images
images
  • उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सम्पन्न

    काठमाडौं – आस्था, श्रद्धा र भक्तिभावका साथ मनाइने सूर्य उपासनाको महापर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सोमबार बिहान सम्पन्न भएको छ । देशका विभिन्न स्थानमा रहेका नदी, पोखरी तथा जलाशयमा निर्माण गरिएका छठघाटमा व्रतालु तथा भक्तजनले उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजा–आराधना गरेका छन् ।

    छठ पर्वको अन्तिम दिन बिहानैदेखि तराईका विभिन्न जिल्लासहित काठमाडौं उपत्यकाका छठघाटमा भक्तजनको उल्लेख्य भीड लागेको थियो । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुले रातभर जाग्राम बसेर सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने पर्व विधिपूर्वक सम्पन्न गरेका हुन् ।

    मोरङको सुन्दरहरैँचाका विभिन्न स्थानमा निर्माण गरिएका छठघाटमा बिहानैदेखि व्रतालु तथा भक्तजनको भीड लागेको थियो । बुढीखोला, गछिया खोला, गोठगाउँको मध्याली खोला, सलकपुरस्थित भुल्के जलाधार, विराटचोकस्थित कालीखोला तथा किस्ती खोलालगायतका स्थानमा उल्लासपूर्ण वातावरणमा छठ मनाइएको थियो ।

    मकवानपुरमा यस वर्ष ६५ हजारभन्दा बढी भक्तजन सहभागी भएर छठ पर्व मनाएका छन् । हेटौँडाको राप्ती नदी किनारमा आयोजित विशेष पूजा समारोहमा ठूलो सङ्ख्यामा व्रतालु सहभागी भएको पूजा प्रबन्ध समिति हेटौँडाका संयोजक रवि गुप्ताले जानकारी दिए ।

    छठलाई लक्षित गरी राप्ती नदी किनारमा सात फिटको पण्डालसहित करिब ६० हजार भक्तजन अटाउन सक्ने क्षमताको पूजास्थल तथा अन्य संरचना निर्माण गरिएको थियो । तर, भक्तजनको सहभागिता अपेक्षाभन्दा बढी भएपछि पूजास्थल खचाखच भरिएको थियो ।

    भक्तपुरमा कमलपोखरीदेखि गोदावरी खोलासम्मका छठघाटमा रातभर जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको थियो । बालकोटस्थित गोदावरी खोला छठ व्यवस्थापन समितिका व्यवस्थापक दशरथ ठाकुरका अनुसार आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर भजनकीर्तन गर्दै जाग्राम बसेका व्रतालुले सोमबार बिहान सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गरेका हुन् ।

    कपिलवस्तुमा जिल्ला सदरमुकाम तौलिहवा, कृष्णनगर, पकडी, लबनीलगायत जिल्लाका ७९ स्थानमा छठ पर्व मनाइएको छ । मैथिली, अवधी तथा पहाडी समुदायका महिला तथा पुरुषले नदी, पोखरी र जलाशय किनारमा छठघाट निर्माण गरी पूजा गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष तौलिहवालगायतका क्षेत्रमा छठ मनाउनेको सङ्ख्या उल्लेख्य वृद्धि भएको जनाइएको छ ।

    जमुवार, रामघाट, कृष्णनगर, बहादुरगञ्ज, पकडी र लबनीलगायतका नदी तटीय क्षेत्रमा भक्तजनको भीड लागेको थियो । व्रतालु तथा परिवारका सदस्य रातभर जाग्राम बसेर भजनकीर्तनमा सहभागी भएका थिए ।

    सप्तरीमा पनि चारदिने छठ पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा सम्पन्न गरिएको छ । व्रतालुले पोखरी, तलाउ, नदी तथा जलाशयमा स्नान गरी दियो बालेर सूर्य उदाउने प्रतीक्षा गरेका थिए । सूर्य उदाएपछि पूजाका सामग्री अर्पण गर्दै परिवारका सदस्य तथा आफन्तले दूधसहित अर्घ्य दिएका थिए ।

    यसैबीच, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वीरगञ्जका विभिन्न छठघाटमा पुगेर पूजाआजा गरेका छन् । छठ पर्वका अवसरमा वीरगञ्ज पुगेका थापाले सोमबार बिहान पत्नी अञ्जना केसीसहित वीरगञ्ज–१० स्थित छठघाटमा पुगेर पूजा, दर्शन तथा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए । उनले नगवा प्रहरी चौकीनजिकको छठघाट र उपकैयाँ छठघाटमा समेत पुगेर छठीमाईको दर्शन गर्नुका साथै भक्तजनसँग शुभकामना आदानप्रदान गरेका थिए ।

    महोत्तरीमा पनि यस वर्ष छठ पर्वको रौनक बजारदेखि गाउँबस्तीका घरआँगनसम्म फैलिएको थियो । बर्दिबास बजार क्षेत्रमा मात्रै सीमित नभई हाथीलेट, बिजलपुरा, मेघरोल, प्रेमनगर, पशुपतिनगर, किसाननगर र मनहरिपुरलगायतका बस्तीमा घरआँगनमै छठघाट बनाएर पर्व मनाइएको थियो । गौशाला र भङ्गाहा नगरपालिकाका विभिन्न बस्तीमा समेत घरआँगनमै छठघाट निर्माण गरी भक्तजनले पूजा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images