काठमाडौं – सूर्यदेवको आराधना, उपासना र पूजाआजासहित मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदैछ । चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा बर्तालुले सूर्यदेव र षष्ठी माताको पूजा आराधना गरी परिवारको सुख, शान्ति, समृद्धि र सन्तानको दीर्घायुको कामना गर्ने धार्मिक परम्परा छ ।
महाभारत र पुराणमा छठको प्रसङ्ग
ऐतिहासिक तथा पौराणिक मान्यताअनुसार छठ पर्वको सम्बन्ध महाभारतकालसँग पनि जोडिएको छ । महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए । त्यसबेला पाण्डव विराट राजाको दरबारमा बसेको उल्लेख छ । लोककथनअनुसार सोही समयदेखि छठ मनाउने परम्परा सुरु भएको मानिन्छ । त्यस्तै, सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको उल्लेख छ । व्रतको प्रभावले उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको धार्मिक विश्वास छ ।
पुराणमा श्रीकृष्णका पुत्र साम्बले सूर्यदेवको आराधना गरेर कुष्ठरोगबाट मुक्ति पाएको प्रसङ्गसमेत उल्लेख गरिएको छ । यसैले छठ पर्वमा व्रत र सूर्यको उपासनाले दुःख, दरिद्रता तथा रोगव्याधिबाट मुक्ति मिल्ने जनविश्वास रहिआएको छ ।
प्रकृति र सूर्यप्रतिको आस्थाको पर्व
सूर्यलाई पृथ्वीमा जीवन र ऊर्जाको प्रमुख स्रोतका रूपमा लिइन्छ । सूर्यको प्रकाश र तापबिना वनस्पति, जीवजन्तु तथा मानव जीवनको अस्तित्व सम्भव छैन । यही प्राकृतिक महत्वलाई आत्मसात् गर्दै छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई विशेष विधिपूर्वक पूजा गर्ने परम्परा छ ।
यस पर्वमा केरा, उखु, नरिवललगायत फलफूल तथा प्रसादका सामग्री सूर्यदेवलाई चढाइन्छ । झुप्पा लागेका फलफूल चढाउँदा सूर्यदेव प्रसन्न हुने र परिवार तथा सन्तानको कल्याण हुने धार्मिक मान्यता छ । व्रत बस्न नसक्नेहरूले समेत अरू व्रतालुमार्फत आफ्नो मनोकामना पूरा हुने कामना गर्ने चलन छ ।
चार दिनसम्म चल्ने व्रतविधि
छठ पर्वको पहिलो दिन कार्तिक शुक्ल चतुर्थीमा बर्तालुले स्नान गरी शुद्ध भएर एक छाक भोजन गर्ने गर्छन् । यस दिनलाई नहाय–खाय भनिन्छ । दोस्रो दिन अर्थात् पञ्चमीमा खरना गरिन्छ । यस दिन सखर वा गुड मिसाएर खीर पकाई षष्ठी मातालाई चढाइन्छ । त्यसपछि बर्तालुले प्रसाद ग्रहण गर्छन् । खरनापछि निराहार व्रत सुरु हुन्छ ।
तेस्रो दिन षष्ठीमा बर्तालुले दिनभर कठोर निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई नदी, पोखरी तथा जलाशय किनारमा उभिएर अर्घ्य अर्पण गर्छन् । यही दिनलाई छठ पर्वको मुख्य दिन मानिन्छ ।
गुह्येश्वरी गौरीघाट छठ पूजा समिति, गुह्येश्वरीका अध्यक्ष अनिल सिंहका अनुसार षष्ठीको रात बर्तालु जाग्राम बस्ने परम्परा छ । चौथो दिन अर्थात् सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व विधिपूर्वक सम्पन्न हुन्छ ।
तराईबाट देशव्यापी बन्यो छठको रौनक
विगतमा तराईका सीमित क्षेत्रमा विशेष रूपमा मनाइने छठ पर्वले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । विशेषगरी २०४६ सालपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा छठ मनाउने क्रम विस्तार भएको हो । यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिने परम्परासमेत सुरु गरेको छ । पछिल्ला वर्षमा छठ पहाडी तथा हिमाली क्षेत्रका विभिन्न समुदायमा पनि लोकप्रिय हुँदै गएको छ ।
काठमाडौंका नदी तथा पोखरीमा विशेष तयारी
छठ पर्वका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न नदी, पोखरी तथा जलाशय किनारमा पूजास्थल सजाइएको छ । राजधानीको गुह्येश्वरीदेखि गौरीघाट क्षेत्र, गहनापोखरी, नागपोखरी र कमलपोखरीमा विशेष सजावट गरिएको छ ।
त्यस्तै, वागमती, नख्खु र विष्णुमती नदी किनारमा समेत छठ पूजाका लागि आवश्यक व्यवस्था मिलाइएको छ । स्थानीयवासी, छठ पूजा समिति तथा विभिन्न संघसंस्थाले पूजास्थलको सरसफाइ, सजावट र व्यवस्थापन गरेका छन् ।
छठ पर्वमा सहभागी हुने बर्तालुले चतुर्थीदेखि नै चोखो र सात्विक भोजन गर्ने गर्छन् । केही बर्तालुले कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी भोजन त्यागेर शुद्ध खानपान सुरु गर्ने परम्परा पनि छ ।आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व सम्पन्न हुनेछ । –रासस





















