्ग्रेसमा शक्ति सन्तुलन परिवर्तन हुन लागेको र ट्रम्प आफ्नो अन्तिम कार्यकालको अन्तिम चरणमा प्रवेश गरिरहेका बेला चीनले उनको सद्भावनाबाट लाभ उठाउन चाहेको देखिन्छ ।
सीले विमानस्थलमै ट्रम्पलाई दिएको असाधारण स्वागत र दुई नेताबिचको भेटमा देखिएको आत्मीयता पनि यही उद्देश्यअनुसार सावधानीपूर्वक तय गरिएको थियो ।
त्रिपक्षीय बैठकबाट कुनै ठोस परिणाम ननिस्कनुले पनि बेइजिङको उद्देश्य पूरा गर्न सहयोग गरेको छ ।
युक्रेनको भविष्यबारे छलफल गर्दा याल्टा सम्मेलनजस्तै दृश्य सिर्जना हुने सम्भावनाप्रति सी सचेत रहेको विश्लेषण गरिएको थियो ।
यस्तो दृश्यले विश्व मञ्चमा बहुपक्षीयताको प्रवर्द्धन गर्ने चीनको घोषित नीतिसँग विरोधाभास उत्पन्न गर्न सक्थ्यो ।
त्यसको सट्टा सीले कुनै जटिल प्रतिबद्धता नगरी आफूलाई अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न सक्ने र विश्वका शक्तिशाली राष्ट्र बिच मध्यस्थता गर्न सक्ने नेताका रूपमा प्रस्तुत गर्ने अवसर पाए ।
यसले चीनलाई अमेरिकासँग काँधमा काँध मिलाएर उभिन सक्ने कूटनीतिक शक्ति भएको सन्देश दिन सहयोग गरेको छ ।
यो सीका लागि उपयुक्त समयमा आएको सफलता पनि हो ।
आगामी वर्ष हुने चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण सम्मेलनअघि उनी आफ्नो अन्तर्राष्ट्रिय छवि र राजनीतिक प्रभाव बलियो बनाउन चाहन्छन् ।
उक्त सम्मेलनमा चीनको शक्ति संरचनाको सर्वोच्च नेतृत्वमा आफ्नो चौथो कार्यकाल सुनिश्चित गर्ने अपेक्षा सीले गरेका छन् ।






















