images
images
  • सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

    काठमाडौं प्रधानमन्त्री वालेन्द्र शाहले सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले छठले जीवनको गहिरो दर्शन सिकाउने उल्लेख गरेका छन् । उनले प्रकृति र आस्थासँग जोडिएको यस पर्वले जीवनका हरेक अवस्थालाई सम्मान गर्न तथा प्रकृतिप्रति कृतज्ञ हुन प्रेरित गर्ने बताएका छन् ।

    प्रधानमन्त्री शाहले भगवान् सूर्यदेव र छठी माताको आराधना गर्दै परिवारको सुख, शान्ति, आरोग्य तथा सन्तानको दीर्घायुको कामना गरेर छठ मनाइने बताएका छन् । उदाउँदो सूर्यलाई जस्तै अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिने परम्पराले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका सबै अवस्थाको सम्मान गर्न सिकाउने उनको भनाइ छ ।

    चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिने परम्परा रहेको प्रधानमन्त्रीले सन्देशमा स्मरण गरेका छन् ।

    छठ पर्वले सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको सङ्कल्प पूरा गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उनले गरेका छन् । साथै, भगवान् सूर्यदेव र छठी माताको कृपा सबैमा रहिरहोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री शाहले मैथिली भाषामा पनि छठको शुभकामना दिँदै भनेका छन्, “छैठके बहुत रास शुभकामना ! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images