काठमाडौं– उत्तर अफ्रिकी देश लिबियाको पूर्वी क्षेत्रमा रहेको सरकारका अनुसार रुसी पानीजहाजमाथि समुद्री ड्रोनबाट आक्रमण भएको आशङ्का गरिएको छ। आक्रमणका कारण जहाजमा विस्फोट हुनुका साथै केही समय आगलागी भएको थियो ।
स्थानीय स्रोतहरूले आइतबार राति अबेर अलजजिरालाई बताएअनुसार बिहानै भएको उक्त आक्रमणमा लिबियाली र रुसी नागरिक गरी अज्ञात सङ्ख्यामा मानिसको मृत्यु भएको छ। उक्त जहाज नौ सैनिक अखडानजिकै रहेको बेङ्गाजीको नागरिक बन्दरगाहभित्र रोकिएको थियो ।
स्रोतहरूका अनुसार जहाजमा हतियार, गोला बारुद र ड्रोनहरू राखिएका थिए । स्थानीय बासिन्दालाई उद्धृत गर्दै स्रोतहरूले तीन वटा ड्रोनले जहाजमाथि आक्रमण गरेको बताएका छन् ।
स्याटेलाइट तस्बिर उपलब्ध गराउने संस्था भ्यान्टोरका अनुसार तस्बिरमा देखिएको जहाज रुसी नौसेनाको ‘मक्र्युरी’ नामक कार्वेट अर्थात् सानो युद्ध पोत हो ।
आइतबार खिचिएका स्याटेलाइट तस्बिरमा जहाजको अधिकांश भाग पल्टिएर डुबेको देखिएको छ । जहाजको अगाडिको भाग मात्र पानीमाथि देखिन्थ्यो। जहाजको माथिल्लो संरचनाको एक भागबाट धुवाँ निस्किरहेको तथा घाट क्षेत्रमा ठुलो मात्रामा भग्नावशेष छरिएको पनि देखिएको थियो ।
बेङ्गाजीस्थित प्रशासनले यसअघि रुस र लिबियाको पूर्वी सरकार बिच भएको सहकार्य सम्झौताअन्तर्गत इन्धन भर्न र आवश्यक सामग्री लिन उक्त जहाज बन्दरगाहमा आएको जनाएको थियो ।
आइतबार राति एसोसिएटेड प्रेस समाचार संस्थाले नाम नखुलाइएका स्रोतलाई उद्धृत गर्दै पश्चिमी लिबियामा युक्रेनी सेनाले सञ्चालन गरेको एउटा सैन्य अखडाबाट रुसी जहाजलाई लक्षित गरी कैयौँ युक्रेनी समुद्री ड्रोन प्रक्षेपण गरिएको जनाएको छ ।
आइतबार साँझ बेङ्गाजी बन्दरगाहबाहिर माल्टाको झन्डा बोकेको एउटा व्यावसायिक जहाजमाथि पनि छुट्टै समुद्री ड्रोन आक्रमण भएको थियो ।
बेङ्गाजीस्थित प्रशासनको स्वास्थ्य मन्त्रालयले साँझ विस्फोटक पदार्थ जडित समुद्री ड्रोनबाट आक्रमणमा परेको व्यापारिक जहाजका घाइते चालक दलका सबै सदस्यलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको जनाएको छ ।
यस घटनाबारे थप विवरण सार्वजनिक गरिएको छैन । अलमसार स्याटेलाइट टेलिभिजन च्यानलका अनुसार भूमध्यसागर तटीय सहर बेङ्गाजीबाहिर नौ सैनिक र हवाई सेनाले कम्तीमा अन्य १२ वटा समुद्री ड्रोन नष्ट गरेका थिए ।
‘अन्तर्राष्ट्रिय द्वन्द्वलाई लिबियामा फैलाउने प्रयास’
बेङ्गाजीस्थित प्रशासनले आक्रमणको अवस्था, यसको स्रोत र यसमा संलग्न पक्ष पत्ता लगाउन रुससँग संयुक्त अनुसन्धान सुरु गरेको जनाएको छ ।
सरकारका अनुसार आगलागी नियन्त्रणमा लिइएको छ र घटनास्थललाई सुरक्षित बनाइएको छ । उसले आशङ्कित आक्रमणको निन्दा गर्दै यसलाई लिबियाको सार्वभौमिकतामाथिको उल्लङ्घन र समुद्री सुरक्षाका लागि खतरा भनेको छ ।
सरकारले भनेको छ, “लिबियाका बन्दरगाह, भूभाग वा क्षेत्रीय जल क्षेत्रलाई प्रतिशोध साँध्ने वा अन्तर्राष्ट्रिय द्वन्द्व निर्यात गर्ने अखडा बन्न हामी अनुमति दिनेछैनौँ ।”
सरकारले लिबिया रुस–युक्रेन युद्धको पक्ष नभएको पनि स्पष्ट पारेको छ ।
सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण स्तरको आक्रमण सुरु गरेयता युक्रेनी सेनाले कृष्ण सागरमा रुसी युद्ध पोत र नौ सैनिक अखडालाई लक्षित गरी पटक–पटक समुद्री ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै आएको छ ।
शनिवार फिनल्यान्डको जल क्षेत्रनजिकै पूर्वी बाल्टिक सागरमा एउटा ड्रोनले रुसी मालवाहक जहाजमाथि आक्रमण गरेको थियो। फिनल्यान्डको सीमा सुरक्षा निकायले उक्त आक्रमण युक्रेनले गरेको जनाएको थियो ।
यसअघि मार्चमा लिबियाको तटबाट केही पर रुसी तरल प्राकृतिक ग्यास (एलएनजी) बोकेको एउटा जहाज आक्रमणपछि डुबेको थियो। रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले त्यस आक्रमणको दोष युक्रेनलाई लगाएका थिए। गत डिसेम्बरमा युक्रेनले भूमध्य सागरमा रुससँग सम्बन्धित एउटा तेल ट्याङ्करमाथि हवाई ड्रोनबाट आक्रमण गरेको जनाएको थियो ।
मध्यपूर्वको सुरक्षा तथा रक्षा मामिलाका विज्ञ तल्हा अब्दुलरज्जाकले अलजजिरासँग कुरा गर्दै लिबियाको बन्दरगाहमा भएको आक्रमणमा युक्रेनी गुप्तचर निकायको संलग्नता रहेको सम्भावना सबैभन्दा बढी देखिएको बताए ।
“गत वर्षको अन्त्यतिर युक्रेनी गुप्तचर निकाय र त्रिपोली सरकार बिच सम्झौता भएको विषयमा धेरै समाचार आएका थिए । उक्त सम्झौताअनुसार त्यहाँ युक्रेनी सैन्य तथा गुप्तचर उपस्थिति स्थापना गर्ने योजना थियो,” अब्दुलरज्जाकले भने ।
उनका अनुसार त्यसको बदलामा त्रिपोली सरकारले युक्रेनबाट सैन्य विशेषज्ञता प्राप्त गर्ने थियो ।
सन् २०११ मा नेटो समर्थित विद्रोहले लामो समयदेखि सत्तामा रहेका नेता मुअम्मर गद्दाफीलाई सत्ता च्युत गरेयता लिबिया विभाजित अवस्थामा छ। सोही वर्ष गद्दाफीको हत्या भएको थियो ।संयुक्त राष्ट्र सङ्घबाट मान्यता प्राप्त सरकार त्रिपोलीमा छ भने प्रतिस्पर्धी अर्को प्रशासन पूर्वी सहर बेङ्गाजीमा केन्द्रित छ ।
अब्दुलरज्जाकका अनुसार लिबियामा भएको आक्रमण रुस–युक्रेन युद्धको प्रभाव अन्य क्षेत्रमा फैलिएको अर्थात् ‘स्पिलओभर’ घटना हो। यो युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लामो समयदेखि उल्लेख गर्दै आएको ‘रुसविरुद्ध युक्रेनका दीर्घ दूरीका प्रतिबन्ध’ को पछिल्लो उदाहरण पनि हो ।
पूर्वी लिबियास्थित सरकारका प्रधानमन्त्री ओसामा हम्मादले आक्रमणबारे अन्तर्राष्ट्रिय अनुसन्धान गर्न संयुक्त राष्ट्र सङ्घको महासभा र सुरक्षा परिषद्मा औपचारिक अनुरोध पठाइएको बताएका छन् ।
हम्मादले “डुङ्गाहरू पश्चिमी लिबियाबाट प्रक्षेपण गरिएको हुन सक्ने आशङ्काको अनुसन्धान गर्न, देशमा युक्रेनी विशेषज्ञहरूको उपस्थिति छ कि छैन भन्ने पुष्टि गर्न तथा उनीहरूको गतिविधिबारे किभबाट औपचारिक स्पष्टीकरण लिन” माग गरेका छन् ।
तेलको प्रचुर भण्डार भएको लिबिया लामो समयदेखि रुस र पश्चिमा शक्तिबिचको प्रतिस्पर्धाको केन्द्र बन्दै आएको छ ।






















