काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग संवादका लागि गरेको प्रयास असफल भएको छ ।
ट्रम्पले फोनमार्फत सम्पर्क गर्न खोज्दा किमले कुनै प्रतिक्रिया नदिएको र पठाएको पत्रसमेत नखोली फिर्ता गरिदिएको द वाल स्ट्रिट जर्नलले जनाएको छ ।
रिपोर्टअनुसार ट्रम्पले दक्षिण कोरियाली कूटनीतिज्ञ र संयुक्त राष्ट्रसंघस्थित उत्तर कोरियाली नियोगमार्फत पत्र पठाउने प्रयास गरेका थिए ।
तर, उत्तर कोरियाली पक्षले पत्र स्वीकार नगरी अमेरिकी प्रतिनिधिलाई नै फर्काएको थियो ।
चीन भ्रमणका क्रममा किमसँग भेटवार्ता गर्ने ट्रम्पको अपेक्षा पनि पूरा हुन सकेन ।
उत्तर कोरियाले वार्ताका लागि राखेका सर्त अमेरिकाले स्वीकार गर्न तयार नभएपछि भेटवार्ताको सम्भावना टरेको हो ।
ट्रम्प प्रशासनले कोरियाली युद्ध औपचारिक रूपमा अन्त्य गर्ने, उत्तर कोरियाको परमाणु कार्यक्रम तत्काल पूर्ण रूपमा रोक्नुपर्ने अडान नराख्ने र त्यसको बदलामा परमाणु तथा क्षेप्यास्त्र परीक्षण रोक्न आग्रह गर्ने प्रस्तावमाथि समेत विचार गरेको थियो ।
सन् २०१८ मा सिंगापुरमा ट्रम्प र किमबीच ऐतिहासिक भेटवार्ता भएको थियो ।
तर, त्यसपछि दुई देशबीचको सम्बन्धमा अपेक्षित सुधार आउन सकेको छैन ।
सन् १९९४ देखि अमेरिकाले उत्तर कोरियालाई परमाणु कार्यक्रम त्याग्न मनाउने प्रयास गर्दै आए पनि ती प्रयास सफल भएका छैनन् ।
अमेरिकासामु अहिले परमाणु शक्ति विस्तार गरिसकेको उत्तर कोरियालाई आफ्नो सर्तमा वार्तामा ल्याउने चुनौती देखिएको छ ।






















