images
images
  • छठका लागि गुह्येश्वरी र गौरीघाट दुलहीझैँ सिँगारिए

    काठमाडौं – छठ पर्वको मुख्य दिन अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन राजधानीको गुह्येश्वरी–गौरीघाटस्थित वाग्मती नदी किनारलाई आकर्षक रूपमा सजाइएको छ । छठ पर्वका लागि घाट निर्माण, सजावट तथा पूजाको सम्पूर्ण तयारी पूरा भएको छ ।

    छठ पर्वको मुख्य दिन शनिबार साँझ अस्ताउँदो र आइतबार बिहान उदाउँदो सूर्यलाई पूजा–आराधनासहित अर्घ्य दिइनेछ । यसका लागि राजधानीको प्रमुख छठस्थल गुह्येश्वरी–गौरीघाटलाई दुलहीझैँ सिँगारिएको छ । छठ घाट र छठी माताको मूर्ति सजावटलगायत सबै तयारी पूरा भएको छठ पूजा समिति, गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले जानकारी दिए ।

    उनका अनुसार गुह्येश्वरी–गौरीघाट क्षेत्रमा यस वर्ष ६०० भन्दा बढी छठ घाट निर्माण गरिएको छ । विगतका वर्षको तुलनामा यस वर्ष छठ मनाउन आउने व्रतालुको संख्या पनि बढेको उनले बताए ।

    कार्तिक शुक्ल चतुर्थीका दिन शुक्रबार स्नान गरी चोखो खाना खाएर व्रत बसेका श्रद्धालुले छठ पर्वका विधि पूरा गरिरहेका छन् । छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर र मुसुरोलगायत खानेकुरा त्याग्ने धार्मिक परम्परा छ ।

    मनोकामना पूरा हुने विश्वासका साथ विशेषगरी महिलाले छठमा कठोर व्रत बस्ने गर्छन् । मिथिला संस्कृतिमा आधारित छठ पर्व परम्परागत रूपमा तराई क्षेत्रमा मनाइँदै आए पनि २०४६ सालपछि काठमाडौंलगायत पहाडी क्षेत्रमा पनि यसको विस्तार भएको हो ।

    यसैबीच, पर्साका विभिन्न छठघाट पनि दुलहीझैँ सिँगारिएका छन् । जिल्लाका पोखरी, नदी, सरोवर तथा पौडी पोखरीलाई छठ पूजाका लागि आकर्षक रूपमा सजाइएको छ ।

    वीरगञ्जस्थित घडिअर्वा छठघाटमा भारतको कोलकाताबाट आएका कारीगरले विशेष सजावट गरेका छन् । घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहका अनुसार छठ पर्व व्यवस्थापनका लागि २६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images