images
images
  • उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

    काठमाडौं – उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व आज सम्पन्न भएको छ । महोत्तरीसहित तराई–मधेशका विभिन्न जिल्लामा चार दिनसम्म धार्मिक विधिपूर्वक मनाइएको छठ पर्वको अन्तिम दिन सोमबार बिहान बर्तालुले उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

    गत शनिबार पञ्चमी तिथिदेखि निराहार व्रत सुरु गरेका बर्तालुले आइतबार साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गरेका थिए । त्यसपछि सोमबार बिहान सूर्योदयसँगै नदी, पोखरी, तलाउ तथा विभिन्न जलाशयमा बनाइएका छठघाटमा पुगेर सूर्यदेवलाई दोस्रो अर्घ्य दिएसँगै पर्व सम्पन्न भएको हो ।

    सूर्य उपासनाको यो पर्व सम्पन्न भएपछि बर्तालु छठघाटबाट घर फर्किएका छन् । यसअघि कात्तिक शुक्ल चतुर्थीका दिन पवित्र स्नान गरी चोखोनीतो खाएर व्रतको सङ्कल्प गर्दै ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरिएको थियो। पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो भोजन गरेर ‘खरना’ विधि सम्पन्न गरिएको थियो ।

    कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्वमा सूर्यदेव र छठी माताको पूजा आराधना गरिन्छ । यस पर्वमा षष्ठी तिथिको साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधिलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ । त्यस्तै सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गर्ने विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने गरिन्छ ।

    छठ पर्व सम्पन्न गरेर घर फर्किएपछि बर्तालुले दीनदुःखी तथा आशामुखीलाई अन्न र वस्त्र दान गर्ने परम्परा छ । त्यसपछि परिवारका सदस्य तथा आफन्तसँग प्रसाद ग्रहण गर्ने र बाँड्ने क्रम सुरु हुन्छ ।

    छठ पर्वमा सूर्यदेवलाई चढाइएका ठकुवा, भुसुवा, केरा, अन्य फलफूल तथा माटोका भाँडामा जमाइएको दहीलाई विशेष प्रसादका रूपमा ग्रहण गरिन्छ । मिथिला क्षेत्रमा छठको प्रसाद बाँड्ने परम्परा निकै आत्मीय मानिन्छ । विशेषगरी छोरीचेली, फुपू, मित तथा अन्य इष्टमित्रका घरमा सोलीमा राखेर प्रसाद पठाउने चलन छ । मिथिलामा छठको प्रसाद खाने र खुवाउने क्रम एक महिनासम्म चल्ने गर्दछ ।

    छठ व्रत गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने तथा रोगव्याधिबाट मुक्ति मिल्ने धार्मिक जनविश्वास रहिआएको छ । श्रद्धा, निष्ठा र कठोर नियमका साथ मनाइने छठ पर्वले पारिवारिक एकता, सामाजिक सद्भाव र सांस्कृतिक सम्बन्धलाई समेत बलियो बनाउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images