काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पहिलो द्विपक्षीय विदेश भ्रमण भारतसँगको सम्बन्धलाई नयाँ सुरुवात दिने अवसर हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तामा चीनको लगानी, ऊर्जा, व्यापार र पारवहन सम्पर्कजस्ता विषयले महत्त्व पाउनेछन् ।
भारत नेपालको विकास यात्रामा साझेदार बन्न सक्छ ।
अप्रत्याशित राजनीतिक घटनाक्रमपछि शाह नेपालको प्रधानमन्त्री बनेका हुन् ।
उनी परम्परागत राजनीतिबाट आएका नेता होइनन् ।
उनका केही प्रारम्भिक निर्णय पनि स्थापित राजनीतिक परम्पराभन्दा फरक रहे ।
विदेशी कूटनीतिज्ञ र वरिष्ठ अधिकारीहरूसँग भेटघाटका लागि राखिएका सर्तदेखि सीमा विवादसम्बन्धी उनका अभिव्यक्तिसम्मलाई उनको राजनीतिक अनुभवहीनतासँग जोडेर हेरिएको थियो ।
यसको प्रभाव भारतसँगको सम्बन्धमा समेत परेको छ ।
अहिले उनको भारत भ्रमण दुई देशबीचको सम्बन्धलाई पुनः नयाँ ढंगले अघि बढाउने अवसर बनेको छ ।
पहिलो विदेश भ्रमणमा भारत
शाह पहिलोपटक द्विपक्षीय विदेश भ्रमणमा निस्किएका छन् ।
आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको पहिलो द्विपक्षीय वार्ता हुँदैछ ।
यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानो अघोषित परम्परा तोड्दै आफ्नो पहिलो औपचारिक विदेश भ्रमण चीनबाट सुरु गरेका थिए ।
यस दृष्टिले बालेनको भारत भ्रमण थप महत्त्वपूर्ण देखिन्छ ।
यद्यपि, यसको अर्थ नेपाल र चीनबीचको सम्बन्धमा कुनै परिवर्तन आउन लागेको भन्ने होइन ।
वार्ताका प्रमुख विषय
पछिल्ला वर्षहरूमा नेपालमा विदेशी लगानीको सबैभन्दा ठूलो स्रोत चीन रहँदै आएको छ ।
चीनले जलविद्युत् आयोजना, ऊर्जा तथा पूर्वाधार र सम्पर्क सञ्जालका क्षेत्रमा लगानी गरेको छ ।
उसले आफ्नो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लाईसमेत विस्तार गर्ने प्रयास गरिरहेको छ ।
यी सबै विषयसँग भारतको हित पनि जोडिएको छ ।
त्यसैले भारतीय प्रधानमन्त्री मोदी र उनका नेपाली समकक्षी शाहबीचको वार्तामा यी विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।
नयाँ नेपालको अपेक्षा
बालेन्द्र शाह परिवर्तनको अपेक्षा राखिरहेको नयाँ नेपालको प्रतिनिधित्व गर्छन् ।
नेपालको चाहना र अपेक्षा अहिले फेरिएका छन् ।
क्षेत्रीय महाशक्तिबीचको प्रतिस्पर्धामा कुनै एक पक्षको समर्थनमा उभिनुभन्दा आफ्नो राष्ट्रिय हित र विकासलाई प्राथमिकता दिन नेपाल चाहन्छ ।
नेपाललाई विकासका लागि लगानी, रोजगारी र गुणस्तरीय पूर्वाधारको आवश्यकता छ ।
यी क्षेत्रमा भारतले सहयोग गर्न सक्छ ।
अर्कोतर्फ, स्थिर र समृद्ध नेपाल हुनु भारतको पनि हितमा छ ।
नेपालका जलविद्युत् आयोजनामा लगानी गर्नु र उत्पादित विद्युत् खरिद गर्नु दुवै देशका लागि लाभदायक हुन सक्छ ।
यसबाट नेपालको अर्थतन्त्रलाई बलियो बनाउन मद्दत पुग्नेछ भने भारतको ऊर्जा आवश्यकता पूरा गर्न पनि सहयोग पुग्नेछ ।
भारत–नेपाल सम्बन्धलाई नयाँ सुरुवातको खाँचो
दुवै देशबीच व्यापार र सम्पर्क सञ्जाल विस्तार गर्न आवश्यक छ ।
नागरिकको आवतजावतलाई सहज बनाउनुपर्छ ।
यसका साथै सहकार्यका नयाँ क्षेत्रसमेत पहिचान गर्नुपर्छ ।
दुई देशबीचका पुराना सांस्कृतिक सम्बन्ध यसका लागि सहयोगी बन्न सक्छन् ।
तर अब केवल सांस्कृतिक सम्बन्धकै आधारमा द्विपक्षीय सम्बन्धलाई अघि बढाउन सकिँदैन ।
पुराना विवादको भारी बोकेर बस्नुभन्दा तिनलाई समाधान गर्दै अगाडि बढ्नु आवश्यक छ ।
सीमा विवाद र बाढीजन्य समस्याजस्ता विषयमा दुवै देशले मिलेर काम गर्नुपर्छ ।
आपसी विश्वास, समानता र साझा हितलाई केन्द्रमा राखेर सहकार्य अघि बढाउन सके यस भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ अध्यायको सुरुवात गर्न सक्छ । –नवभारत टाइम्सबाट






















