images
images
  • हरिबोधिनी एकादशीमा नारायण मन्दिरमा भक्तजनको घुइँचो, बूढानीलकण्ठमा राति १ः३० बजेदेखि दर्शन

    काठमाडौं – कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौं उपत्यकाका चार नारायणसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । भगवान् विष्णुको पूजा, आराधना र दर्शन गर्न बिहानैदेखि मन्दिरहरूमा भक्तजनको लाम लागेको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ । चार महिनापछि भगवान् विष्णु जागा हुने दिनका रूपमा मनाइने हरिबोधिनी एकादशीमा व्रत, पूजा र दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

    यस अवसरमा उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यी चार मन्दिरलाई सामूहिक रूपमा चार नारायणका नामले चिनिन्छ । एकैदिन चारै नारायणको दर्शन र पूजाआजा गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण टाढाटाढाबाट समेत भक्तजन सवारीसाधन रिजर्भ गरेर दर्शनका लागि आउने गरेका छन् ।

    चार नारायणको दर्शन गर्न नसक्ने भक्तजन बूढानीलकण्ठस्थित नारायणस्थान पुग्ने गरेका छन् । चार नारायणको दर्शन गर्न नसक्नेले बूढानीलकण्ठ नारायणस्थानमा पूजा तथा दर्शन गरे पनि मनोकामना पूरा हुने विश्वास छ । यहाँ एउटै विशाल ढुंगामा भगवान् विष्णु र शिवको मूर्ति स्थापना गरिएको छ । बूढानीलकण्ठ नारायणस्थानमा राति १ बजेदेखि नै भक्तजनको आगमन सुरु भएको महन्त निगमानन्द स्वामीले जानकारी दिए । भक्तजनको चाप बढेपछि बूढानीलकण्ठ नारायणस्थान दशनामी मठले राति १ः३० बजेदेखि नै मन्दिरको ढोका दर्शनार्थीका लागि खुला गरेको थियो ।

    आज पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको मठले जनाएको छ । बिहान ६ बजेसम्म हजारौँ भक्तजनले विशेष पूजाआजा तथा दर्शन गरिसकेको महन्त स्वामीले बताए । मठका अनुसार विशेष पूजाका लागि बिहान १ः३० देखि सवा ८ बजेसम्म मन्दिर दर्शनार्थीका लागि बन्द गर्ने कार्यक्रम रहेको छ । बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमा अर्थात् मङ्सिर ८ गतेसम्म विशेष मेला लाग्नेछ । जलकुण्डमाथि भगवान् नारायण शयन गरिरहेको अलौकिक मूर्ति यहाँको प्रमुख धार्मिक आकर्षण हो । उक्त मूर्ति अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकसमेत बूढानीलकण्ठ पुग्ने गर्छन् ।

    हरिबोधिनी एकादशीको अवसरमा मठले प्रत्येक वर्ष श्रीमद्भागवत कथा वाचन गराउँदै आएको छ । यस वर्ष मङ्सिर २ गतेदेखि सुरु भएको महायज्ञ तथा धार्मिक महोत्सव मङ्सिर ८ गतेसम्म सञ्चालन हुने जनाइएको छ । यसैगरी, नारायणहिटी दरबार क्षेत्रस्थित चतुर्व्यूह नारायण मन्दिर, हाँडीगाउँ, हनुमानढोका दरबार क्षेत्र र पशुपति क्षेत्रका नारायण मन्दिर तथा गोकर्णेश्वर नगरपालिकाको नारायणटारस्थित नारायण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । उपत्यकाबाहिरका विभिन्न नारायण मन्दिरमा समेत बिहानैदेखि पूजा, आराधना र दर्शनका लागि भक्तजन पुगेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images